शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
पेट्रोलियम पदार्थ

यसरी भयो ६५८ लिटर डिजेल चोरी

ट्याङकर चालक र पम्प सञ्चालकको मिलेमतो
शुक्रबार, २८ भदौ २०८१, २१ : ३७
शुक्रबार, २८ भदौ २०८१

विराटनगर । पेट्रोलियम डिलर्स एशोसिएशन कोशीका महासचिव रुद्र कार्कीकै संलग्नतामा विराटनगरस्थित आयल निगमबाट डिजेल चोरी भएको फेला परेको छ । पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कर चालक र पेट्रोल पम्पका सञ्चालक समेत रहेका कार्कीको मिलेमतोमा ६५८ लिटर डिजेल चोरीको प्रयास गर्दा घटनाको रहस्योद्घाटन भएको छ ।

उक्त घटनाले यसअघि पनि पेट्रोलियम पदार्थ चोरी हुने गरेको आशङ्कालाई बल मिलेको छ । कार्की मोरङको बुढीगंगा गाउँपालिका–४ नेमुवास्थित राउल एण्ड निसम पेट्रोल पम्पका सञ्चालक हुन् । चोरी गरिएको इन्धन उनको पेट्रोल पम्पमा गएको थियो । उनको नेमुवासहित धरान र मोरङको अन्य विभिन्न स्थानमा पेट्रोल पम्प छ ।

बिहीबार आयल निगमबाट निस्किएको को१ख ७६६८ नम्बरको ट्याङकर बुढीगंगा–३ स्थित दुगड स्पाइसेजमा इन्धन पुर्याउन हिँडेको थियो । तर, चालक उर्लाबारी झारसाधी घर भएका २९ वर्षीय सवर्ण माझीले उक्त स्थानमा ट्याङ्कर लानु अगाडि नै राउल एण्ड निसम पेट्रोल पम्पमा पुगेर ६५८ लिटर तेल खन्याएका थिए ।

बिहीबार रातिको समयमा इन्धन बिक्री गरेको पाइएको नेपाल आयल निगम कोशी प्रदेश विराटनगरका सहायक प्रबन्धक सन्जय दाहालले बताए । दाहाल सहितको प्राविधिकले टोलीले शुक्रबार परीक्षण गर्दा ६५८ लिटर डिजेल ट्याङ्रको तीन नम्बर च्याम्बरबाट झिकेर उक्त पेट्रोल पम्पमा खन्याएको पाइएको हो ।

pakur

‘पाँच वटा च्याम्बर भएको ट्याङकर डिपोबाट दिउँसो चेक गरेर पठाउँदा एउटा च्याम्बरमा १४०.३ सेन्टीमिटर डिजेल थियो । तीन नम्बर च्याम्बर परीक्षण गर्दा ११७.२ सेन्टीमिटर आयो ।  १४०.३ सेन्टीमिटर तेल हुनुपर्ने हो । ३ नम्बर च्याम्बरबाट २३ सेन्टीमिटर अर्थात् ६५८ लिटर तेल कम पाइएको छ,’ जिल्ला प्रहरी कार्यालय मोरङमा शुक्रबार परीक्षण गरेपछि निगमको सहायक प्रबन्धक दाहालले भने ।

उक्त ट्याङ्करले दुहबीको पाथिभारा पेट्रोल पम्प, बाँसबारीको एसिया फ्युल, विराटनगरको डिविजया पेट्रोल पम्प, झोराहाटको न्यू कान्तिपुर पेट्रोल पम्प र दुगड एक्स्पाइसेजको डिजेल पम्पसम्म पुर्याउनुपर्ने थियो । मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्कीले पनि तेल तोरी भएको पाइएको बताए ।

‘अहिले चालक मात्रै नियन्त्रणमा छन् । थप अनुसन्धानपछि पेट्रोलियम पदार्थ खरिद गर्नेलाई पनि कारबाहीको दायरामा ल्याउँछौँ,’ उनले भने, ‘चोरीमा म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडि बढ्नेछ ।’

पेट्रोल पम्प सञ्चालक कार्कीलाई पनि प्रहरीले तेल मापन गर्ने समयमा खबर गरेको थियो । एकछिनमा आउँछु भनेका कार्की पछि मोबाइल अफ गरेर सम्र्पकविहीन भएको प्रहरीले जनाएको छ ।

नेपाल आयल निगम कोशी प्रदेश कार्यालय विराटनगरका प्रमुख नवविनोद पोखरेलले ढुवानीकर्ताले सम्बन्धी पम्पसम्म नपु¥याइ बिच बाटोबाटै इन्धन निकालेको पाएपछि घटनाको अनुसन्धानका लागि प्रहरीलाई जिम्मा लगाएको बताए ।

‘प्रहरीले गरेको अनुसन्धानपछि चोरी देखिए प्रहरीले नै कारबाहीको प्रक्रिया अगाडि बढाउँछ । अन्य केही भए हामीलाई पत्र पठाएपछि थप प्रक्रिया हामी अगाडि बढाउँछौँ,’ उनले भने ।

के हुन्छ कारबाही ?

Nepal oil

पेट्रोलियम पदार्थ चोरी गर्नेलाई मुलुकी अपराध संहिता २०७४ अनुसार कारबाही हुने व्यवस्था छ । उक्त ऐनको दफा २४२ (१) मा चोरी गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षदेखि सात वर्षसम्म कैद र बीस हजार रुपैयाँदेखि सत्तरी हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था छ ।

यस्तै उपदफा (२) मा उपदफा (१) मा लेखिएदेखि बाहेक अन्य अवस्थामा चोरी गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना हुने उल्लेख छ ।

दफा २४६ (१) मा कुनै सरकारी, सार्वजनिक वा निजी वस्तु वा सम्पत्ति चोरी गर्ने वा चोरी गरी प्राप्त गरेको वस्तु वा सम्पत्ति जानी–जानी किन्ने वा बेच्ने कार्य गर्ने व्यक्तिलाई यस परिच्छेद बमोजिमको कसुरमा हुने सजायमा थप एक वर्ष कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने उल्लेख छ ।

सोही दफाको उपदफा (२) मा उपदफा (१) बमोजिमको वस्तु वा सम्पत्तिको हानि, नोक्सानी भइसकेको रहेछ भने त्यसको बिगो बमोजिमको क्षतिपूर्ति समेत कसुरदारबाट भराउनु पर्ने उल्लेख छ । यस्तै उपदफा (३) मा उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्ति यकिन भएकोमा सोही व्यक्ति र त्यस्तो व्यक्ति यकिन नभएकोमा त्यस्तो काम गर्न उक्साउने वा आदेश दिने व्यक्तिले कसुर गरेको मानिने उल्लेख छ ।

नेपाल आयल निगमको पेट्रोलियम पदार्थ ढुवानी विनियमावली २०७३ को १७ मा ट्याङ्क, ट्रक र ढुवानीकर्ता निलम्बन रहने व्यवस्था छ । जसको बुँदा नम्बर (घ)मा कुनै ट्याङ्कले निगममा बुझाउनु अघि बाटोमा वा अन्य ठाउँमा पेट्रोलियम पदार्थ चोरी गर्दाकै अवस्थामा फेला परेमा निलम्बन हुने व्यवस्था छ । यस्तै बुँदा नम्बर १९ (क) मा निगमले दिएको आदेश, निर्देशनको पालना ढुवानीकर्ताबाट नभएमा पनि ढुवानीकर्ताको अनुमति खारेज गर्नसक्ने व्यवस्था छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप