बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

डेंगुबाट जोगिन घरसँगै कार्यालय वरिपरि पानी जम्न नदिउँ

शुक्रबार, २८ भदौ २०८१, २१ : २८
शुक्रबार, २८ भदौ २०८१

लगभग सबैलाई थाहा भएकै विषय हो । नेपालमा मनसुन सिजनमा डेंगु फैलिन्छ । यसको रोकथामका लागि तयारी गरिए पनि ‘एक्सन’मा प्रभावकारिता देखिँदैन । अहिले पनि देखिएको छैन, त्यो पो अचम्म छ त !

केही दिन यता डेंगु सङ्क्रमित सङ्ख्या हेर्ने हो भने ह्वात्तै बढेको छ । ‘सङ्क्रमण किन बढ्यो’मात्र भन्यौँ, एक्सनमा गएनौँ । अहिले पनि निरन्तर डेंगु सङ्क्रमित बढिरहेको छ । यसरी डेंगु सङ्क्रमित संख्या बढ्नुमा कतै हामी गम्भीर नभएको परिणाम पो हो कि भन्ने मलाई लाग्छ ।

आम नागरिकले पनि डेंगुलाई मतलब गरेका छैनौँ । लामखुट्टे नियन्त्रणमा अझै पनि त्यति धेरै ढिलो भइसकेको छैन । जति सकिन्छ छिटो लामखुट्टे नियन्त्रणमा लाग्नु पर्छ । लामखुट्टे नियन्त्रणमा नलागेसम्म डेंगु सङ्क्रमणलाई नियन्त्रण गर्न सकिँदैन । लामखुट्टेको सङ्ख्या निरन्तर रूपमा बढ्ने छ । डेंगु सङ्क्रमितको सङ्ख्या पनि निरन्तर रूपमा बढ्ने सम्भावना देखिन्छ ।

डेंगु गराउने लामखुट्टे दिउँसो सक्रिय हुने भएकाले तपाईं हामी कहाँ छौँ ? पहिला सौचौँ । तपाईं बस्ने वरिपरि पानी जमेको छ कि छैन ? अथवा खल्डाखुल्डी छ कि छैन ? काम गरेको ठाउँ, कार्यस्थलको कुरा गर्दैछु । किनकि यो बारेमा हामीले सोचेकै छैनौँ । तपाईंको वरिपरि वातावरणमा लामखु्टटेको सङ्ख्या बढेको छ कि छैन ? त्यसमा विचार गरौँ ।

घरको वरिपरि पानी जम्न नदिन ध्यान दिउँ । घरसँगै आफूले काम गर्ने कार्यालयमा पनि सरसफाइलाई ध्यान दिउँ । डेंगुबाट सजगता अपनाउन पानी जम्न नदिने काम साताको एक दिन गरौँ । दिउँसो नै डेंगु सर्ने लामखुट्टेले टोक्छ । दिउँसो हामी कार्यालयमै हुन्छौँ । त्यही कारणले कम्तीमा सातामा एक दिन भए पनि केही समय निकालेर लामखुट्टेका लार्भाहरू देखिने ठाउँ छ भने त्यो हुने अवस्था नबनाउँ । लामखुट्टेको लार्भा देखिएको छ भने त्यसलाई नष्ट गर्न तर्फ लागौँ । यतिमात्र गर्दा पनि डेंगु सङ्क्रमण धेरै कम हुन्छ ।

कुनै पनि ठाउँमा लामखुट्टेको वृद्धि वा विकास हुने अवस्था सिर्जना भएमा त्यहाँ डेंगु सङ्क्रमण बढी हुन्छ । जहाँ भए पनि बढी नै सङ्क्रमण फैलिन्छ । गण्डकी प्रदेशमा मात्रै होइन, जुनसुकै ठाउँमा पनि डेंगु फैलिन्छ । डेंगु प्रकोप कुनै पनि ठाउँमा हुन सक्छ । लामखुट्टे बस्ने जीवनचक्र बन्ने अवस्था सिर्जना भएमा लामखुट्टको वृद्धि हुने अवस्था हुन्छ  र डेंगु ‘आउट ब्रेक’ हुनसक्छ ।

जति धेरै लामखुट्टे बढ्यो, त्यति धेरै सङ्क्रमण फैलिन्छ । त्यो कारणले नै सङ्क्रमित सङ्ख्या बढेको छ । त्यसको लागि हामीले नै वातावरण सिर्जना गरेका छौँ ।

सार्वजनिक स्थलमा लामखुट्टेले नटोकोस् भन्नका लागि कपडा लगाएर हुन्छ कि, लामखुट्टेबाट जोगाउने मलम लगाएर हुन्छ कि, सार्वजनिक स्थलमा स्थानीय तहले सातामा एक पटक लामखुट्टे अथवा लार्भा नष्ट गरेर हुन्छ कि, यस्तो वातावरण बनाउन आवश्यक छ ।

सार्वजनिक स्थल र कार्यालयमा लामखुट्टे मार्ने अभियान चलाउनु पर्छ । व्यक्ति स्वयंले सतर्कता अपनाउनु पर्छ ।

(लेखक पुन सरुवारोग विशेषज्ञ हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. शेरबहादुर पुन
डा. शेरबहादुर पुन

पुन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्

लेखकबाट थप