बुधबार, ०२ माघ २०८१
ताजा लोकप्रिय

ललित र सन्दीप चम्किँदा अभ्यास खेलमा नेपाल विजयी

शनिबार, २९ भदौ २०८१, १० : ४२
शनिबार, २९ भदौ २०८१

क्यानडा । आईसीसी क्रिकेट वर्ल्ड कप लिग–२ अन्तर्गतको शृङ्खला खेल्न क्यानडा पुगेको नेपाली क्रिकेट टोलीले अभ्यास खेलमा सहज जित हात पारेको छ । नेपाल क्रिकेट संघ क्यानका अनुसार नेपालले एचपी ज्यागुअर्सलाई ६६ रनले हराएको हो ।

नेपालले प्रस्तुत गरेको २ सय ४८ रनको लक्ष्य पछ्याउने क्रममा ज्यागुअर्स ३९  ओभरमा अलआउट हुँदै १ सय ८१ रन मात्र बनाउन सक्यो । टोलीका लागि अजयवीर सिंहले ७५ बलमा सर्वाधिक ५५ रन जोडे । 

त्यस्तै, नदिम मंजराले २९ रन तथा समित गोहिलले २० रन बनाए । नेपालका लागि ललित राजवंशीले ४ तथा सन्दीप लामिछानेले ३ विकेट लिए । कुशल मल्लले एक विकेट हात पारे ।

यसअघि पहिलो ब्याटिङ गरेको नेपालले ४७.५ ओभरमा सबै विकेट गुमाएर २ सय ४७ रन बनाएको थियो । नेपालका लागि अनिल कुमार शाहले ३७ बलमा ४७ रन बनाए ।

त्यस्तै, कुशल भुर्तेलले ६० बलमा ४१ रन जोडे कप्तान रोहित पौडेलले ३३ रन बनाए । ज्यागुअर्सका लागि सिल पटेल, इफ्रान सादत र जसकरण बतारले २–२ विकेट लिए ।

लिग–२ अन्तर्गत नेपालले क्यानडामा आफ्नो दोस्रो शृङ्खला खेल्न लागेको हो । यो शृङ्खलामा नेपाल र क्यानडाका अतिरिक्त ओमान पनि सहभागी हुनेछ ।

लिग–२ प्रतियोगिता एकदिवसीय ढाँचामा खेलाइन्छ । सोही अनुरूप नेपाली टोलीले क्यानडा भ्रमणका क्रममा कुल चारवटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नेछ । त्यो शृङ्खलामा तीनवटा राष्ट्रले कुल ६ खेल खेल्नेछन् ।

नेपालले आफ्नो पहिलो खेल सेप्टेम्बर १६ तारिखमा आयोजक राष्ट्र क्यानडासँग खेल्नेछ । शृङ्खलाको दोस्रो खेल सेप्टेम्बर १८ तारिखमा नेपाल र ओमानबिच खेलिने छ । सेप्टेम्बर २० मा हुने तेस्रो खेलमा आयोजक क्यानडाले ओमानको सामना गर्नेछ ।

यसैगरी, चौथो खेल सेप्टेम्बर २२ तारिखमा नेपाल र क्यानडाबिच खेलिने छ । शृङ्खलाको पाँचौँ खेल नेपाल र ओमानबिच सेप्टेम्बर २४ तारिखमा खेलिने छ । शृङ्खलाको छैटौँ तथा अन्तिम खेल सेप्टेम्बर २६ तारिखमा ओमान र क्यानडाबिच हुनेछ ।

एकदिवसीय शृङ्खला सकिएलगत्तै क्यानडामै त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृङ्खला पनि खेलिने छ । टी–२० शृङ्खलामा पनि यी तीन राष्ट्र नै सहभागी हुनेछन् । लिग–२ अन्तर्गतको प्रत्येक शृङ्खला सकिएलगत्तै त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेलिने परम्परा रहँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप