बुधबार, ०२ माघ २०८१
ताजा लोकप्रिय

उपसभामुख हटाउने कुराबाट कांग्रेस-एमाले आफैँ ब्याक हुन्छन्: प्रचण्ड

‘राजनीतिमा नेताको एक्जिट भन्ने हुँदैन’
शनिबार, २९ भदौ २०८१, १३ : २५
शनिबार, २९ भदौ २०८१

विराटनगर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपसभामुख इन्दिरा रानालाई हटाउने विषयबाट कांग्रेस–एमाले आफैँ ब्याक हुने  बताएका छन्।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने-  ´उपसभामुख एउटा इमानदार, जनजाति महिला, बालबच्चाको लागि ख्यातिप्राप्त हुनुहुन्छ । उहाँले टेक्निकल्ली केही कुरा नजानेर त्रुटि गर्नुभयो । त्यसको सजाय उपसभामुखबाट हटाउनेसम्म जानु हुँदैन भन्नेमा हामी दृढ छौँ । सायद उहाँलाई हटाउने कुराबाट कांग्रेस एमाले नै पछि हट्नु हुन्छ होला।’ 

अध्यक्ष प्रचण्डले संवैधानिक परिषदमा प्रधानन्यायाधीश सिफारिसका लागि ८ जनाको नाम सिफारिस भएको बताउँदै  सबै उक्त पदका लागि योग्य भएको बताए। तपाईँहरूले वरीयता मिच्न लाग्नु भएको कुरा छ नि ? भन्ने पत्रकारको प्रश्नमा उनले भने- ´प्रधानन्यायाधीशको सिफारिसका लागि ८ जनाको नाम आएको छ । हिजोको बैठकमा पनि सिनियारिटीलाई तोड्नुपर्छ भनेर कसैले भनेको छैन । त्यस्तो समस्या परेको केही छैन ।’

उनले संवैधानिक निकायमा रिक्त रहेका पदहरूमा एकैपटक नियुक्त गर्नु राम्रो हुने बताए । ‘एउटा एउटा गर्नु राम्रो हुँदैन भनेर मैले भनेको छु । सबै रिक्त रहेका संवैधानिक आयोगहरूमा पूर्ति गर्नुपर्छ भन्ने लागेको छ,’ उनले भने।

अध्यक्ष प्रचण्डले ‘हिंसा’ शब्दको विषयमा सदनमा भएको बहस नटुङ्गिएसम्म संसद् चल्न नदिने पनि बताए  । ‘एमालेका साथीहरूबाट जनयुद्धलाई ‘हिंसा’ भनेर अपव्याख्या गर्ने र भ्रम छर्ने काम भइरहेको छ । त्यो विषयको सम्बोधन नभएसम्म संसद्मा विरोध जारी रहन्छ,’ - उनले भने। 

उहाँले परिवर्तन जोगाउन आफ्नो पार्टीलाई राम्रोसँग तयार गर्नुपर्छ भनेर आफूहरू लागिरहेको उल्लेख गर्दै भने- ‘व्यवस्था र परिवर्तनको लागि धेरै त्याग गरेको हाम्रो पार्टी नै हो । त्यसैले परिवर्तन उल्ट्याउन नदिने गरी तयारी गर्नुपर्छ भनेर हामी लागेका छौँ ।` 

 अर्को एक प्रसङ्गमा उनले राजनीतिमा नेताको एक्जिट भन्ने नहुने बताए । ‘सच्चा राजनीतिज्ञहरू बाँचेसम्म राजनीति गर्छन् । मरेपछि पनि उनीहरूले राजनीति गरिरहन्छन् भन्ने दर्शन छ । नेतालाई विश्राम लिने छूट हुँदैन।´- उनले भने । अध्यक्ष प्रचण्डले आजै मोरङ र सुनसरीका विभिन्न पार्टी कार्यक्रमलाई सम्बोधन गर्नेछन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप