आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
कविता-विमर्श

कविताको शक्ति र सौन्दर्य

आजसम्म कसरी जीवित छ कविता ?
शनिबार, २९ भदौ २०८१, १६ : ३०
शनिबार, २९ भदौ २०८१

प्राचीन समयदेखि नै कविताको शक्तिका बारेमा चर्चा हुँदै आएको छ । पूर्व र पश्चिम दुवैतिर यस विषयमा चर्चा भएका छन् । आज पनि यसका बारेमा चर्चा हुन्छ । आधुनिक युगमा कविताको शक्तिका बारेमा प्रश्नहरू उठे । प्रश्नहरू वर्तमानमा पनि उठ्दै छन् । कवितालाई लिएर निराशा पनि व्यक्त गरिँदै छ । तर कविता जीवित छ र यसका बारेमा चर्चाहरू हुँदै छन् ।

कविता आफ्नो शक्तिका कारण नै कैयाँै प्रहार र प्रतिकूलताका अतिरिक्त मनुष्यका माझमा छ र उसले यसलाई गुनगुनाइरहेछ । समकालीन वैश्विक पर्यावरण कविताका निम्ति त्यति उपयुक्त छैन । प्रविधिको उच्च विकास, कलाको बजारीकरण, लोकप्रिय कलाका विविध रूप र उपभोक्तावादका कारण कविता मात्रै होइन, साहित्यका सबै रूपहरू कमबेसी प्रभावित छन् । कला सौन्दर्यको स्रोत होइन, मनोरञ्जनको माध्यममा बदलिएको छ । सौन्दर्य र मनोरञ्जन एकै होइनन्, तर आजको ‘संस्कृति उद्योग’ले यी दुवैलाई एउटै बनाइदिएको छ । 

कविता नै सर्वप्राचीन विधा किन बन्यो ? मनुष्यले जीवन र जगतको अभिव्यक्तिका निम्ति कविता नै किन रोज्यो ? प्राचीन समयमा भिन्नभिन्न शास्त्र समेत कवितामै किन लेखिए र पढिए ? मनुष्यले कविताकै बढी महिमागान किन गर्‍यो ? आदि प्रश्नहरू कविताको शक्तिसँग जोडिएका छन् । कवितामा शक्ति हुँदैनथ्यो भने यी प्रश्न उठ्दैनथे । कविताले जीवन र जगतको पुनः सिर्जना आफ्नो विशिष्ट संरचनामा अत्यन्त सजीव रूपले गर्दै आएको छ । कविताले पार्ने प्रभावको आधार यही हो । प्रभाव कविताको शक्तिको आधार हो । कविताको सौन्दर्यको स्रोत पनि यही हो ।


कविता मनुष्यको इतिहास हो; उसको हृदयको तस्बिर, उसका स्वप्न र सङ्घर्षहरूको गाथा हो । कविता पढेर, सुनेर र गाएर मनुष्यले सौन्दर्यानुभूति मात्र गरेको छैन, आफ्नो पुनर्रचना पनि गरेको छ ।


जीवन र जगतको पुनः सिर्जना, प्रकृति, जीवन र सामाजिक यथार्थसँगको सङ्घर्ष, तीबाट प्राप्त अनुभवहरूको विपुल संसार, उदात्त कल्पना र स्वप्नहरू, नयाँ रचनाको उद्दाम आवेग र सत्यम्, शिवम् र सुन्दरम्को प्राप्तिमै कविताले सार्थकता ग्रहण गर्छ । कविता आफूलाई नियाल्नु र पाउनुको अर्को नाम हो । कविता एक विशिष्ट दर्पण, एक विष्मयकारी गतिशीलता र कहिल्यै नसकिने ऊर्जाको स्रोत हो । यसैले मनुष्यले आफूलाई कवितामा व्यक्त गर्‍यो, गायो र मन्त्रमुग्ध बन्यो । कवितामा आफूलाई हेर्‍यो, साँच्यो, बाँच्यो र अघिल्तिर प्र्रस्थान गर्‍यो । कविताका सुन्दर पंक्तिहरू गाउँदै जीवनका विकट उकालाहरू चढ्यो र उज्यालोका निम्ति सङ्घर्ष गर्‍यो ।

कविता मनुष्यको हृदयबाट प्रस्फुटित सामूहिक उदात्त आवेग थियो । हृदयको आवाजले कवितालाई अमर मात्रै बनाएन, मनुष्यलाई सबैभन्दा बढी झङ्कृत र उद्वेलित पनि गर्‍यो । कविता मनुष्यको इतिहास हो; उसको हृदयको तस्बिर, उसका स्वप्न र सङ्घर्षहरूको गाथा हो । कविता पढेर, सुनेर र गाएर मनुष्यले सौन्दर्यानुभूति मात्र गरेको छैन, आफ्नो पुनर्रचना पनि गरेको छ । इमर्सनका शब्दमा सत्यका निम्ति व्यथित मनुष्यका निम्ति कविता प्रिय रह्यो र कवितामा सत्यको प्रकटीकरण निम्ति सधैँ व्याकुल बन्यो । कविताका माध्यमबाट मनुष्यले मनुष्यत्वका निम्ति सङ्घर्ष गर्दै आएको छ । सत्य त्यसको एउटा महत्त्वपूर्ण अंशका रूपमा रहेको छ । 

विख्यात कवि अक्टोभियो पाजले आफू बाँचेको समयसँग एउटा मार्मिक प्रश्न गरेका थिए— कविता कसले पढ्छ ? यस्तै अनुभव बिसौँ शताब्दीको तेस्रो दशकतिर ‘विभ्रम र यथार्थ’ लेख्दै गर्दा प्र्रसिद्ध काव्य चिन्तक क्रिस्टोफर कडवेललाई भएको थियो । उनले आफ्नो पुस्तकमा धेरै मानिसले कविता नै पढ्दैनन्, पढ्ने इच्छा नै देखाउँदैनन् र आवश्यकता नै सम्झदैनन् भनेर टिप्पणी गरेका छन् । 

एफ.आर. लेविसले आधुनिक संसारका निम्ति कविताको खासै महत्त्व छैन भनेर कविताप्रति मनुष्यको घट्दै गएको रुचिप्रति सङ्केत गरेका थिए । मरिना स्वेताएभाले सन् १९३१ तिर यस शताब्दीले एउटा कारका निम्ति दशवटा पुस्किन दिन सक्छ भन्दै मनुष्यमा विकसित वस्तुलिप्सा र कविताप्रति घट्दो रुचिलाई लिएर गहिरो क्षोभ व्यक्त गरेकी थिइन् । एडर्नो र बौद्रिलार्डमा पनि कवितालाई लिएर गहिरो निराशा पाइन्छ । कविता मात्रै होइन, साहित्यका अन्य विधाका बारेमा पनि निराशा व्यक्त गरिएको छ । आफ्ना महान् कृतिहरूलाई लिएर जीवनको पुछारतिर लियो टोल्सटोयमा गम्भीर आशङ्का जन्मिएको थियो । आज पनि कवितालाई लिएर निराशा व्यक्त गर्नेहरू छन् । निराशा अकारण व्यक्त गरिएको छैन । 

कविताका बारेमा प्रश्न गर्नेहरूका दृष्टिकोणमा समानता पाइन्न । कडवेल कविताको प्रविधि र त्यसको प्रयोगमा देखिएको जटिलता, अति वैयक्तिकीकरण, यथार्थको विद्रूपीकरण र सत्यको भ्रष्टीकरणका कारण यसो भन्दै थिए । लेविस र स्वेताएभाका अगाडि परिवर्तित परिस्थितिका कारण निर्मित भिन्न पर्यावरण र मनोविज्ञान थियो । पाजका अगाडि कविताप्रति बढ्दो उदासीनता र उपेक्षा थियो । 

कविताका लघु, मझौला र बृहत् रूपहरू छन् । कविताले जे भन्छ, विशिष्ट भाषामा भन्छ । विशिष्ट भाषा भनेको विम्ब र व्यञ्जनाको भाषा हो । कविताको सूत्रात्मक, विम्बात्मक, व्यञ्जनात्मक, आलङ्कारिक र लयात्मक भाषाले मनुष्यको हृदयलाई गहिरो गरी स्पर्श गर्छ ।

एडर्नो र बौद्रिलार्डका अगाडि उत्तरआधुनिक समयबाट निर्मित मानवीय मनोविज्ञान, संस्कृति उद्योग, आभासी दुनियाँ र यथार्थको छलन थियो । यी विचारहरू कतिपयले भन्ने गरेजस्तो पूरै अर्थहीन छैनन् । यिनमा वास्तविकताको अंश छ र त्यसले कवितालाई माया गर्नेहरूलाई गम्भीर र संवेदनशील बनाउँछ । यस यथार्थका बाबजुद पनि कविताप्रति मनुष्यको प्रेम मरेको छैन । कवितालाई कलावादको बुर्जामा कैद गर्ने र स्वान्त सुखाय मात्र ठान्नेहरू अहिले पनि छन् । कविताको वस्तुकरण (कमोडिफिकेसन) बढेको समयमा छौँ हामी । यी सबै हुँदाहुँदै पनि आफ्नो उध्र्वगामी चरित्रसहित कविता बाँचेकै छ र मनुष्यलाई उसका सुखदुःख र स्वप्न सङ्घर्षमा सघाइरहेछ । डब्लु.बी. यट्सले भनेजस्तै कविता अहिले पनि ‘मन्त्र’का रूपमा जीवित छ । 

कवितामा जति मनुष्यको हृदयलाई प्रभाावित गर्ने क्षमता साहित्यका अन्य कुनै विधामा छैन । कुरूपको रक्षार्थ कविताको दुरूपयोग भएको छ तर यो मूलतः अघिल्तिर प्रस्थानका निम्ति मनुष्यले गरेको आन्तरिक र बाह्य सङ्घर्षको कलात्मक दस्ताबेजका रूपमा रहेको छ । कविताबाट प्राप्त हुने सौन्दर्यको स्रोत पनि यही हो । 

कविताको शक्ति यसको रूप र अन्तर्वस्तुसँग सम्बन्धित छ । रूपलाई संरचना पनि भनिन्छ । संरचनामा यससँग सम्बन्धित विभिन्न कुरा पर्छन् । संरचनाका कारण कविता साहित्यका अन्य विधाबाट छुट्टिन्छ । विशिष्ट संरचना यसको महत्त्वपूर्ण विशेषता हो । कविताका सबै रूपहरू संरचनाका दृष्टिले विशिष्ट छन् । 

कविताका लघु, मझौला र बृहत् रूपहरू छन् । कविताले जे भन्छ, विशिष्ट भाषामा भन्छ । विशिष्ट भाषा भनेको विम्ब र व्यञ्जनाको भाषा हो । कविताको सूत्रात्मक, विम्बात्मक, व्यञ्जनात्मक, आलङ्कारिक र लयात्मक भाषाले मनुष्यको हृदयलाई गहिरो गरी स्पर्श गर्छ । कवितामा कसरी भनिन्छ भन्ने कुरालाई मायाकोभस्कीले निकै महत्त्व दिएका छन् । दण्डीले ‘काव्यादर्श’मा शब्दको ज्योतिबाटै दुनियाँ उद्भाषित हुन्छ भनेका छन् । उनले शब्दलाई दिएको महत्त्व भाषालाई दिएको महत्त्व हो । 

सात्र्र भाषालाई स्रष्टाको हतियारका रूपमा लिन्छन् । कविता मात्र होइन, समग्र साहित्य नै भाषिक कला हो । भाषिक कलाको तात्पर्य प्रभावकारी रूपमा अन्तर्वस्तुको अभिव्यक्ति र सम्प्रेषणमा भाषाको महत्त्वपूर्ण भूमिका रहन्छ भन्ने हो । प्रभावकारी भाषाविना प्रभावकारी रूपमा अन्तर्वस्तुको अभिव्यक्ति सम्भव छैन । कवितालाई ‘ओजस्वी’ कथनका रूपमा उल्लेख गरिनुको तात्पर्य पनि यही हो ।

कविता रूप र अन्तर्वस्तुका दृष्टिले अझ समृद्ध हुन आवश्यक छ । नेपाली कविताको शक्ति, सौन्दर्य र लोकप्रियता पनि यसको समाजपरक र सौन्दर्यपरक भूमिकासँग जोडिएको छ ।

भाषाको महत्त्व अर्थको प्रकटीकरणमा हुन्छ । कवितामा भाषाको महत्त्व वस्तुको कलात्मक अभिव्यक्तिका दृष्टिले रहेको छ । कविताको अन्तर्वस्तु कविताको भित्री संसार हो । यसभित्र आन्तरिक र बाह्य यथार्थका विविध पक्षहरू पर्छन् । विषयवस्तुदेखि अनुभूति, संवेदना, उद्देश्य, संस्कार, स्वप्न, कल्पना, विचारधारा आदि सबै यसैभित्र पर्छन् । कवितामा जीवन अनुभव, संवेदना र कल्पनाको सर्वाधिक महत्त्व रहन्छ । कविताले मूलतः मनुष्यमा संवेदनात्मक विवेकको निर्माण गर्ने कार्य गर्छ । ज्ञानात्मक संवेदना र संवेदनात्मक ज्ञान एवं जीवन अनुभवबाटै संवेदनात्मक विवेकको निर्माण हुन्छ । संवेदनात्मक विवेकले नै मनुष्यलाई अँध्यारोसँग सङ्घर्ष गर्ने क्षमता प्रदान गर्छ । अच्युतानन्द मिश्रका शब्दमा विवेक व्यक्तिगत अवधारणा नभएर सामाजिक प्रक्रिया हो । यसले नै कवितालाई मनुष्य र समाजसँग जोड्छ । कविता प्रयोजनमुक्त कहिल्यै रहेन र आज पनि छैन । पूर्व र पश्चिमका सबै काव्य चिन्तकले कविताको प्रयोजनका बारेमा चर्चा गरेका छन् । कविताको प्रयोजन कविताको अन्तर्वस्तुसँग जोडिएको छ । प्रयोजनकै कारण कविता जीवित छ । प्रयोजन हुँदैनथ्यो भने कविता जीवित रहँदैनथ्यो । 

कविताबाट प्राप्त हुने सौन्दर्य मनुष्यको संवेदनाको विस्तारमा यसले निर्वाह गर्ने भूमिका, यसका माध्यमबाट हुने हृदयको परिष्कार, आलोचनात्मक विवेकको निर्माणमा यसले दिने योगदान, स्वप्नको निर्माण र परिवर्तनको भोक जागृत गर्न यसले पुर्‍याउने सहयोग, यसको पठनबाट प्राप्त हुने जीवन दृष्टि र दिशाका साथै जीवनका पीडामा यसले लगाउने मलमसँग सम्बन्धित छ । सौन्दर्य उपयोगितारहित हुन्न । सौन्दर्यको प्रकृति प्रयोजनमूलक रहँदै आएको छ । कान्ट सौन्दर्य प्रयोजनरहित हुन्छ र हुनुपर्छ भन्छन् । उनको अवधारणा प्रत्ययवादी रहेको छ र यसले कलालाई अत्यन्त आत्मनिष्ठ बनाउँछ । कलाका सबै रूपहरू प्रयोजनका कारण नै जीवित छन् । कविता पनि प्रयोजनमूलक रहेकै कारण जीवित छ । 

कविताको शक्ति मनुष्यलाई नयाँ प्रकाश प्र्रदान गर्नु, उसमा सामूहिक आवेग र चरित्र निर्माण गर्नु, उसका रागविराग, आँसुहाँसो, सुखदुःखसँग एकीकृत हुँदै उसलाई अझ राम्रो मनुष्य बन्न योगदान दिनु, उसभित्र समस्त विभेद र उत्पीडनका विरुद्ध सङ्घर्ष गर्ने र एक सुन्दर संसार निर्माण गर्ने भाव एवं दृष्टिको निर्माण गर्नुमा रहेको छ । समाजपरक र सौन्दर्यपरक भूमिकालाई अस्वीकार गरेर लेखिएका कवितालाई छाडिदिने हो भने सबै कविताले आ–आफ्नो ढंगले यही भूमिका निर्वाह गर्दै आएका छन् । छोटोमा भन्ने हो भने कविताको शक्ति जीवनलाई अझ सुन्दर, पूर्ण र परिष्कृत बनाउन यसले निर्वाह गर्ने भूमिकामा रहेको छ । वर्ग, जात, लिङ्ग, रङ, क्षेत्र लगायत सबै प्रकारका विभेदविरुद्ध सङ्घर्ष गर्दै आएका कारण नै कविता अहिलेसम्म बाँचेको छ । जीवनका ओराली–उकालीहरूमा साथ दिने भएकैले कविता हाम्रा निम्ति प्रिय छ । जीवनका कठिन घडीमा मनुष्यले कविता गुनगुनाउँछ र असीम ऊर्जा प्राप्त गर्छ । 

पाल्बो नेरुदाले भनेका छन्— मैले सधैँ त्यसलाई प्यारो कवि मानेको छु, जसले प्रत्येक दिन हाम्रा निम्ति रोटी पकाउँछ । उनको यस कथनले कवितालाई जीवनको यथार्थ र पुनः निर्माण, सामूहिक चेतना, उपयोगिता र श्रमसँग जोड्छ । आइछिङ कविले सत्य बोल्नुपर्छ भन्छन् । हृदयबाट निस्केको सत्यको अभिव्यक्तिले नै उनी कवितालाई शक्तिशाली र लोकप्रिय बनाउँछ भन्छन् । कवितामा विशिष्ट भाषामा अभिव्यञ्जित यथार्थले साधारणीकृत भएर नै मनुष्यलाई गहिरो गरी प्रभावित गर्छ । 

आजका कविताका सामु थोरैभन्दा थोरै शब्दमा उपन्यासमा जसरी विस्तार कसरी दिन सकिन्छ भन्ने चिन्ता रहेको छ भन्ने रबर्ट लाबेलको भनाइ अझ अर्थपूर्ण लाग्छ । कविता रूप र अन्तर्वस्तुका दृष्टिले अझ समृद्ध हुन आवश्यक छ । नेपाली कविताको शक्ति, सौन्दर्य र लोकप्रियता पनि यसको समाजपरक र सौन्दर्यपरक भूमिकासँग जोडिएको छ । कवितालाई शिल्प मात्रै ठान्ने दृष्टिकोणबाट मुक्त हुँदै सुन्दर र शक्तिशाली कवितामा जीवन्त सामञ्जस्य, आवेग, सरलता र अनन्त व्यञ्जनात्मकता, तनाव, लोकमङ्गल, संवेदनाको गहिराइ र अनुभूतिको तीव्रता रहन्छ भन्ने यथार्थलाई बोध गर्न आवश्यक छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. अमर गिरी
डा. अमर गिरी
लेखकबाट थप