शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
रातोपाटी साताको कविता

विष्णुविभु घिमिरेका तीन कविता

शनिबार, २९ भदौ २०८१, १८ : ००
शनिबार, २९ भदौ २०८१

१) सम्भवामि युगेयुगे

घरहरू पल्टाउँदै मानवताको
ती जो आफूलाई महाशक्तिको धमास दिइरहेछन् 
मनहरू भत्काएर मान्छेको
ती जो आफूलाई विजयको बादशाह सम्झिरहेछन् 
तिनीहरूले के जितेका छन् ?
आखिर तिनीहरू मात्र केही गर्न सक्दैनन्
एक दिन यस्तो दिन पनि आउनेछ
सैनिकले हातहतियार फ्याँक्नेछन्
फ्याँक्नुअघि उनीहरूले तिमीहरूलाई नै मार्ने छन् 
सैनिकहरू बारुदगोला होइनन्
सैनिकहरू ती लडाकु विमान र हेलिकोप्टर होइनन् 
मलाई विश्वास भन्छ
सैनिकहरू सबै मान्छे हुन्
कसरी फ्याँक्न सक्लान्
बारुदगोला आफ्नै गाउँघरमा 
उनीहरू, सैनिकहरू 
तिनीहरूको पनि गाउँ छ 
तिनीहरूको पनि देश छ 
तिनीहरूसँग पनि हृदय छ
के उनीहरूका हातहरू काम्दैनन् 
कसरी फ्याँक्न सक्लान् बारुदगोला
त्यहाँ उनकी रोगी आमा बिछ्यौनामा परेकी छिन् 
त्यहाँ उनका आँखा नदेख्ने वृद्ध बाबु छन् 
कसरी प्रहार गर्लान् बन्दुक र सङ्गीनहरू 
त्यहाँ तिनकै भोका नानीहरू सुरक्षा माग्दै छन् 
मान्छे कदापि त्यति कठोर हुन सक्तैन 
ऊसँग कमजोर मुटु पनि छ !

चलाउन सक्तैनन् मेसिनगनहरू जुलुसमा 
त्यहाँ उनकै भाइ र छोराहरू छन्
त्यहाँ उनकै काका, मामा र आफन्तहरू छन् 
घरहरू पल्टाउँदै मानवताको
ती जो आफूलाई महाशक्तिको धमास दिइरहेछन् 
मनहरू भत्काएर मान्छेको
ती जो आफूलाई विजयको बादशाह सम्झिरहेछन् 
तिनीहरूले केही जित्दैनन्
ईश्वरको सृष्टि हो
कुमान्छे नाथुले पल्टाउन सक्दैन मानवताका घरहरू
भत्काएर भत्काउन सक्दैनन्
मारिच र सुबाहुहरूले मान्छेका मनहरू 
राम हरेक युगमा जन्मेका छन् । 
एक दिन यस्तो दिन पनि आउनेछ 
सैनिकहरूले आफ्नो घर जोगाउनेछन् 
सैनिकहरूले आफ्नो देश जोगाउनेछन् 
मलाई पूर्णविश्वासले साहस दिइरहेछ 
एक दिन सैनिकहरू उज्यालोतिर आउनेछन्
एक दिन सैनिकहरूले आफूलाई मान्छे बनाइछाड्नेछन् ।
००

२) श्राप परे देवता पनि ढुङ्गा हुन्छ

म देखिरहेछु 
समय यतिखेर
परेवा र बाजको बिचमा उभिएको छ 
म हेरिरहेछु
मेरो घडी यतिखेर
ब्वाँसो र गाईको बिचमा झुन्डिएको छ
दिन खुम्चँदै क्रमशः
साँझतिर लम्कँदै गएजस्तो
साँझ टुक्रँदै क्रमशः
बिहान उठ्न लागेजस्तो
दोधारको बिच संघारमा उभिएर 
म टड्कारो देखिरहेछु 
क्षण प्रतिक्षण मनहरू 
ढुङ्गामा परिणत भइरहेछन् 
क्षण प्रतिक्षण मुटुहरू
फलाममा अनुवाद भइरहेछन् 
हिजोआज फूलहरू पनि 
कठोर हुँदै गएका छन् 
काँडैकाँडामा फुल्न पनि
एकदम तम्तयार भएर बसेका छन् ।

अहिले माटो र मुटु
समान भएर उठेका छन्
अहिले आकाश र मन
समान उचाइमा ब्युँझेका छन्
वर्तमान
सबै रङहरू हराएर
सम्पूर्णता एउटै विश्वासको क्यानभासमा 
कोलाज भएर उभिएका छन् ।

शकुनि घडीहरूमा
केहीबेर मात्र समय अलमल्याउन सकिन्छ 
अर्जुन गाण्डीव झुकाउन सकिँदैन 
भीमसेन गदा लुकाउन सकिँदैन 
समय कृष्ण बनेर आउँछ भने 
सत्यलाई घ्याम्पामा हालेर 
कतिन्जेल बाँच्न सकिएला !

अँध्यारो त्यतिन्जेल मात्र हुन्छ 
जबसम्म उज्यालो छोप्न सकिन्छ 
आस्थाकै कुरा त हो
ठाउँमा बसे ढुङ्गा पनि देवता हुन्छ 
श्राप परे देवता पनि ढुङ्गा हुन्छ 
समय कोपिला थियो
अब फक्रन तयार छ 
मान्छे हौ भने
तिमीले फूल मन पराउनुपर्छ
विवेक छ भने तिमीसँग
समय अब फक्रन पाउनुपर्छ ।

बन्दुकले मात्र शरीर मार्न सकिएला
विचार मार्न सकिँदैन
बारुदले मात्र शरीर खरानी बनाउन सकिएला
तर, के गर्ने ?
चेतना
डढेलोपछि खरबारी भएर मौलाउँछ भने
हरेक खरको जराको
अमरता उखेलेर फ्याँक्न सकिएला ?

रामायण समय रोकिराख्नेहरूकै कथा हो 
महाभारत समय रोकिराख्नेहरूकै व्यथा हो 
मान्छेको इच्छा त इन्द्रेनी हो
त्यो धरतीबाट उठेर
आकाश नछोई के रहन सक्छ ।
अहिले
परे आमाहरू पनि काख रित्याउन तयार छन् 
परे बैँसालुहरू पनि सिन्दुर पुछ्न तम्तयार छन् 
परे बाबुहरू पनि
आफ्ना सन्तान बिर्सन राजी छन् 
यो के भइरहेछ
साधारण हावामा पनि
भयङ्कर आँधीको गन्ध आइरहेछ
अहिले यतिखेर
एक झिल्को आगोमा पनि
प्रलयकारी डढेलाको सङ्केत सलबलाइरहेछ ।
००

३) यो वसन्त ऋतु हो

अनुहारमा
खुसीका मुनाहरू कतै पलाएका छैनन्
मनमा
इच्छाका फूलहरू कतै फुलेका छैनन्
बाटो–दोबाटो कहीँ निर्ढुक्क यात्रा चलेको छैन 
कसैको ओठमा पनि स्निग्ध मुस्कान सलबलाएको छैन 
कसैको आँखामा पनि उज्यालो विश्वास चम्केको छैन 
तिमी भन्छौ यो वसन्त ऋतु हो

पहाड उदास छ 
हिमाल झोँक्राइरहेछ
तराई शून्यशून्य छ 
कतै उमङ्गको रङ छैन 
कतै उत्साहको तरङ्ग छैन 
कतै आनन्दको सङ्गीत बज्दैन 
तिमी भन्छौ यो वसन्त ऋतु हो

फ्याउरा र स्यालहरू कराइरहेछन् 
कुकुरहरू एउटा हाडमा झगडा गरिरहेछन् 
मुसाहरू भित्रभित्रै राष्ट्रियता काटिरहेछन् 
बाजहरू झम्टीझम्टी संस्कृति ठुँगिरहेछन् 
जहाँ सपनामा कुनै खुसीको इन्द्रेनी छैन 
जहाँ विपनामा सुरक्षाको कुनै आकाश छैन 
फेरि पनि तिमी भनिरहेछौ यो वसन्त ऋतु हो

प्रत्येकको अनुहारमा त्रास र गतिमा हडबड छ 
बोली मुक्त छ तर बोली लट्याङ्ग्रो छ
कहाँ जाने ? सोध्नुहोस् कसैलाई पनि थाहा छैन 
भनोस् कसरी, बाटो फेला परेकै छैन
सधैँ शिशिर बाँच्न बाध्य हामीलाई 
तपाईंहरूले धेरै ढाँट्नुभो
अब कसैले पनि नढाँटे हुन्छ महाशय ! 
यो वसन्त ऋतु हो ।
०००
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विष्णुविभु घिमिरे
विष्णुविभु घिमिरे
लेखकबाट थप