बुधबार, ०२ माघ २०८१
ताजा लोकप्रिय
समाचार

सुशासनको सुई बालकाेट र बूढानीलकण्ठतिर सोझिएपछि सरकार ढालियो : प्रचण्ड

‘सरकारमा रहनेहरूको डरले गएको साताे अझै फर्किएको छैन’
शनिबार, २९ भदौ २०८१, १६ : ४९
शनिबार, २९ भदौ २०८१

विराटनगर । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू सरकारमा रहँदा राज्यको नेतृत्वमा बस्नेहरूले गरेको भ्रष्टाचारविरूद्ध कदम चालेको दाबी गरेका छन् । 

मोरङको ग्रामथानस्थित नेताचाेकमा आयोजित पार्टी प्रवेश तथा बृहत् जनसभामा बोल्दै उनले आफ्नो नेतृत्वमा भएको सरकारले सुशासनको पक्षमा, भ्रष्टाचारको विरुद्ध, सामाजिक न्यायको क्षेत्रमा र आर्थिक समस्या समाधान गर्ने जमर्को गरेको बताएका हुन् ।

यस्तै मुलुकमा आर्थिक क्रान्ति गर्न भारतमा १० हजार मेगावट बिजुली बेच्ने सहमति गरेको, पञ्चेश्वर परियोजना अगाडि बढाउन पहल गरेको, चीन भ्रमणको क्रममा बीआरआई परियोजना ल्याउने लगायतका सम्झौता गरेको उनले जानकारी दिए ।

उनले इटाली र राष्ट्र संघकाे महासभामा गरेको सम्बोधनको विश्वमा चर्चा भएको दाबी गर्दै जसले नेपालको छविमा सुधार आएको उनको दाबी थियो ।

prachanda

नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेपछि सुशासनको सुई बालकाेट र बूढानीलकण्ठतिर सोझिएपछि सरकार ढालिएकाे उनले आरोप लगाए । तर, आफू सरकारबाट निस्कँदा पनि विजेताको भावमा जनतामा आएको बताउँदै सरकारमा रहनेहरूको भने डरले गएको साताे अझै नफर्किएको दाबी गरे । अहिलेको सरकार बन्ने गठबन्धनलाई उनले तथाकथित गठबन्धन भएको आरोप लगाए ।

पर्यटन व्यवसायीको निर्वाचनमा नेपाली काङ्ग्रेस र एमालेको गठबन्धनलाई माओवादी एक्लैले चुनाव जितेर इतिहास रचेको भन्दै प्रचण्डले ग्रामथान गाउँपालिकाको हुन लागेको उप निर्वाचनमा पनि काङ्ग्रेस-एमाले मिले पनि माओवादीले जित्नु पर्ने बताए ।

उनले जनताको अपार समर्थन बढ्दै गएको भन्दै ८४ को निर्वाचनमा माओवादीलाई ६४ सालको अवस्थामा पुर्‍याउने दाबी गरे । भूमाफिया, भ्रष्टाचार, मिटरब्याजीहरूकाे विरुद्धमा काम गरेकै कारण माओवादी ठुलो पार्टी बन्नै पर्ने उनले बताए । 

अहिलेको सरकार भ्रष्टाचारको भयबाट बनेको र छुट्टयाइएको बजेट पनि दुरुपयोग हुनसक्ने बताए । दुई तिहाइको सरकार छ भनेर दम्भ देखाए भने बंगलादेश हेर्दा हुन्छ भनेर भनेको भन्दै उनले शतप्रतिशत मत ल्याएको सद्दाम हुसेनकाे उदाहरण हेर्न सुझाव दिए ।

458485093_7615450488554531_8088720998259461148_n

एमालेले आफूले भनेको कुरालाई बङ्ग्याएर भ्रम फिँजाउन खोजेको भन्दै सरकारले, जनताको र राष्ट्रको विरुद्ध भ्रष्टाचार मात्रै गरिरहे जनताले देखाउने र आफ्नो पार्टी पनि जनतामै जाने बताए । सरकारले कुलमान घिसिङलाई हटाउन खोजे उनीहरूले ठुलो मूल्य चुकाउने बताउँदै त्यसो नगर्न आफूले सुझाव दिएको बताए ।

माओवादीले लडेर आएको व्यवस्थामा बसेर माओवादीलाई नै हेला होचो गर्न कोसिस गरे फेरि आन्दोलन उठ्ने उनले चेतावनी दिए । `उनीहरूले सत्य र न्यायको गला रेट्ने प्रयास गरे भने दलाल र भ्रष्टहरूको विरुद्ध उठ्नु पर्ने हुनसक्छ´, उनले भने । 

उनले जीवनको उत्तरार्ध भए पनि जोस आएको उनले बताए । `भ्रष्टाचारविरूद्द सुशासनको पक्षमा लड्ने जोस आएको छ । मरेपछि पनि बाँचिरहने बन्ने मेरो प्रयास छ,´ उनले भने ।

कार्यक्रममा पूर्वमन्त्री तथा संघीय सांसद अमनलाल माेदीले भ्रष्टाचार काण्ड जोगाउनै अहिलेको सरकार बनेको बताए । प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारका काण्डमा धमाधम कारबाही गर्न थालेपछि काङ्ग्रेस र एमाले अत्तालिएर सरकार परिवर्तन गरेको बताए । उनले ग्रामथानमा हुन लागेको उपनिर्वाचनमा माओवादीलाई जिताउन आग्रह पनि गरे । 

कार्यक्रममा विभिन्न पार्टी छाडेर नेपाली काङ्ग्रेसका नेता नमाेनारायण चाैधरीकाे नेतृत्वमा सर्वसाधारणहरु माओवादीमा प्रवेश गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप