नगरवधू आम्रपाली कसरी भिक्षुणी भइन् ?

इतिहासका पाना पल्टाउँदै जाने हो भने हामीले अद्भुत र विलक्षण प्रतिभाका धनी थुप्रै नारी पाउँछौँ, जसको हामी कल्पना पनि गर्न सक्दैनौँ । तिनै नारीहरूमध्ये एक हुन्– आम्रपाली ।
लगभग ६००–५०० ईशापूर्वमा लिच्छवि गणतन्त्रको एक प्रमुख नगर वैशालीमा जन्मेकी आम्रपालीका बुबा–आमा को हुन् भन्ने कसैलाई थाहा छैन ।
उनको नाम आम्रपाली राख्नुमा पनि एउटा रहस्य लुकेको छ । उनलाई सानैमा कसैले वैशालीको एक शाही उद्यानमा रहेको एउटा आँपको रुखमुनि छाडेर गएको थियो । त्यसैले उनको नाम संस्कृतका दुई शब्दको संयोजनबाट बनेको छ— ‘अमरा’ (आँप) र पल्लवी (नयाँ पालुवा) ।
भनिन्छ, वैशाली नगरमा रातमा पहरा दिने सैनिक महानामनले एक बिहान आँपको रुखमुनि सेतो कपडाले बेरिएको अवस्थामा आम्रपालीलाई देखे ।
यति सुन्दर बच्चा कसले छाडेको होला ? आम्रपालीको असीम सौन्दर्य र रूपको आभाले महानामनमा वात्सल्य प्रेम पलायो । महानामनको विवाह गरेको नौ वर्ष भएको थियो, तर सन्तान भएका थिएनन् । उनले आम्रपालीलाई आफ्नै छोरी बनाएर हुर्काउने निर्णय गरे ।
वैशाली गणतन्त्रमा यस्तो कानुन थियो कि कुनै युवती धेरै सुन्दरी भइन् भने कुनै एक पुरुषले विवाह नगरेर राज्यका सबैका लागि सुरक्षित राखिन्थ्यो, अर्थात् नगरवधू बनाइन्थ्यो । यस कुराले महानामनलाई धेरै चिन्तित बनाएको थियो ।
यसैले महानामन दम्पतीले आम्रपालीलाई लिएर आफ्नो गाउँ अम्बारा गए । अम्बारा वैशालीको एउटा सानो गाउँ थियो । समय बित्दै गयो, आम्रपाली ११ वर्षकी भइन् । उनको अनुपम सौन्दर्यको बखान गाउँभन्दा परपर फैलिएको थियो । अग्ली, दूधजस्तो गोरो वर्ण, पातलो शरीर भएकी आम्रपालीलाई एक झलक देख्नका लागि पुरुषहरू मरिहत्ते गर्थे । आम्रपालीका साथीहरू धेरै थिए, तर मित्र एउटै थियो— पुष्पक कुमार । दुवै एक–अर्कोलाई ज्यादै मन पराउँदै थिए । दुवैले एक–अर्कालाई जीवनसाथी बनाउने पनि निर्णय गरेका थिए । यसमा महानामन पनि सहमत थिए ।
समय बित्दै जाँदा आम्रपालीलाई हुर्काउने–बढाउने आमाको मृत्यु भयो । महानामनको कुनै काम–पेसा थिएन । कामको खोजीमा उनी वैशाली जानका लागि हिँडे, साथमा ११ वर्षीया आम्रपाली पनि थिइन् । पानी परेर बाटो हिलो भएको थियो । उनीहरू थाकेर एउटा घना वृक्षमुनि गएर ओत लागे । त्यत्तिकैमा घोडाका टापका आवाज सुनिन थाले । उनीहरू झन् डराए । बालिका आम्रपालीलाई छातीमा च्यापेर वृद्ध महानामन रुखमा टाँसिएर बसिरहे । घोडसवारहरू पनि त्यही रुखमा ओत लाग्न आइपुगे । बिजुली चम्क्यो, त्यसको उज्यालोमा सिपाहीहरुले बाबुछोरीलाई देखे ।
त्यही बेला परेको चट्याङले महामानवको ज्यान लियो । सानैमा आमाबाबुविहीन भएकी आम्रपाली पुनः एकपल्ट टुहुरी हुन पुनिन् । ती सैनिकहरू, जो राज्यका सुरक्षाकर्मी थिए, उनीहरूले भने— ‘भगवान्ले जे गर्छन्, राम्रो गर्छन् । बुढो मरेर के भयो ? यति अद्भुत सुन्दरी हामीलाई छाडेर गएका छन् ।’
आम्रपालीको रूप देखेर राजसभाले उही निर्णय गर्यो, जो नहोस् भन्ने महानामनले चाहेका थिए । नगरवधू बन्ने सर्तमा उनलाई राज्यका तर्फबाट खान, बस्न र सुरक्षाको राम्रो प्रबन्ध गरियो ।
उनीहरूमध्ये एकले भन्यो, ‘यति धेरै सुन्दरी कसैकी पनि हुन सक्दिनन् । वैशालीको कानुन हामी सबैलाई थाहा छ नि ! यो कुरा राजालाई गएर हामीले भन्नुपर्छ ।
अनि उनीहरूले वैशाली गणराज्यको राजसभामा आम्रपाली पेस गरे । आम्रपालीको रूप देखेर राजसभाले उही निर्णय गर्यो, जो नहोस् भन्ने महानामनले चाहेका थिए । नगरवधू बन्ने सर्तमा उनलाई राज्यका तर्फबाट खान, बस्न र सुरक्षाको राम्रो प्रबन्ध गरियो ।
आम्रपाली सुन्दरतासँगसँगै नृत्यमा पनि पारङ्गत थिइन् । उनको नृत्यको चर्चा देश–विदेशमा पनि फैलिएको थियो । उनको नृत्यमा अरुलाई मन्त्रमुग्ध बनाउने शक्ति थियो । वैशालीका राजा मनु देवले पनि एकचोटि आम्रपालीको नृत्य हेरे र उनको मनमा पनि आम्रपालीलाई पाउने इच्छा जाग्यो । यसैले आम्रपालीलाई राज नर्तकी बनाइयो । उनी महलमा बस्न थालिन् ।
आम्रपाली जीवनमा दोस्रोपटक प्रेममा परिन् । जो शत्रु देश मगधका राजा बिम्बिसार थिए । बिम्बिसारले वैशाली राज्यमा हमला गरे र रूप बदलेर आम्रपालीको सामु गए । बिम्बिसारलाई आम्रपालीले पनि मन पराइन् । उनलाई थाहा थिएन कि बिम्बिसार वैशालीमा लडाइँ गर्न आएका राजा हुन् भनेर ।
बिम्बिसारसँग केही हप्तासँगै बस्दा उनलाई सत्यता थाहा भयो । अनि आम्रपालीले बिम्बिसारलाई युद्ध रोक्न भनिन् ।बिम्बिसार आम्रपालीलाई बेहद प्रेम गर्थे । आम्रपालीले भनेपछि उनले युद्ध रोके ।
आम्रपालीले त्यसपछि बिम्बिसारबाट एक छोरो जन्माइन्, जसको नाम विमल कोन्डाना राखियो । केही समयपछि बिम्बिसारलाई रानीपट्टिका आफ्नै छोरा अजातशत्रुले मारिदिए ।
उनको छोरो विमल कोन्डाना पनि बढ्दै गए । आमा नगरबधु भएको उनलाई मन परेको थिएन । यता बिम्बिसारको मृत्युपछि आम्रपालीलाई वैराग्य आयो । महल, सुसारे, धन–सम्पत्ति सबै उनीसँग थियो । तर शान्ति, प्रेम र आनन्द थिएन । अनि उनी यसैको तलास गर्न थालिन् ।
त्यसबेला महात्मा बुद्ध वैशालीमै हुनुहुन्थ्यो । टाढा–टाढाबाट मानिस उहाँको दर्शनका लागि हिँडेरै आउँथे । आम्रपालीलाई पनि महात्मा बुद्धको दर्शन गर्ने इच्छा भयो । उनी दर्शनका लागि बुद्ध कहाँ गइन् । बुद्धको उपदेशले उनलाई धेरै प्रभावित गर्यो । अनि उनको मनमा साधना गर्ने भावना जाग्यो ।
उनले बुद्धलाई भनिन्— ‘भगवान्, म साधना गर्न चाहन्छु, तर सबैभन्दा ठुलो कुरा समय हो । मसँग समय छैन । हे कृपानाथ ! मेरा लागि हजुरले नै भक्ति साधना गर्ने कष्ट गर्नुभयो भने कृपा हुने थियो ।’
यो सुनेर बुद्ध केहीबेर चुप हुनुभयो । अनि केहीबेरपछि भन्नुभयो, ‘आम्रपाली ! तिमी एउटा काम गर । प्रतिदिन जति बत्ती तिम्रो महलमा बालिन्छन्, आजबाट त्यसको संख्या पाँच गुना बढाइदेऊ ।’
यो सुनेर आम्रपाली भन्छिन्, ‘यसबाट के हुन्छ, प्रभु ?’
बुद्धले भन्नुभयो, ‘यसबाट यो हुन्छ कि तिम्रो महलको उज्यालो यो उद्यानमा आइपुग्छ ।’
आम्रपाली भन्छिन्, ‘प्रभु ! तर यो कसरी सम्भव हुन्छ ? मेरो महल त यो उद्यानबाट धेरै टाढा छ । बिचमा यतिका घर छन् कि मेरो महलको उज्यालो यहाँसम्म बिल्कुलै आइपुग्दैन ।
भगवान् बुद्धले आम्रपालीलाई सम्झाउँदै भन्नुभयो, ‘तिमीले एकदम ठिक भन्यौ, तिम्रो महलमा बलेको बत्तीको उज्यालो यो उद्यानसम्म आइपुग्दैन । तिम्रो महलबाट यो उद्यानसम्म त्यो उज्यालो आइपुग्न धेरै गाह्रो छ । यो तिमीलाई पनि थाहा छ भने अब यो भन कि मेरो साधनाको उज्यालो तिमीसम्म कसरी पुग्न सक्छ ? तिमीलाई यो पनि थाहा छ कि जसले खाना खान्छ, उसैको पेट भरिन्छ । यसैले जसले साधना गर्छ, उसैलाई सिद्धि प्राप्त हुन्छ, आनन्द र प्रेम शान्ति प्राप्त हुन्छ । स्वयंभित्र जागृत नभईकन साधना गर्न सकिँदैन ।’
भगवान्को कुराले आम्रपाली नतमस्तक भइन् । आम्रपालीलाई बुद्धको कुराले धेरै छोयो ।
धम्म संघमा पहिले भिक्षुणीहरूलाई लिइँदैनथ्यो, यशोधरालाई पनि बुद्धले भिक्षुणी बनाउन इन्कार गर्नुभएको थियो, तर आम्रपालीको श्रद्धा, भक्ति र मनको विरक्तिपनबाट प्रभावित भएर आम्रपालीलाई पनि उहाँले संघमा प्रवेशको अधिकार दिनुभएको थियो ।
उनी बुद्धको पहिलो र सर्वश्रेष्ठ भिक्षुणी भइन् । उनको निवास बौद्ध भिक्षुको पहिलो बिहार बन्यो ।
कहावत यस्तो पनि छ कि एक बौद्ध भिक्षुलाई आम्रपाली प्रेम गर्थिन् । उनले त्यो भिक्षुलाई आफ्नो प्रेमका बारेमा भन्न धेरै कोसिस गरिन्, तर बुद्धको धार्मिक ज्ञानको अगाडि आम्रपाली नतमस्तक भइन् । खुद बौद्ध भिक्षुणी हुने फैसला लिएकी हुन् ।
इतिहासले जे भने पनि आम्रपाली पहिलो महिला बौद्ध भिक्षुणी थिइन् । त्यसपछि अन्य महिलाहरूले पनि भिक्षुणी बन्ने फैसला लिए र यसरी आम्रपालीलाई अन्त्यमा शान्ति प्राप्त भयो ।
जिन्दगीभरि आम्रपालीले धेरै दुःख देखिन् । सधैँ उनको रूप नै उनको खुसीको तगारो हुन्थ्यो ।
बौद्ध ग्रन्थ अंगुत्तरनिकायको सुत्तनिपातमा बुद्धको ‘उपदेश’ इङ्गित गरिएको छ, तीन वस्तुहरू गुप्त रूपले कार्य गर्छन्— नारी, ब्राह्मण–मन्त्र तथा मिथ्या सिद्धान्त । त्यस्तै तीन वस्तुहरू प्रत्यक्ष रूपले कार्य गर्छन्– सूर्य, चन्द्र तथा बौद्ध धर्म । अब विचार गरौँ कि बौद्ध मत अनुसार स्त्रीको आचरण सधैँ मिथ्या सिद्धान्त समान हुन्छ भने बुद्धले उनलाई भिक्षुणी बनाएर बौद्ध मतमा विकृति भित्र्याउने प्रयास किन गर्नुहुन्थ्यो ? आम्रपाली अति रूपवती थिइन्, यो सत्य हो तर उनलाई वेश्या या नगरवधू मात्र भन्नु बौद्ध ग्रन्थको एक सुशील स्त्रीको विरुद्ध अपमान पनि हो ।
भनिन्छ, शिष्य आनन्दको आग्रहमा बौद्ध संघमा स्त्रीहरूलाई प्रवेश दिन बुद्धले स्वीकार गर्नुभएको थियो । त्यसो हो भने, बुद्धभन्दा पनि ज्ञानी थिए त शिष्य आनन्द ? बौद्ध ग्रन्थ विनयपिटक चुल्लवग्गमा लेखिएको छ, ‘स्त्रीहरूलाई बौद्ध संघमा प्रवेश दिनाले बौद्ध धर्म पाँच सय वर्षसम्म मात्र टिक्छ । अतः स्त्रीहरू धर्मनाशक हुन् ।’
अब विवेकपूर्वक विचार गर्यौँ भने बौद्ध मतानुसार स्त्रीहरू धर्मनाशक हुन् भने बुद्धद्वारा आम्रपालीलाई दीक्षित गर्नुको उद्देश्य बुद्धद्वारा नै बौद्ध मतलाई विनाश गर्नु थियो त ?
अतः यी कुरामा विश्वास गर्न मनले मान्दैनन्, मनगढन्तेजस्तो लाग्छ । किनकि आम्रपालीजस्ती सुन्दर तथा जन्मजात संस्कारीलाई उनको आडमा समस्त स्त्री जातिलाई अपमानित गर्ने एक दुष्प्रयास मात्र हो यो । तर पनि समय, काल र परिस्थिति अनुसार इतिहासहरू लेखिन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्सामा अनलाइन जुवा खेलाउने एक जना भारतीय पक्राउ, अदालतबाट ५ दिनको म्याद थप
-
१२ बजे, १२ समाचार : ज्ञानेन्द्रको अभिव्यक्तिले संसदमा तरंगदेखि उर्जामन्त्रीको विरोध गर्ने कर्मचारीलाई हटाउन मन्त्रालयको ताकेतासम्म
-
१२ जना इन्स्पेक्टरको काज, पुल्चोकमा गम्भीरजंग थापा
-
ज्ञानेन्द्रको अभिव्यक्तिले तात्यो संसद् : माओवादी मौन, कांग्रेस–एमालेको प्रतिवाद
-
सशस्त्र प्रहरीकी इन्स्पेक्टर सन्तोषी महत मृत फेला, डीआईजीको नेतृत्वमा छानबिन समिति
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना