बुधबार, ०२ माघ २०८१
ताजा लोकप्रिय

मुलुकलाई गणतान्त्रिक देश रहन नदिने प्रयास भैरहेको छ : प्रधानमन्त्री ओली

शनिबार, २९ भदौ २०८१, १४ : २०
शनिबार, २९ भदौ २०८१

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई गणतान्त्रिक देश रहन नदिने प्रयास भइरहेको बताएका छन् । नेपाललाई गणतान्त्रिक देश रहन नदिने, शान्ति सुव्यवस्था, ल एण्ड अडर कायम रहन नदिने र विकास र समृद्धिको बाटोमा अघि बढन नदिने प्रयासहरु भइरहेको प्रधानमन्त्री ओलीको भनाई थियो । 

नेकपा (एमाले) ले शनिवार काठमाडौँमा आयोजना गरेको स्थानीय तहमा जनसंगठन सुदढीकरण कार्यशाला गोष्ठीमा बोल्दै उनले राजतन्त्रको पक्षमा यसरी मान्छे उफ्रिएको यसअघि आफूले नदेखेको अनुभूति पनि सुनाए । राजतन्त्र हुँदा केही पदधारी पञ्चहरु कराउने गरेको भएपनि अहिले आशाधारीहरुले राजतन्त्रको पक्षमा बोलिरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले उनीहरुले मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउने काममा अवरोध खडा गर्ने प्रयास गरिरहेको बताए ।

उनले कुनै पनि सत्य र तथ्यको बाटोमा नहिँडेकाहरुले मुलुकमा भ्रम छर्ने प्रयास गरिरहेकाले त्यसलाई चिरेर अघि बढ्नुपर्ने कुरामा सरकार सचेत रहेको पनि बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘सामन्ती, निरंकुश, अधिनायकवादी राजतन्त्रको पक्षमा यसरी मान्छे बेसरम उफ्रिएको मैले देखेको थिइन पहिले पहिले । राजतन्त्र नै हुँदाखेरी पनि केही केही पञ्चहरु जम्मा हुन्थे । र कराउँथे । तर त्यो एउटा औपचारिक कराई हृुन्थ्यो । अहिले त्यो भन्दा बढि पदधारी होइन, आशाधारीहरु । अहिले पदधारी कराइरहेका छैनन् । पहिला पञ्चायतका बेला राजतन्त्र हुँदा पदधारीहरु कराउँथे । अहिले पदधारी होइन । वर्तमानमा केही पाएकाहरु होइन कि आशाधारीहरु छन् । तिनीहरु करइराखेका छन् ।’

प्रधानमन्त्री ओलीले थप भने, ‘नेपाललाई एउटा गणतान्त्रिक देश रहन नदिने, नेपालमा शान्ति सुव्यवस्था, ल एण्ड अडर कायम रहन नदिने, नेपाललाई सुशासनको एउटा व्यवस्थित मार्ग समातेको देशको रुपमा अगाडि बढ्न नदिने प्रयासहरु भइरहेका छन् । र, नेपाललाई विकास र समृद्धिको अगाडि बढनै नदिने प्रयासहरु भइरहेका छन् ।’ 

प्रधानमन्त्री ओलीले देशलाई अघि बढ्न नदिनहरुबाट सजग भएर अघि बढ्नुपर्ने अवस्था रहेको पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप