बुधबार, ३० असोज २०८१
ताजा लोकप्रिय
गोलार्द्ध

युवल नोह हरारी अर्थात् खतरनाक लोकप्रियतावादी

‘हामीले हरारीका खतरनाक लोकप्रियतावादी विचारलाई दृढतापूर्वक अस्वीकार गर्नुपर्छ’
शनिबार, २९ भदौ २०८१, १५ : ३०
शनिबार, २९ भदौ २०८१

असाध्यै सफल पुस्तक ‘सेपियन्सः अ ब्रिफ हिस्ट्री अफ ह्युमनकाइन्ड’ का लेखक युवल नोह हरारीका भिडियोहरू हेर्नुस्, तपाईंले त्यहाँ अनौठा प्रश्न सोधिएको पाउनुहुन्छ । उदाहरणका लागि, क्यानेडियन पत्रकार आफ्नो कार्यक्रम ‘द एजेन्डा विथ स्टिभ पाइकिन’ मा हरारीलाई सोध्छन्, ‘तपाईंलाई के लाग्छ, आजको एक सय वर्षपछि पनि मानिस खुसी के गरी हुने भन्नेबारे नै खोजी रहेका हुन्छन् ?

एन्टवेर्प विश्वविद्यालयमा अध्ययनरत छात्र हरारीलाई सोध्छन्, ‘आजका दिन म जे गर्दै छु त्यो सान्दर्भिक नै छ, तर भविष्यमा गर्ने कामको तयारी मैले कसरी गर्ने ?’

‘नेस्नलिजम् भर्सेस ग्लोबलिजम् : द न्यु पोलिटिकल डिभाइड’ शीर्षकको ट्रेड संवादमा सहभागी एक जिज्ञासुले हरारीलाई सोधे, ‘आफ्नो पुस्तक सेपियन्सको अन्त्यमा तपाईंले हामी आफैँले आफैँलाई के खोजिरहेका छौँ भनेर निरन्तर प्रश्न गर्नुपर्छ भन्नुभयो । ठिक छ अब तपाईं नै भन्नुस् हामीले के खोज्नुपर्छ ?’

सन् २०१८ को इन्डिया टुडे कन्क्लेभमा कार्यक्रम प्रस्तोता हरारीसँग सोध्छन्, ‘तपाईं विपश्यना गर्ने व्यक्तिमा पर्नुहुन्छ, के त्यसले तपाईंलाई केन्द्रीय शक्तिसम्म पुग्न सहयोग गर्छ ? के तपाईं त्यस्तो केन्द्रीय शक्तिको नजिक पुग्नुभएको छ ?’

harari

हरारी यी बहसमा लजालु स्वभावका मृदुभाषी देखिन्छन् । यदाकदा उनी सरल स्वभावमा आफूसँग भविष्यवाणीको शक्ति नभएको पनि बताउँछन् । र, लगत्तै प्रश्नहरूको जवाफ यसरी दिन्छन्, मानौँ उनमा त्यो शक्ति निहित छ । 

पाइकिनसँगको प्रश्नोत्तरमा हरारी भन्छन्– अबको एक सय वर्षमा पृथ्वीमा प्रायः सबै मानिस लोप भइसक्नेछन् । चारैतिर जैविक–यान्त्रिक संयोजन भएका ‘साइबोर्ग’ र कृत्रिम बौद्धिकता (एआई) भरिभराउ देखिनेछन् । तिनीहरूमा कस्तो प्रकारको भावनात्मक र मानसिक जीवनभाव हुनेछ, त्यो अनुमान गर्न भने गाह्रो छ ।

विश्वविद्यालयमा विद्यार्थीले सोधेको प्रश्नमा उनी सन् २०४० तिरको श्रम बजार अस्थिर र अन्योलपूर्ण हुने हुँदा आफ्नो सीप तथा ज्ञानलाई विविधीकरण गर्नुपर्ने सुझाव दिन्छन् । टेड संवादको सवालमा उनी घोषणा गर्छन्, ‘हामीले सत्य जान्ने चाहना राख्नुपर्छ ।’ 

इन्डिया टुडेको कन्क्लेभमा उनी प्रश्नलाई सामान्य रूपमा लिँदै निर्भीक भएर भन्छन्, ‘म सत्यलाई झनै प्रस्ट देख्नका लागि विपश्यनाको अभ्यास गर्छु । श्वासप्रश्वासको यथार्थलाई म १० सेकेन्ड पनि अवलोकन गर्न सक्दिनँ भने भूराजनीतिका यथार्थहरूलाई अवलोकन गर्ने आशा कसरी गर्न सकिन्छ ?’

प्रत्येक चर्चित व्यक्तिहरू हरारीको अर्धज्ञानसामु नतमस्तक देखिन्छन् । उनीहरू त्यस्तो मानिससामु आफ्नो शिर निहुराइरहेका छन्, जोसँग प्रश्नकर्ताहरू कसैको विषयगत क्षेत्रको ज्ञान छैन । यो वास्तवमै फट्याइँ हो र अझै विज्ञानका क्षेत्रमा भन्ने हो भने त हरारी ठग नै हो ।

माथिका कुराले तपाईं अझै व्याकुल हुनुभएन भने विचार गर्नुस् त, हरारीलाई सुन्न आउनेहरूको भीडमा को हुन्छन् ? संसारका नामुद, सबैभन्दा शक्तिशाली व्यक्तिहरू । उनीहरू प्राचीन बादशाहको युगमा जस्तै गरी हरारी सामु आफ्ना जिज्ञासा बोकेर आउने गर्छन् ।

प्रविधिले मानवतालाई जोड्दै छ वा तोड्दै छ भन्नेबारे मार्क जुकरबर्ग उनलाई सोध्छन्— अन्तर्राष्ट्रिय मुद्रा कोषका निर्देशकको उनीसँग जिज्ञासा छ– के भविष्यका डाक्टर विश्वव्यापी आधारभूत आयमा भर पर्छन् ? युरोपको सबैभन्दा ठुलो प्रकाशन गृहका प्रमुख कार्यकारी अधिकृत डिजिटल दुनियाँमा प्रकाशकहरूले आफूलाई सफल बनाउन के गर्नुपर्छ ? 

अन्तर्राष्ट्रिय वैज्ञानिक सहकार्यमा कोभिडका प्रभावहरू कस्ता देखिनेछन् ? भनी युनेस्कोका अन्तर्वार्ताकार हरारीलाई सोध्छन् । प्रत्येक चर्चित व्यक्तिहरू हरारीको अर्धज्ञानसामु नतमस्तक देखिन्छन् । उनीहरू त्यस्तो मानिससामु आफ्नो शिर निहुराइरहेका छन्, जोसँग प्रश्नकर्ताहरू कसैको विषयगत क्षेत्रको ज्ञान ऊसँग छैन । प्रश्नकर्ता कसैले पनि आफ्नो क्षेत्रको विज्ञसँग सवाल–जवाफ गरेका होइनन्, बरु उनीहरूले त एउटा इतिहासकारसँग गरेका हुन् । यो वास्तवमै फट्याइँ हो । अझै विज्ञानका क्षेत्रमा भन्ने हो भने त ऊ ठग नै हो ।

समय अप्ठेरो छ । हामी सबै जीवन र मृत्युबारे तिखा प्रश्नका जवाफ खोजिरहेका छौँ । के मानिस जलवायु परिवर्तन र भविष्यमा आउन सक्ने सम्भावित महामारीबाट जोगिन सक्लान् ? के हाम्रो जीनमा सबै विषय थाहा हुने साँचो छ ? प्रविधिले हामीलाई जोगाउँछ वा विनाश गर्छ ? 

बुद्धिमान मार्गदर्शक एक प्रकारको गुरु हो, जसले धेरै विषयहरूबारे प्रस्टसँग बुझिने गरी, आत्मविश्वाससहितको जवाफ दिन सक्छ, तर प्रश्न के हो भने यो व्यावहारिक छ त ?

Sapiens-A-Brief-History-of-Humankind-by-Yuval-Noah-Harari-scaled

धेरै मानिसका लागि यो प्रश्न नै असान्दर्भिक छ भन्ने देख्दा म तर्सिन्छु । हरारीको बहुचर्चित ‘सेपियन्स’ पुस्तक मानव जातिको गज्जबको गाथा हो, जसले बाँदरको रूपमा हाम्रो भद्र सुरुवातदेखि भविष्यमा हामी आफैँलाई नियन्त्रण गर्ने अल्गोरिदमको निर्माणसम्मको कथा कहन्छ । सेपियन्स सन् २०१४ मा प्रकाशित भएको थियो । सन् २०१९ सम्म आइपुग्दा यो ५० भन्दा धेरै भाषामा अनुवाद भएर एक करोड ३० लाखप्रति बिक्री भइसकेको थियो । 

सन् २०१६ मा सीएनएनमा यो किताब अरुलाई पढ्न सुझाउँदै तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाले यस पुस्तकले गिजाको पिरामिडले जस्तै आफूलाई हाम्रो असाधारण सभ्यताबारे ‘दृष्टिकोण’ दिएको भन्न भ्याएका थिए । 

हरारी प्रायः हाम्रो अतीतको मात्र वर्णन गर्दैनन्, उनी त मानवताकै आगामी दिनको भविष्यवाणी गर्दै हिँड्छन् । स्वाभाविक रूपमा सबैलाई हाम्रो भविष्यबारे अनुमान गर्ने अधिकार छ, तर यी अनुमान ठिक छन् कि बेठिक भनी पत्ता लगाउनु महत्त्वपूर्ण छ ।

त्यसपछि हरारीले ‘होमो डियस’ (२०१७) र ‘ट्वेन्टी वन लेसन फर ट्वेन्टी फस्र्ट सेन्चुरी’ नाममा अन्य दुई बेस्टसेलर किताब प्रकाशित गरे । उनका किताबहरू विश्वभर दुई करोड ३० लाखप्रति बिक्री भए भनिएको छ । उनको मन्तव्य सुन्नकै लागि लाखौँ डलर खर्च गरिरहेका आयोजकहरूको स्वागत हेर्दा उनलाई आफू संसारकै सर्वाधिक खोजी गरिएको बौद्धिक हुँ भन्ने लाग्न सक्छ, त्यो स्वाभाविक पनि हो । 

हामीलाई हरारीले मुग्ध बनाएकै छन्, तर त्यो उनको लेखाइले होइन; लेखाइ सत्यता र विद्वताको शक्तिले होइन । कारण हो— उनको शक्तिशाली कथावाचन । वैज्ञानिकका रूपमा मलाई के थाहा छ भने जटिल विषयहरूलाई आकर्षक कथामा उनेर वाचन गर्न साँच्चै गाह्रो छ । 

यति मात्र होइन, म के पनि जान्दछु भने हिजोआज कुनै पनि विषयलाई सनसनीखेज बनाउनका लागि विज्ञानको बलि दिने गरिएको छ । यस सन्दर्भमा लेखक युभल नोह हरारीलाई म विज्ञानका खतरनाक लोकप्रियतावादी नै देख्छु । र, क्यानडाका क्लिनिकल मनोवैज्ञानिक र सामाजिक सञ्जाल युट्युबका गुरु जोर्डन पिटर्सन यसका अर्का बलिया उदाहरण हुन् । 

20220209_BID001

विज्ञानका लोकप्रियतावादीहरू प्रतिभाशाली कथावाचक हुन्, जो वैज्ञानिक ‘तथ्यहरू’ वरिपरि सरल र भावनात्मक रूपमा प्रभावकारी भाषामा सनसनीखेज कथाहरू बुन्छन् । तिनीहरूका कथा प्रायः मसिनो गरी बुनिएका र शंका निवारणका कपटी तरिकाले धोइपखाली गरिएका हुन्छन् । यसले उनीहरूले भन्न खोजेको कुरालाई नक्कली प्राधिकारको आभास दिन्छ र त्यो सन्देशलाई झनै बढी विश्वसनीयजस्तो बनाइदिन्छ । 

राजनीतिक क्षेत्रका लोकप्रियतावादीजस्तै विज्ञानका लोकप्रियतावादी पनि मिथ्या सूचनाका स्रोत हुन् । तिनीहरूले जानाजान झुटा संकटहरू प्रवद्र्धन गर्छन् र आफूलाई त्यसको समाधानकर्ता वा ज्ञाताका रूपमा पस्कन्छन् । तिनीहरू कुशलतापूर्वक भनिने कथाको मोहनी शक्ति बुझ्न सक्छन् । यसको प्रयोगबाट लगातार आफ्नो दर्शकको संख्या बढाउन खोज्छन् तथा आफ्नो नाम र प्रभाव बढाउन विज्ञानको दुरुपयोग गर्न कति पनि हिच्किचाउँदैनन् ।

आजको समयमा राम्रो कथावाचनको आवश्यकता पहिलेको भन्दा बढ्दै गएको छ । र, त्यसले हामीलाई थप जोखिमतर्फ धकेलिरहेको छ । अझ विशेष गरेर विज्ञानबारे छलफल गर्दा यो झनै संवेदनशील छ । विज्ञानले धेरैजसो क्षेत्रहरू खास गरेर चिकित्सा, पर्यावरण, कानुन र अन्य धेरै सार्वजनिक निर्णयलाई सुसूचित गर्ने काम गर्छ ।

हाम्रा महत्त्वपूर्ण सामाजिक र व्यक्तिगत क्रियाकलापहरू, हाम्रो वरिपरि रहेको संसारलाई हामी कतिको राम्ररी बुझ्छौँ भन्ने कुरामा पनि निर्भर गर्छ । भर्खरै महामारीले दपेटेको समय तथा जलवायु परिवर्तनको त्रासदि झेलिरहेको यो समयमा विज्ञानको झनै ठुलो महत्त्व छ ।

असाध्यै गज्जब हुने थियो, यदि आनुवंशिक इन्जिनियरिङ वास्तवमै जादुको छडी हुन्थ्यो भने । यसको प्रयोगबाट चञ्चल मनका जीवनसाथीहरूलाई विश्वासिलो जीवनसाथीमा फेर्न सकिन्थ्यो । सबैलाई आइन्स्टाइनजस्तै बनाउन सकिन्थ्यो । तर, यो यथार्थ होइन । 

अब हामीले लोकप्रियतावादी भविष्यवेत्ता र त्यस्तै अन्य विज्ञानको दुरुपयोग गरेर चर्चा बटुलिरहेका लोकप्रियतावादीको गम्भीर समीक्षा गर्ने समय आएको छ ।

सुन्दा अनौठो लाग्न सक्छ, तर विद्वतवर्ग र प्रमुख प्रकाशन गृहले हरारीको कामलाई न्यून मूल्यांकन गरेका छन् । हरारीको शोधपत्र ‘पुनर्जागरण कालका सैन्य संस्मरण : युद्ध, इतिहास र पहिचान १४५०–१६००’ मा उनलाई निर्देश गरेका सल्लाहकार तथा अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक स्टभेन गनले सबैलाई झस्काउने खुलासा गर्दै भनेका थिए— मेरा पूर्वविद्यार्थी हरारीले सफलतापूर्वक तथ्य–जाँच प्रक्रियालाई छल्ने गरेका थिए । 

‘न्युयोर्कर’ को सन् २०२० को हरारीको प्रोफाइलमा गनको मान्यता अनुसार हरारीले आफ्नो पुस्तक ‘सेपियन्स’मा सम्बन्धित विशेषज्ञको आलोचनालाई पन्छ्याउने ध्येयका साथ यो भन्न थाले भने— ‘आउनुस्, तपाईं–हामीले यति ठुलो प्रश्न गरौँ कि कसैले पनि यो गलत हो वा त्यो गलत भन्न नसकून्, किनभने कोही पनि प्रत्येक विषयमा विज्ञ र त्यसका इतिहासकार हुँदैनन् ।’

यद्यपि मैले सेपियन्सको तथ्य–जाँच गर्ने प्रयास गरेँ । मैले मेरा समकक्षी मस्तिष्क विज्ञान र उद्विकास जीवविज्ञानका ज्ञाता साथीहरूबाट के थाहा पाएँ भने हरारीले यथेष्ट मात्रामा त्रुटि गरेका छन् । ती सामान्य कमजोरीका रूपमा छाड्न मिल्ने खालका छैनन् । यो पुस्तक गैरआख्यानका रूपमा बिक्री भए पनि यसका धेरै भाष्य तथ्यभन्दा पनि आख्यानको तहमा काल्पनिक छन् । यी सबै तथ्यलाई नियाल्दा लोकप्रियतावादी विज्ञानजस्ता देखिन्छन् ।

भाग एकमा हेरौँ, ‘संज्ञानात्मक क्रान्ति’ जहाँ उनी हाम्रो प्रजातिले आफ्नो विकासक्रममा अन्य प्राणीलाई जस्तै सिंहलाई पनि खाद्य शृङ्खलामा उछिनेको दाबी गर्छन् । उनी लेख्छन्, ‘धर्तीका सबैजसो सिकारी प्राणीहरू भीमकाय छन् । दशौँ लाख वर्षको प्रभुत्वका कारण उनीहरूमा भरपुर आत्मविश्वास छ । यसविपरीत मान्छे अर्थात् सेपियन्स भद्रगोल र असफल शासनलाई जनाउने गरिएजस्तो ‘बनाना रिपब्लिक’को तानाशाहजस्तो देखिन्छ । फराकिला अफ्रिकी घाँसे मैदानमा भागी–भागी जोगिएको विगतका कारण डर र चिन्ताले भरिएको हुँदा क्रूर र खतरनाक दुवै बनेको छ ।’

यसमा थप्दै उनी निष्कर्षमा लेख्छन्, ‘हाम्रो यस्तै भागदौडका कारण इतिहासका विभिन्न भयानक युद्ध, पर्यावरणीय विनाश र विपत्ति उब्जिएका हुन् ।’

उद्विकासको जीववैज्ञानिकका रूपमा भन्नुपर्दा म उपरोक्त अनुच्छेद पढ्दा छक्क परेँ । सिंहलाई केले त्यस्तो आत्मविश्वासी बनाउँछ ? ठुलो गर्जनले ? मादा सिंहहरूको समूहले ? उसको बलियो पन्जाले ? के हरारीका यस्ता निष्कर्ष कुनै स्थलगत अनुगमन वा प्रयोगशालाका परीक्षणमा आधारित छन् ? (जबकि पुस्तकमा त्यस्ता कुनै स्रोत वा संकेत उपलब्ध छैनन् ।) 

के साँच्चै चिन्ताले नै मानिसलाई क्रूर बनाउँछ ? हामी खाद्य शृंखलाको टुप्पोमा पुग्न ढिला भएको भए धर्तीमा युद्ध र जलवायु परिवर्तन हुँदैनथ्यो भनेर हरारीले भन्न खोजेका हुन् ?

हाम्रो लोकप्रिय भविष्यवेत्ता निरन्तर नयाँ अनुयायीको खोजीमा छन् र उनी आफ्नो नाम र प्रभावलाई नयाँ उचाइमा पुर्‍याउन व्यग्र छन् ।

उनको यो वाक्यांशले चर्चित कार्टुन चलचित्र ‘द लायन किङ’ को दृश्यसम्म पुर्‍याइदिन्छ । राजसी छाँटमा मुफासाले क्षितिजतर्फ हेर्दै गरेको पात्र सिम्बालाई भन्छ— प्रकाशले छोएको सबै ठाउँ उसको राज्य हो । हरारीको कथावाचन जीवन्त र मनमोहक छ तर विज्ञानशून्य छ । 

अब भाषाको कुरा गरौँ । हरारी ‘बाँदर र ढेडु प्रजाति लगायत धेरै जनावरको भाषा स्वरात्मक छ’ भनी दाबी गर्छन् । मैले एक दशक दक्षिण अमेरिकाको मेक्सिकोलगायत मुलुकमा पाइने ‘न्यु वल्र्ड मङ्की’ भनिने बाँदर प्रजाति मार्मोसेटको स्वरात्मक सञ्चारको अध्ययनमा बिताएको छु । (कहिलेकाहीँ उनीहरू मसँग सञ्चार गर्ने क्रममा म भएतिर पिसाब छर्किनेसम्म गर्थे ।) 

मैले आफ्नो विद्यावारिधि गरेको प्रिन्सटन न्युरोसाइन्स इन्स्टिच्युटमा हामीले स्वरात्मक व्यवहार कसरी उद्विकासात्मक, स्नायुजन्य, जैविक–यान्त्रिक र क्रमिक घटनाको अन्तक्र्रियाबाट उत्पन्न हुन्छ भन्ने अध्ययन गरेका थियौँ । हाम्रो काम, बाँदरहरूको सञ्चार मानव सञ्चार विधिभन्दा पृथक् आनुवंशिक कोडहरूमा पूर्वनिर्धारित हुन्छ भन्ने मान्यतालाई तोड्न सफल भयो । 

खासमा हामीले बाँदरका भुराहरू, मानिसका भुराहरूले जसरी नै आफ्ना आमाबाबुको सहायतामा कुरा गर्न सिक्छन् भन्ने पत्ता लगाएका थियौँ । 

यद्यपि मानवसँगका सबै समानताका बाबजुद पनि बाँदरसँग ‘भाषा’ छ भन्न सकिन्न । भाषा एक नियममा बाँधिएको प्रतीकात्मक प्रणाली हो, जसमा प्रतीकहरू (शब्द, वाक्य, चित्र आदि)ले मानिस, स्थान, घटना र संसारमा रहेका सम्बन्धलाई जनाउँछन्, तर यो त्यतिमा मात्रै सीमित छैन, यसले प्रणालीभित्रका अन्य प्रतीकहरूलाई पनि जनाउँछ र सन्दर्भ बुझाउने काम गर्छ ।

बाँदरहरूको चेतावनी स्वरले, चराहरू र ह्वेलहरूको गीतले सूचना प्रवाह गर्न सक्छ तर जर्मन दार्शनिक अर्नस्ट क्यासिरेरले भनेझैँ हामी ‘वास्तविकताको नयाँ आयाम’मा बाँचिरहेका छौँ, जुन आयाम प्रतीकात्मक प्रणाली हासिल हुनाले सम्भव भएको हो ।

भाषाको उत्पत्तिबारे वैज्ञानिकका फरक–फरक सिद्धान्त हुन सक्छन् तर सबै भाषाशास्त्री नोम चोम्स्कीदेखि स्टेभेन पिंकरसम्म र आदिम मानवपुर्खा प्राइमेटका सञ्चारविज्ञ माइकल टमासेलोदेखि असिफ घजानफारसम्म यसमा एकमत छन् कि भलै अन्य जनावरमा भाषाका पूर्ववर्ती तत्त्व फेला पार्न सकिन्छ, तर भाषा विशिष्ट रूपमा मानवमा मात्र छ ।

यो सर्वमान्यजस्तै नियम हो, जुन विश्वभर जीवविज्ञानका प्रारम्भिक कलेजका कक्षाहरूमा सिकाइन्छ । कतिसम्म भने सामान्य गुगल सर्चमा पनि हामीले यो सहजै भेटाउन सकिन्छ । मेरा वैज्ञानिक साथीहरूको हरारीसँग आपत्ति छ । 

'hunt together and fight shoulder to shoulder against baboons, cheetahs and enemy chimpanzees'

‘बबुन, चिता भनिने चितुवा र दुश्मन चिम्पान्जीविरुद्ध सँगै सिकार गर्छन् र एकताबद्ध भएर लड्छन्’ भन्ने हरारीको भनाइलाई जीवविज्ञानी हजालमार टुरेसन सत्य हुन नसक्ने बताउँछन् । किनभने चिता भनिने चितुवाहरू र चिम्पान्जीहरू अफ्रिकाको एउटै भागमा बस्दैनन् । 

टुरेसन भन्छन्, ‘हरारी चिता भनिने चितुवा र लिओपार्ड भनिने चितुवाको फरकमा झुक्किएका हुन सक्छन् ।’ सायद, मिहीन विवरणका हिसाबले चिता र चितुवाबिच भिन्नता थाहा पाउनु त्यति महत्त्वपूर्ण नहुन सक्छ । हरारी मानवको कथा लेखिरहेका छन्, तर उनका गल्तीहरू हाम्रो प्रजातिभर फैलिएका छन् । 

सेपियन्सको ‘पिस इन आवर टाइम’ नामक अध्यायमा हरारीले इक्वेडारका वावरानी जातिको उदाहरण प्रयोग गरेर ऐतिहासिक रूपमा राज्यको उदयले हिंसाको कमी भएको तर्क गर्छन् । उनी वावरानीलाई हिंसात्मक बताउँछन् किनभने उनीहरू ‘सेना, प्रहरी वा कारागारविना अमेजनको घना जङ्गलमा बस्छन् ।’ 

के सत्य हो भने वावरानी समुदायमा मानव हत्या दर एक समय विश्वकै उच्चतम बिन्दुमा थियो तर सन् १९७० को दशकयता उनीहरूको समाजमा तुलनात्मक रूपमा शान्ति कायम छ । सन् २०१५ मा मैले वावरानीसँग समय बिताएका वनस्पति विज्ञानका अध्ययेता एन्डर्स स्मोल्कासँग कुरा गरेँ । 

स्मोल्काले भने अनुसार इक्वेडरको कानुनी प्रणाली त्यहाँको जङ्गलमा लागू हुँदैन र वावरानीसँग आफ्नै प्रहरी वा कारागार छैन । ‘यदि अझै भाला प्रहारको समस्या भइरहेको भए मलाई त पक्कै थाहा हुनुपर्ने हो,’ उनले थपे, ‘म त्यहाँ पर्या–पर्यटनको परियोजनामा स्वयंसेवीका रूपमा थिएँ । त्यसैले हाम्रा पाहुनाहरूको सुरक्षा हाम्रा लागि महत्त्वपूर्ण थियो ।’ यहाँ हरारीले हाम्रो कुख्यात नश्लवादी र हिंसात्मक प्रकृतिको प्रहरी राज्यको आवश्यकता प्रमाणित गर्न अत्यन्तै कमजोर उदाहरण प्रयोग गरेका छन् ।

हरारीले हामीलाई आफ्नो कथावाचनले मोहित बनाएका छन् तर उनका कुरालाई नजिकबाट नियालेर हेर्दा उनले सनसनी सिर्जना गर्नलाई विज्ञानको बलि चढाएका छन् । उनी प्रायः गम्भीर तथ्यगत गल्ती गर्छन् र अनुमानका भरमा निश्चिन्त भएर त्यसलाई प्रस्तुत गर्छन् । 

यी विवरणहरू खासै प्रभाव नपार्नेजस्ता देखिन सक्छन्, तर प्रत्येक झुटमा ठडिएको अटुट भनिएका आधारको जगका ढुङ्गा यसै गरी हल्लिने गर्छन् । सर्सर्ती पढ्दा नै भेटाइने त्रुटिहरू गहिरो अन्वेषण गर्दै पढ्दा पुस्तक खारेज योग्य हुन सक्छ ।

हरारी प्रायः हाम्रो अतीतको मात्र वर्णन गर्दैनन्, उनी त मानवताकै आगामी दिनको भविष्यवाणी गर्दै हिँड्छन् । स्वाभाविक रूपमा सबैलाई हाम्रो भविष्यबारे अनुमान गर्ने अधिकार छ, तर यी अनुमानहरू ठिक छन् कि छैनन् भन्ने पत्ता लगाउनु पनि उत्तिकै महत्वपूर्ण छ । 

अझ खासगरी हरारी त्यस्ता व्यक्ति हुन्, जसको कुरा हाम्रो भविष्यबारे निर्णय गर्न सक्ने नेतृत्वले गम्भीरता साथ सुन्ने गर्छ । उनीहरूको हकमा यो झनै लागु हुनुपर्छ । सत्यजस्ता देखिने यस्ता झुटा अनुमानले धेरै अभिभावकलाई भ्रमित पारिरहेको हुन्छ । उनीहरू वंशानुगत परिवर्तन गर्न सक्ने प्रविधिले बच्चामा हुने अटिजमको समस्या समाधान हुने आशा गर्न सक्छन् । महामारी र ठुला खतरासँग जुध्न तयारीका लागि गर्नुपर्ने खर्चलाई अन्यत्र मोडेर अर्थहीन परियोजनामा ठुलो स्रोत खर्च गरिने र त्यो नाश हुने खतरा अझै पनि छ ।

हरारीले सन् २०१७ मा प्रकाशित आफ्नो पुस्तक ‘होमो डिएस’ मा महामारी बारेमा के भनेका छन् हेरौँ—

‘एड्स र इबोलाजस्ता विपद् विरुद्धको संघर्षमा मानवताको पक्षमा विजयको सम्भावना तीव्र रूपमा बढ्दै गएको छ । यसैले भविष्यमा ठुला महामारीहरूले मानव जातिलाई खतरा पुर्‍याउने सम्भावना कम हुँदै छ र यो खतरा केवल मानिस आफैँले कुनै कुरा विचारधारको रक्षार्थ सिर्जना गर्दा मात्र सम्भव छ । प्राकृतिक महामारी सामु मानवजाति असहाय रहनुपर्ने युग सम्भवतः समाप्त भइसकेको छ । अब यी हाम्रा विस्मृतिका मात्र रहन सक्छन् ।’

आशा थियो, यी सबै विस्मृतिमा मात्रै रहन सक्छन् । यसको सट्टा आधिकारिक गणना अनुसार ६० लाखभन्दा बढी मानिस कोभिडबाट मरेका छन् । र, केही अनुमानले वास्तविक संख्या एक करोड २० लाखदेखि दुई करोड २० लाखसम्म हुन सक्ने दाबी गरेका छन् । 

हामी सार्स–कोभ–२ महामारीको कारक जीवाणु जंगलबाट सिधै फैलिएको हो वा वुहान भाइरोलोजिकल इन्स्टिच्युटमार्फत फैलिएको हो भन्ने विषयमा फरक विचार राख्न सक्छौँ । तर, हामी यो महामारी ‘कुनै निर्दयी विचारधाराको सेवामा’ सिर्जना गरिएको थिएन भन्नेमा सहमत छौँ ।

हरारी यो विषयमा गलत नहुन सक्थे तर विज्ञानको कुशल लोकप्रियतावादीका रूपमा उनले महामारीका क्रममा पनि आफ्नो कथित विशेषज्ञता प्रस्तुत गर्न थालिहाले । उनले अमेरिकी सञ्चारमाध्यम एनपीआरसँगको कुराकानिमा ‘महामारी र त्यसका परिणामस्वरूप आउने आर्थिक संकटलाई कसरी सम्हाल्ने’ बारेमा कुरा गरे । सीएनएनमा प्रस्तोता क्रिस्चियन अमनपुरको शोमा गएर ‘कोरोना भाइरसको प्रकोपबाट उत्पन्न मुख्य प्रश्न’बारे व्याख्या गरे । 


मानवीय भावना र यसका अभिव्यक्ति मूल रूपमा व्यक्तिपिच्छे फरक भइरहेका हुन्छन् । हामीले संवेदनालाई बुझ्ने र व्याख्या गर्ने तरिकामा विविध सांस्कृतिक र व्यक्तिगत भिन्नताहरू छन् ।


त्यसपछि बीबीसीको कार्यक्रम ‘न्युज नाइट’मा गएर उनले ‘कोरोना भाइरसबारे ऐतिहासिक दृष्टिकोण’ प्रस्तुत गरे । उनले साम ह्यारिसको पडकास्टमा ‘कोभिड सिर्जित भविष्यका प्रभाव’बारे व्याख्यान दिए । हरारीले इरान इन्टरनेसनलमा सादेक सबासँग, इन्डिया टुडेको ई–कन्क्लेभको कोरोना सिरिजमा र विश्वभरका अन्य समाचार च्यानलहरूमा उपस्थिति जनाउन छुटाएनन् ।

झुटा संकटको हल्ला फैलाउने विज्ञानका लोकप्रियतावादीको अर्को मुख्य विशेषता भनेकै उनीहरू विश्वभरका प्रसिद्ध सञ्चारमाध्यमलाई उपयोग गर्नबाट चुक्दैनन् । उनले ती माध्यममा ‘छालाभित्रबाट गरिने निगरानी’को खतरा रहेको भयावह चेतावनी दिए । उनी भन्छन्, ‘एकछिनका लागि कल्पना गर्नुस्, कुनै सरकारले प्रत्येक नागरिकलाई शरीरको २४ घन्टे तापक्रम र हृदयको चाल निगरानी गर्ने बायोमेट्रिक चुरा लगाउन आदेश गर्छ ।’ 

यसको सकारात्मक वा नकारात्मक पक्षको चर्चा गर्दै उनी भन्छन्– यसले सम्भवतः सरकारलाई केही दिनमै महामारी रोक्नका लागि प्रयोग गरिने सूचनाको रूपमा काम गर्न सक्छ । तर, यसको नकारात्मक पक्ष भनेको यसले सरकारलाई परिमार्जित निगरानी प्रणाली उपलब्ध गराउँछ, किनभने तपाईं मेरो शरीरको तापक्रम, रक्तचाप र हृदयको गति भिडियो क्लिप हेरे जसरी हेर्दै निगरानी गर्न सक्नुहुन्छ । अनि तपाईं मलाई हँसाउने, दुःखी बनाउने र रिस उठाउने विषय के हुन् भनेर मसिनोसँग कलाउन सक्नुहुन्छ ।

मानवीय भावना र यसका अभिव्यक्ति मूल रूपमा व्यक्तिपिच्छे फरक भइरहेका हुन्छन् । हामीले संवेदनालाई बुझ्ने र व्याख्या गर्ने तरिकामा विविध सांस्कृतिक र व्यक्तिगत भिन्नताहरू छन् । हाम्रा भावनाहरू सन्दर्भको जानकारीविना सही अर्थमा भौतिक ढंगले मापन गरेर अनुमान गर्न सकिँदैन । शरीरको तापक्रम, रक्तचाप र हृदयको चालभन्दा बाहेक अझै व्यापक शारीरिक मापनहरूको निगरानी गर्दा पनि उनले भनेजस्तो सजिलो छैन ।

मानौँ हामी शान्त प्रजातिमा रूपान्तरण हुन चाहन्छौँ । वैज्ञानिकहरूले पत्ता लगाएका मोनोअमाइन अक्सिडेज–ए (एमएओ–ए) जिनको न्यून सक्रियताको सम्बन्ध आक्रामक व्यवहार र हिंसात्मक अपराधसँग जोडिएको छ ।

मनोवैज्ञानिक लिजा फेल्डम्यान ब्यारेटजस्ता वैज्ञानिकले आफ्नो खोजमा धेरै अघिदेखि मानिएको विश्वासविपरीत हर्ष र क्रोधजस्ता भावना पनि सार्वभौम नभएको बरु व्यक्तिगत रूपमा पृथक् हुने पत्ता लगाइसकेका छन् । फेल्डम्यान ब्यारेट भन्छिन्, ‘अनुहारका भङ्गिमाका भावनात्मक अर्थलाई कुनै पृष्ठमा रहेका शब्दजस्तै पढ्न सकिँदैन ।’ यसै कारण विशेष क्षणमा हामी के महसुस गरिरहेका छौँ भनेर अनुमान लगाउन सक्ने प्रविधि बनाउन सकिएको छैन । 

हरारीका दाबीहरू वैज्ञानिक दृष्टिबाट हेर्दा अमान्य छन् तर तिनीहरूलाई खारेज गर्न सकिन्न । मेरा सहकर्मी तथा स्नायु विज्ञानका विज्ञ अहमद एल हादी भन्छन्— हामी चौतर्फी निगरानीको समयमा बाँचिरहेका छौँ । ठुला टेक कम्पनी र सरकारहरूले लगातार हाम्रो निगरानी गरिरहेका छन् । यस्तो अवस्थामा हरारीजस्ता व्यक्तिहरूले ‘हामी आफैँले आफूलाई भन्दा राम्रो गरी हामीलाई निगरानी गर्ने टेक कम्पनीहरूले चिन्छन्’ भन्न दिने हो र त्यसैलाई सबैले विश्वास गर्ने हो भने हामीले आफूमाथि अल्गोरिदमलाई हाबी हुन दिनेछौँ । त्यसपछि हामी जागिरमा कसलाई राख्ने र नराख्ने भनेर आफैँले होइन, अल्गोरिदमलाई निर्णय गर्न दिने चरणमा पुग्छौँ, जुन साँच्चै नराम्रो अवस्था हो । 

website-homepage-slider-option-1-edited

हरारीका अनुमानहरू लगातार विज्ञानको कमजोर बुझाइमा आधारित छन् । उदाहरणका लागि हाम्रो जैविक भविष्यबारे उनका भविष्यवाणीहरू विकासको जिन–केन्द्रित दृष्टिकोणमा आधारित छन् । दुर्भाग्य नै भन्नुपर्छ हरारीजस्तै व्यक्तिहरूका कारण यो सोच सार्वजनिक विचार प्रणालीमा हाबी छ । 

विषयको गहिराइलाई न्यूनीकरण गर्ने उनको सोचले जटिल वास्तविकतालाई जबर्जस्ती एउटा सरल दृष्टिकोणका रूपमा पेस गरिरहेको हुन्छ । झनै नराम्रो कुरा त के भने यसले मानिसलाई खतरनाक रूपमा युजेनिक्स भनिने आनुवंशिकीमा आधारित मान्यतातर्फ डोर्‍याउँछ । 

हरारी आफ्नो पुस्तक सेपियन्सको अन्तिम अध्यायमा लेख्छन्–

‘हामीले भगवानको डिजाइन बोर्डमै पुगेर झनै राम्रो मान्छे अर्थात् सेपियन्सको रचना किन नगर्ने ? मानिसका क्षमता, आवश्यकता र इच्छाहरू वंशाणुसँग सम्बन्धित छन् । मानिसको वंशाणु अर्थात् सेपियन्स जिनोम मुसाको जति पनि जटिल छैन । मुसाको जिनोममा झन्डै २.५ अर्ब न्युक्लिओवेस हुन्छन् भने मानिसको जिनोममा झन्डै २.९ अर्ब न्युक्लिओवेस हुन्छन् । आनुवंशिक इन्जिनियरिङले प्रतिभाशाली मुसा बनाउन सक्छ भने प्रतिभाशाली मानिस बनाउन किन सक्दैन ? यसले एकलविपरीत लिङ्गीसँग मात्र सहवास गर्ने साना मुसा (भोल) बनाउन सक्छ भने मान्छेलाई आन्तरिक रूपमै एकल जीवन साथीप्रति प्रतिबद्ध बनाउन सकिँदैन ?’

असाध्यै गज्जब हुने थियो, यदि आनुवंशिक इन्जिनियरिङ वास्तवमै जादुको छडी नै हुन्थ्यो भने । यसको प्रयोगबाट चञ्चल मनका जीवनसाथीहरूलाई विश्वासिलो जीवनसाथीमा फेर्न सकिन्थ्यो । सबैलाई आइन्स्टाइनजस्तै बनाउन सकिन्थ्यो, तर यो यथार्थ होइन । 

मानौँ हामी शान्त प्रजातिमा रूपान्तरण हुन चाहन्छौँ । वैज्ञानिकहरूले पत्ता लगाएका मोनोअमाइन अक्सिडेज–ए (एमएओ–ए) जिनको न्यून सक्रियताको सम्बन्ध आक्रामक व्यवहार र हिंसात्मक अपराधसँग जोडिएको छ । हरारीले भने अनुसार हामीलाई ‘भगवान्को डिजाइन बोर्डमा फर्केर अझ राम्रो मानिसको रचना गर्न’ मन लाग्छ भने सबैको न्यून स्तरको ‘एमएओ–ए’ सक्रियता हिंसात्मक हुँदैन न त उच्च स्तरको ’एमएओ–ए’ सक्रियता भएका सबै व्यक्ति अशान्त नै हुन्छन् । 

अत्यन्तै खराब वातावरणमा हुर्किएका व्यक्तिहरू प्रायः आक्रामक वा हिंसात्मक बन्न सक्छन्, चाहे तिनीहरूको वंशाणुहरू जुनसुकै प्रकारको होस् । उच्च ‘एमएओ–ए’ सक्रियताले यस नियतिबाट तपाईंलाई बचाउन सक्छ, तर यो निश्चित भने हुँदैन । यसको ठिक उल्टो जब बच्चालाई माया र समर्थनको वातावरणमा हुर्काइन्छ, तब न्यून ‘एमएओ–ए’ सक्रियता भएका व्यक्तिहरू पनि प्रायः राम्रोसँग हुर्कन सक्छन् ।

उनको निष्कर्ष छ, जनावरका शरीरहरू वंशाणुहरूको नृत्यजस्तो लाग्ने जटिल चाल र बदलिँदो भौतिक तथा वातावरणका परिणाम हुन् ।

हाम्रा वंशाणुहरू हाम्रा कठपुतली होइनन्, जसलाई मनलाग्दी डोरीले तान्ने र हाम्रो दैनिक जीवनलाई नै नियन्त्रण गर्न सकियोस् । जब हरारी हाम्रो शारीरिक संरचनामा परिवर्तन गर्ने वा ‘इन्जिनियरिङ’ गरेर मानिसलाई विश्वसनीय वा बुद्धिमान बनाउनेबारे लेख्छन्, उनले वंशाणुबाहेक हाम्रो रचनामा असाध्यै महत्त्वपूर्ण भूमिका खेल्ने धेरै शारीरिक, जैविक र अन्य प्रणालीलाई बेवास्ता गरिरहेका हुन्छन् ।

उदाहरणका लागि हाम्रो शारीरिक संरचनासम्म स्थायी रूपमा बनेको जस्तो देखिने कोषहरू विभाजन गर्ने, यिनीहरूलाई यताउता गर्ने, यिनीहरूको भविष्य निर्धारण गर्ने र अंगहरूमा समाहित गर्नेजस्ता काम वंशाणु मात्रले सञ्चालन वा व्यवस्थापन गरेको हुँदैन । 

सन् १९८० को दशकमा वैज्ञानिक जेएल माक्र्सले सहाराको उपक्षेत्र, अफ्रिकामा पाइने जेनोपस भनिने एक प्रकारको जलचर भ्यागुतामा गरेको शृंखलाबद्ध प्रयोगबाट पत्ता लगाए कि दैनन्दिन जीवनका सामान्य जैविक भौतिक घटनाहरू (जस्तै : कोषहरूमा भित्र र बाहिर हुने रासायनिक प्रतिक्रियाहरू, यान्त्रिक दबाबहरू तथा गुरुत्वाकर्षण) ले वंशाणुलाई कोषको भविष्य हेरेफेर गर्न सक्ने स्तरमा सञ्चालन र अवरुद्ध (अन वा अफ) गराउन सकिन्छ । 

उनको निष्कर्ष छ, जनावरका शरीरहरू वंशाणुहरूको नृत्यजस्तो लाग्ने जटिल चाल र बदलिँदो भौतिक तथा वातावरणका परिणाम हुन् ।

अब स्वादको सन्दर्भमा कुरा गरौँ । हरारीजस्ता व्यक्तिका विचार पढ्दा हामीलाई नवजात शिशुहरूको व्यवहार लगभग विशेष रूपमा उनीहरूको वंशाणुले नियन्त्रण गर्दै छन् जस्तो लाग्न सक्छ । जबकि शिशुहरूको पोषणबारेमा बोल्नका लागि धेरै कुरा थाहा हुँदैन, तर अनुसन्धानले के देखाएका छन् भने गर्भावस्थाको अन्तिम तीन महिनामा धेरै गाजरको रस पिउने महिलाका शिशुहरूले ६ महिनाको हुँदा गाजरको स्वाद भएको खानेकुरा अन्य शिशुहरूको तुलनामा बढी मन पराए । 

यी शिशुहरू गाजरको स्वाद मन पराउँछन् तर त्यो ‘गाजर–मनपर्ने’ वंशाणुका कारण होइन । जब आमाले आफ्ना शिशुलाई स्तनपान गराउँछन्, उनीहरूले खाएको खानाको स्वाद उनीहरूको दूधमा प्रसारित हुन्छ । र, उनीहरूको शिशुले यी खाद्य वस्तुहरूबारे आफ्नो प्राथमिकता विकास गर्ने गर्छन् । शिशुहरूले आमाको खाद्य व्यवहारबाट खाद्य प्राथमिकताहरू विरासतमा हासिल गर्छन् ।

पुस्तौँ पुस्तादेखि कोरियामा आमाहरूलाई समुद्रमा पाइने विशेष खालको सागको सुप पिउन भनिन्छ, तथा चिनियाँ आमाहरूलाई बच्चा जन्माएपछि अदुवा र सिरकासहितको सुँगुरको खुट्टा पकाएर खान लगाइन्छ । यसरी कोरियाली र चिनियाँ बालकहरूले ‘अदुवा खाने’ वा ‘भिनेगर चाहने’ वंशाणुको आवश्यकता बिनै सांस्कृतिक स्वाद विशेषका कारण त्यसलाई विरासतमा प्राप्त गर्छन् ।

आजको दुनियाँमा हामी जुनसुकै ठाउँमा रहे पनि प्रायः प्रशोधित चिनीको सेवन गर्छौं । अधिक समय बढी चिनीयुक्त खानेकुराले खानपानमा असामान्य बानीहरू सिर्जना गर्ने तथा अनावश्यक मोटोपना निम्त्याउन सक्छ । यसबारे वैज्ञानिकले जनावरमा गरेको अध्ययनबाट यो प्रक्रियामा हुने सूक्ष्म पद्धति पत्ता लगाएका छन् । 

अधिक चिनीयुक्त आहारले पीआरसी २.१ भनिने प्रोटिन ग्रन्थीलाई सक्रिय बनाउँछ, त्यसपछि यसले वंशाणुहरूले गर्ने खास प्रकृतिका अभिव्यक्तिलाई नियमन गरी मष्तिष्कमा हुने स्वादसम्बन्धी सञ्जालको संरचनामा हेरफेर गराउँछ र मिठासको अनुभूति घटाउँछ । यसले गर्दा जनावरलाई हानिकारक खानेकुराको बानीमा विकास गराउँछ । यो ‘एपिजेनेटिक रि–प्रोग्रामिङ’को उदाहरण हो, जहाँ खानपानका बानीहरूले वंशाणुको अभिव्यक्तिमा परिवर्तन गरिरहेका छन् ।

पालनपोषणका आ–आफ्ना मान्यताहरूले स्वभावमा फेरबदल गर्छ । साथै स्वभावले पालनपोषणलाई फेर्छ । यी दुई भिन्न विषय होइनन् । ‘मान्छेका क्षमता, आवश्यकता र इच्छाहरू’ कसरी उत्पन्न र सञ्चालन हुन्छन् भन्ने यथार्थ हरारीले सहज चित्रण गरेभन्दा धेरै जटिल र आकर्षक छ ।

आनुवंशिकविद् इभा जब्लोन्का र म्यारियोन जे ल्याम्ब आफ्नो पुस्तक ‘एभोलुसन इन फोर डाइमेन्सन’को एक अनुच्छेदमा यो सन्दर्भलाई उत्कृष्ट रूपमा व्याख्या गर्छन्—

‘हिम्मतिलो हुने प्रवृत्ति, मुटुजन्य रोग, मोटोपना, धार्मिकता, समलैंगिकता, लजालुपन, मूर्खता वा अन्य कुनै मानसिक वा शारीरिक पक्षका लागि कारकका रूपमा कुनै खास वंशाणु हुन्छ भन्ने जस्ता विचारका लागि आनुवंशिक बहसमा कुनै स्थान नै छैन । अझै पनि धेरै मनोचिकित्सक, जैव–रसायनविद् र अन्य वैज्ञानिकहरू वंशाणुलाई आम कारणका रूपमा प्रयोग गर्छन् र आफ्नो कुरा सुन्न भेला भएका मानिसलाई सबै खाले समस्याको छिटो समाधानको वाचा गर्छन् । बुझ्नुपर्ने कुरा के हो भने उनीहरू हल्लाखोर मात्र हुन्, जसको ज्ञान वा कथनको उद्देश्यमा प्रश्न गर्नुपर्ने हुन सक्छ ।’

हरारीको उद्देश्य अझै रहस्यमय देखिन्छ । उनका जीव विज्ञानबारे वर्णन तथा भविष्यवाणीहरू अमेरिकामा प्रविधि कम्पनीको केन्द्रका रूपमा रहेको ‘सिलिकन भ्याली’मा प्रविधि कम्पनीका अगुवा ल्यारी पेज, बिल गेट्स, एलन मस्कजस्ता मान्छेबिच प्रचलित विचारधाराबाट निर्देशित छन् । 

यी मानिसबिच कम्प्युटर एल्गोरिदमले हामीलाई बचाउनेछ कि विनाश गर्नेछ भन्ने कुरामा भिन्न मत हुन सक्छ । यिनीहरू सबै अत्याधुनिक सञ्चार (डिजिटल कम्प्युटेशन) को चमत्कारी शक्तिमा विश्वास गर्छन् । सन् २०२० मा अमेरिकी अखबार ‘द न्युयोर्क टाइम्स’सँग कुरा गर्दै एलन मस्कले भनेका थिए, ‘अब हामी त्यस्तो स्थितिमा पुग्दै छौँ, जहाँ कृत्रिम बौद्धिकता मानिसभन्दा धेरै बुद्धिमान हुनेछ र मलाई लाग्छ यो पाँच वर्षभित्र हुनेवाला छ ।’ 


मानिस कुनै उन्नत कुखुरा होइन, मानिस न सबै क्षेत्रमा कुखुराभन्दा उत्कृष्ट छ । खासमा कुखुराले केही क्षेत्रमा मानिसभन्दा बढी डेटा ग्रहण गर्न सक्छ । साथै यसलाई राम्रोसँग प्रशोधन गर्न पनि सक्छन्, मूलतः दृष्टिको क्षेत्रमा । मान्छेको आँखाको रेटिनामा रातो, नीलो र हरियो तरंग, लम्बाइप्रति संवेदनशील ‘फोटोरिसेप्टर’ कोशिकाहरू हुन्छन् । 


मस्क गलत छन् । न एल्गोरिदमले छिटै हाम्रो सबै काम खोस्नेछ, न संसारमा शासन नै गर्नेछन्, न त मानव जातिको अन्त्य हुनेछ । कम्प्युटर एल्गोरिदमले संज्ञानात्मक स्वतन्त्रता हासिल गर्ने सम्भावनाबारे कृत्रिम बौद्धिकताका विशेषज्ञ फ्राँस्वा चोलेट भन्छन्, ‘यस्तो कुरा आजका दिनमा र निकट भविष्यमा पनि काल्पनिक कथा मात्र हो ।’ 

सिलिकन भ्यालीका कथासँग स्वर मिलाउँदै विज्ञानका लोकप्रियतावादी हरारीले अर्को झुटो संकटको खेती गरिरहेका छन् । अझै खराब कुरा त के हो भने उनले एल्गोरिदमका वास्तविक खराब विषय र सूूचना प्रविधि उद्योगको अनियन्त्रित शक्तिबाट हाम्रो ध्यान अन्यत्रै मोडिरहेका छन् ।

आफ्नो पुस्तक होमो डियसको अन्तिम अध्यायमा हरारी ‘डेटा रिलिजन’ भनेर नयाँ धर्मको कुरा गर्छन् । सिङ्गो ब्रह्माण्डलाई डेटाको बहाव ठान्ने यस्तो धर्मको अभ्यास गर्नेलाई उनी डेटावादी भन्छन् । उनीहरू सबै प्राणी जगतलाई डेटाको प्रशोधनकर्ता देख्छन् र मानव जातिको खास लक्ष्य यस्तो सर्वज्ञानी, सर्वशक्तिमान डेटा प्रशोधनकर्ता निर्माण गर्नुलाई मान्छन्, जसले हाम्राबारे हामीभन्दा धेरै बुझ्नेछ । 

यो सबै गाथाको तार्किक निष्कर्षमा हरारी भविष्यवाणी गर्दै भन्छन्— कम्प्युटर अल्गोरिदमले मान्छेका सबै पक्षमा नियन्त्रण गर्नेछ । त्यसैले निर्णय गर्नेछ कि हामी कोसँग विवाह गर्नेछौँ । कुन व्यवसाय रोज्नेछौँ । कसरी शासित हुनेछौँ । (हामी सबैलाई थाहा भएकै कुरा हो– यो डेटा धर्मको मक्का मदिना सिलिकन भ्याली हो ।)

‘मान्छे अब म्याद गुज्रेको एल्गोरिदम भैसक्यो !’ तथ्यांकवादीलाई उद्धृत गर्दै हरारी थप्छन्— 

‘आखिर कुखुराको तुलनामा मानिसबाट के फाइदा छ ? केवल यति त हो कुखुराभन्दा मानिसमा सूचना अलि बढी जटिल ढाँचामा प्रवाहित हुन्छ । मानिसले बढी डेटा ग्रहण गर्छन् र यसलाई अलि राम्रो एल्गोरिदमको प्रयोगबाट प्रशोधन गर्छन् । यसरी हेर्दा हामीले मानिसभन्दा बढी डेटा ग्रहण गर्ने र त्यसलाई अझ कुशलता साथ प्रशोधन गर्ने प्रणाली बनाउन सकेको खण्डमा के त्यो प्रणाली ठ्याक्कै कुखुराको तुलनामा मान्छेभन्दा माथि भएजस्तै हुँदैन र ?’

मानिस कुनै उन्नत कुखुरा होइन, मानिस न सबै क्षेत्रमा कुखुराभन्दा उत्कृष्ट छ । खासमा कुखुराले केही क्षेत्रमा मानिसभन्दा बढी डेटा ग्रहण गर्न सक्छ । साथै यसलाई राम्रोसँग प्रशोधन गर्न पनि सक्छन्, मूलतः दृष्टिको क्षेत्रमा । मान्छेको आँखाको रेटिनामा रातो, नीलो र हरियो तरंग, लम्बाइप्रति संवेदनशील ‘फोटोरिसेप्टर’ कोशिकाहरू हुन्छन् । 

कुखुराको रेटिनामा पनि यी कोशिका हुन्छन् । साथै बैजनी तरंग, लम्बाइका पनि विशेष रिसेप्टरहरू हुन्छन्, जसले उनीहरूलाई राम्रोसँग गतिबारे ठम्याउन मद्दत गर्छ । तिनीहरूको मस्तिष्कमा यस्ता केही थप जानकारीलाई प्रशोधन गर्ने क्षमता हुन्छ, जुन मानिसको भन्दा उन्नत हो ।

प्राविधिक मूल्यांकनबाट हेर्दा कुखुराको संसार यस्तो गज्जब छ, जसबारे हामी कल्पना पनि गर्न सक्दैनौँ । मेरो मुख्य कुरा भनेको कुखुरा मानिसभन्दा राम्रो छ भन्ने होइन । यो कुनै प्रतिस्पर्धाको विषय नै होइन भन्न खोजेको, तर कुखुरा मौलिक रूपमा ‘कुखुरा’ हो । ठिक त्यसैगरी हामी पनि मौलिक रूपमा ‘मानिस’ हो । यसमा थप दाँजेर तुलना गरिराख्नुपर्दैन ।

कुखुरा वा मान्छे दुवै अल्गोरिदम मात्रै किमार्थ होइनन् । हाम्रो भौतिक शरीर छ र त्यो यही दुनियाँमा छ । हाम्रा व्यवहारको उदय यही शारीरिक र सांसारिक क्रियाकलापबाट सिर्जित हुँदै जान्छन् । जीवित प्राणीहरू पर्यावरणको डेटा ग्रहण गर्ने र प्रशोधन गर्ने फगत यन्त्र मात्रै होइनन् । 

जीवनका रूपमा हामी आफ्नो र एक–अर्काको वरपरको वातावरणको निरन्तर सिर्जना र हेरफेर गरिरहेका हुन्छौँ । उद्विकासको जीवविज्ञानमा यसलाई ‘सहज आवास निर्माण’ भन्ने गरिन्छ । जब बिवर (मुसाजस्तै देखिने उभयचर प्राणी)ले खोलामा बाँध जस्तो संरचना बनाउँछ, यसले दह निर्माण हुन्छ । त्यस वरपरका धेरै प्राणीले त्यही दहमा बाँच्नुपर्ने हुन्छ । 

बिवरले धेरै शताब्दिऔँसम्म टिक्ने खालको दलदल बनाउँछन् । फलस्वरूप त्यसका सन्ततिको जीवन पद्धतिमै झन्डै उद्विकासको प्रक्रियामै फरक पार्ने स्तरको हेरफेर देखापर्न थाल्छ । मानिसमा असाधारण लचकता छ । हामीसँग वातावरणसँग अनुकूल रहन सक्ने असाधारण क्षमता छ । 

हाम्रा क्रियाकलापले मात्रै हामीलाई एल्गोरिदमबाट अलग गर्दैन । यसले हामी कसलाई प्रेम गर्छौं, भविष्यमा काममा कतिको सफल हुन्छौँ वा अपराध गर्ने सम्भावना छ कि छैन भन्नेजस्ता कुरामा कम्प्युटर एल्गोरिदमलाई हाम्रो सामाजिक व्यवहारले ठ्याक्कै भविष्यवाणी गर्न असम्भवप्रायः बनाउँछ ।

हरारी आफूलाई सकेसम्म वस्तुनिष्ठ लेखकका रूपमा प्रस्तुत गर्न खोजेजस्तै देखिन्छन् । यो कुरा थप स्पष्ट गर्ने हेतु साथ उनी प्रस्तुत विचार आफ्ना नभएर डेटावादीका विश्व दृष्टिकोण भएको भन्ने कष्ट पनि गर्छन् । लगत्तै उनी असाध्यै चतुर्‍याइँ साथ थप्छन्, ‘डेटावादीको दृष्टिकोण तपाईंलाई कुनै अनौठो र केवल गफजस्तै लाग्न सक्छ, तर वास्तवमा यो दृष्टिकोणले यसअघि नै वैज्ञानिक जगत्को अधिकांश भागमा विजय प्राप्त गरिसकेको छ ।’ 

तथ्यांकवादीको दृष्टिकोणलाई निश्चित निष्कर्षका रूपमा प्रस्तुत गर्दै (वैज्ञानिक जगत्को अधिकांश भागमा विजय प्राप्त गरेको दाबी गर्दै) उनले हामीलाई यो वस्तुनिष्ठ सत्य हो भन्न भ्याइसकेका हुन्छन् । यसका साथै उनी मानिस भनेका एल्गोरिदम हुन् र एल्गोरिदमले गरेको निर्णयको ग्रहणकर्ता बन्नुको विकल्प छैन पनि भन्न भ्याउँछन् । 

प्रख्यात समाज वैज्ञानिक सोसाना जुबोफले यो आर्थिक मोडललाई निगरानी पुँजीवाद भनेकी छन् । गुगल, फेसबुक, अमेजन, माइक्रोसफ्टलगायत अन्य निगरानी पुँजीवादी कम्पनी हामीले बाँच्न, काम गर्न र खेल्नका लागि निर्भर रहनुपर्ने प्रकारका डिजिटल प्लेटफर्महरू निर्माण गर्छन् ।

यस्ता ठुला–ठुला विषयलाई समर्थन गर्ने फुटनोट्समा हेर्दा हामी पाउँछौँ— उनले उद्धृत गरेका चार पुस्तकमध्ये तीनवटा गैरवैज्ञानिकले लेखेका छन् । तिनमा एउटा संगीत प्रचारक हुन्छन्, अर्को चलनचल्तीका प्रवृत्तिबारे भविष्यवेत्ता हुन्छन् र अर्को अखबारका प्रकाशक हुन्छन् ।

मानवताको भविष्यबारे केही पनि पूर्वनिर्धारित छैन । हाम्रो स्वायत्तता ब्रह्माण्डीय नियति वा भाग्यका कारणले होइन, बरु गुगलद्वारा आविष्कार गरिएको र फेसबुकद्वारा थप परिष्कृत गरिएको नयाँ आर्थिक मोडलका कारणले घटिरहेको छ । यो एउटा प्रकारको पुँजीवाद हो, जसले हामीलाई पैसाका लागि जसरी पनि चलाउन सकिने तरिका पत्ता लगाएको छ । 

प्रख्यात समाज वैज्ञानिक सोसाना जुबोफले यो आर्थिक मोडललाई निगरानी पुँजीवाद भनेकी छन् । गुगल, फेसबुक, अमेजन, माइक्रोसफ्टलगायत अन्य निगरानी पुँजीवादी कम्पनी हामीले बाँच्न, काम गर्न र खेल्नका लागि निर्भर रहनुपर्ने प्रकारका डिजिटल प्लेटफर्महरू निर्माण गर्छन् । यी कम्पनीले हाम्रो अनलाइन गतिविधिलाई मसिनो गरी निगरानी गर्छन् र त्यही सूचनाको प्रयोग गरेर हाम्रो व्यवहारलाई प्रभावित पार्छन् । र, त्यसैबाट उनीहरू अधिकतम नाफा कमाउन खोज्छन् ।

यसका सह–उत्पादनको रूपमा तिनीहरूका डिजिटल प्लेटफर्मले यस्ता इको–च्याम्बर सिर्जना गर्न मद्दत गरेका छन्, जसले जलवायु परिवर्तनलाई इन्कार गर्ने, विज्ञानप्रति शङ्का गर्ने र राजनीतिक ध्रुवीकरणलाई जन्माउने र बढावा दिन्छन् । प्रकृति वा प्रविधिको नियतिका रूपमा नभएर मान्छेको आविष्कारका रूपमा लिँदै जुवोफले यससँग जुध्ने तरिका पनि सुझाएकी छन् । तपाईं सहजै अनुमान गर्न सक्नुहुन्छ, हरारीको विपरीत जुबोफ सिलिकन भ्यालीमा मनपर्ने व्यक्तिमा पर्दिनन् ।

हरारीले सेपियन्स पुस्तकको सचित्र रूपान्तरणको दोस्रो खण्ड सन् २०२१ अक्टोबरमा जारी गरे । त्यसपछिका योजनामा सेपियन्स पुस्तकको बाल संस्करण, त्यही पुस्तकबाट प्रेरित बहु–सिजन टीभी–सो समावेश छन् । हाम्रो लोकप्रिय भविष्यवेत्ता निरन्तर नयाँ अनुयायीको खोजीमा छन् र यसका साथै उनी आफ्नो नाम र प्रभावलाई नयाँ उचाइमा पुर्‍याउन व्यग्र छन् । 

हरारीले हामीलाई आफ्नो कथावाचनले मोहित बनाएका छन् तर उनका कुरालाई नजिकबाट नियालेर हेर्दा उनले सनसनी सिर्जना गर्नलाई विज्ञानको बलि चढाएका छन् । उनी प्रायः गम्भीर तथ्यगत गल्ती गर्छन् र अनुमानका भरमा निश्चिन्त भएर त्यसलाई प्रस्तुत गर्छन् । 

उनले पेस गरेका कथनहरूको आधार अस्पष्ट छ । किनभने उनी प्रायः पर्याप्त फुटनोट वा सन्दर्भ प्रदान गर्दैनन् । र प्रस्तुत गरेको विचारहरू कसका हुन् भनेर खुलाउन कन्जुस्याइँ गर्छन् । र, सबैभन्दा खतरनाक उनले निगरानी यन्त्र चलाउने पुँजीवादी (सर्भिलेन्स क्यापिटालिस्ट)हरूको भाष्यलाई थप बलियो बनाइरहेका छन् । 

यसले तिनीहरूको व्यापारिक चासो अनुसार हाम्रो व्यवहारलाई चलाउन सहज बनाइदिन्छ । हामीलाई आजको संकट र भविष्यका सम्भावित संकटबाट जोगाउनका लागि हामीले युवल नोह हरारीको खतरनाक लोकप्रियतावादी विज्ञानलाई दृढतापूर्वक अस्वीकार गर्नुपर्नेछ ।

प्रिन्स्टन विश्वविद्यालयमा न्युरो साइन्समा अध्ययन गरेकी नारायणन हाल न्युयोर्क विश्वविद्यालयको इन्स्टिच्युट अफ पब्लिक नलेजमा आबद्ध छिन् ।

(करेन्ट अफेयर्सबाट)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दर्शना नारायणन
दर्शना नारायणन
लेखकबाट थप

छुटाउनुभयो कि ?