बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
स्वास्थ्य

डेंगुबाट आठ महिनामा आठ हजार सङ्क्रमित

स्वास्थ्य मन्त्रालय भन्छ– जनता जगरुक हुन सकेनन्
शुक्रबार, २८ भदौ २०८१, २० : ५९
शुक्रबार, २८ भदौ २०८१

काठमाडौँ । नेपालमा डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दो छ । सन् २०२४ जनवरी महिनामा २४३ जनामा डेंगु सङ्क्रमण भएको थियो । जबकि सेप्टेम्बर महिनाको ११ दिनमा एक हजार ३३१ जनामा सङ्क्रमण पाइएको छ ।

गत महिना (अगस्ट)मा मात्रै ४ हजार २२६ जना डेंगु सङ्क्रमित भएका छन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार जनवरी महिनायता देशभर ८ हजार १५९ जनामा डेंगु सङ्क्रमण फैलिएको छ । डेंगु सङ्क्रमण अझै बढ्न सक्ने चिकित्सकले बताएका छन् ।

सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले नियन्त्रणका लागि अपनाइने स्वास्थ्य सावधानीमा लापरबाहीकै कारण सङ्क्रमण बढेको बताए । उनले नेपालमा विगत वर्षदेखि मनसुनमा विषेशतः डेंगु सङ्क्रमणको सङ्ख्या बढेको सरकार तथा आम मानिसलाई जानकारी हुँदासमेत सावधानी नअपनाइएको बताए । ‘नेपालमा मनसुन सिजनमा डेंगु फैलिन्छ । यसको तयारी गरिए पनि एक्सनमा देखिँदैन,’ उनले भने ।

सरकारले डेंगु सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या शून्यमा झार्ने लक्ष्य लिए पनि ८ हजार १५९ जनामा डेंगु सङ्क्रमण भइ पाँच जनाको मृत्युसमेत भइसकेको छ । तर मृतकमा डेंगुमात्र नभइ मिर्गौला, प्रेसर, मुटु लगायत दीर्घरोग पनि रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी बताउँछन् ।

नेपालमा डेंगु सङ्क्रमणको सङ्ख्या बढ्दै जानुमा नागरिक सचेत हुन नसक्नु मुख्य कारण रहेको बुढाथोकीको तर्क छ । ‘सरकारले डेंगुबाट हुने मृत्यु शून्यमा झार्ने लक्ष्य राख्यो,’ उनले भने, ‘त्यस अनुसार प्रयास पनि गरेको हो तर जनताले व्यावहारिक रूपमा डेंगुबाट जोगिने उपाय नअपनाउँदा सङ्क्रमित बढ्नुका साथै मृत्यु भएको हो ।’

डेंगु नियन्त्रणका लागि सरकारी पहल

सरकारले केन्द्रदेखि स्थानीय तहमा डेंगु नियन्त्रणका लागि ‘खोज र नष्ट गरौँ ’ भन्ने अभियान चलाएको छ । तर यो अभियान सरकारी तवरमा मात्रै सीमित भएको छ । आम नागरिकले यसलाई अवलम्बन गर्न सकेका छैनन् । मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीका अनुसार स्थानीय तह, प्रदेशमा ‘खोज र नष्ट गरौँ’ अभियानका लागि बजेटसमेत पठाइएको छ । स्थानीय तहमा करिब ८ करोड रुपैयाँ उपलब्ध गराएको, किटको व्यवस्था गरेको, झुल वितरण गरिएको, विभिन्न जनचेतनामुलक सन्देश प्रवाह गरिएको उनले जानकारी दिए ।

यस्तै, स्वास्थ्य स्वायंसेविका, पालिका स्तरका जनप्रतिनिधि लगायतलाई तालिम दिइएको उनको भनाइ छ । ‘प्रदेश र स्थानीय तहमा ७ करोड ९० लाख रुपैयाँ पठाइयो,’ उनले भने, ‘तर जनताले त्यो लिन सकेनन्, संघीय अस्पतालका ९ सयभन्दा बढीलाई तालिम दिइयो । स्वास्थ्य स्वयंसेविकालाई पनि तालिम दिइयो । १२९ पालिकास्तरमा ओरेन्टनसन दिइयो तर लागु हुन सकेन ।’

सरकारले डेंगु नियन्त्रणका लागि सबैले काम गर्दागर्दै पनि सोचे अनुसार उपलब्धि हुन नसक्नुमा जनताले सचेतना लागु नगर्नु नै मुख्य कारण रहेको डा. बुढाथोकी बताउँछन् ।

गत वर्षको तुलनामा घट्यो डेंगु सङ्क्रमित सङ्ख्या

नेपालमा गत वर्षको तुलनामा डेंगु सङ्क्रमित सङ्ख्या घटेको देखिन्छ । सन् २०२३ को जनवरीमा १३३ मा देखिएको डेंगु सङ्क्रमण सन् २०२४ को  जनवरीमा २४३ जनामा देखिएको छ । गत वर्षको अगस्टमा १४ हजार ५३४ जनामा पुष्टि भएको डेंगु गत अगस्टमा ४ हजार २२६ जनामा देखिएको हो । यस्तै गत वर्षको सेप्टेम्बरमा १३ हजार ९१२ जनामा देखिएको डेंगु यो सेप्टेम्बरमा ११ तारिक सम्ममा १ हजार ३३१ जनामा पाइएको छ ।

यसो हुनुमा सरकारी पहलकै भूमिका मुख्य रहेको मन्त्रालयका प्रवक्ता डा. बुढाथोकी दाबी गर्छन् । ‘सरकारी पहलका कारणले गत वर्षको तुलनामा सङ्क्रमित सङ्ख्या घटेको छ,’ उनले भने, ‘गत वर्ष १४ हजारभन्दा बढीमा सङ्क्रमण देखिएको थियो । यो वर्ष ४ हजारमा सीमित छ ।’

गत वर्ष र यो वर्षको आठ महिनाको डेंगु सङ्क्रमित सङ्ख्या विवरणः

dd

डेंगुबाट मृत्यु हुनेको सङ्ख्या शून्यमा झार्ने सरकारी लक्ष्य असफल

डेंगुबाट मृत्यु हुनेको सङ्ख्या शून्यमा झार्ने सरकारी लक्ष्य छ । तर यो वर्ष ८ हजार १५९ जनामध्ये पाँच जनाको मृत्यु भइसकेको छ ।

सन् २०१९ मा देशभर १७ हजार ९९२ जनामा डेंगु पुष्टि भएको थियो । सन् २०२० र २०२१ मा डेंगुका बिरामीको सङ्ख्या ह्वात्तै घटेको देखिन्छ । सन् २०२० मा ५३० जनामा डेंगु पुष्टि भएको थियो भने २०२१ मा ५४० जनामा देखिएको सरकारी तथ्याङ्क छ ।

सन् २०२० र २०२१ मा कोरोना महामारीका कारण मानिसको चहलपहल कम हुँदा डेंगु सङ्क्रमण धेरै फैलिन नपाएको विज्ञहरूको भनाइ छ । तर सन् २०२२ मा डेंगुका बिरामी अचानक बढेको तथ्याङ्कले देखाउँछ ।

सन् २०२२ मा देशभर ५४ हजार ७८४ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको थियो भने ८८ जनाको मृत्यु भएको सरकारी तथ्याङ्कमा उल्लेख छ । सन् २०२३ मा डेंगु सङ्क्रमण हुनेको सङ्ख्या ५१ हजार २४३ जना थियो भने २० जनाको मृत्यु भएको थियो ।

सचेत बनौँ

डेंगु सङ्क्रमणबाट जोगिन नागरिकस्तरमा सचेत हुन जरुरी रहेको विज्ञ बताउँछन् । सरकारको एकोहोरो पहलले मात्रै नभइ नागरिक आफैँ सचेत हुनुपर्ने चिकित्सकले सुझाएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले आम नागरिकलाई शरीर ढाक्ने कपडा लगाउन, झुल प्रयोग गर्न, कार्यालय वा घर वरिपरि पानी जम्न नदिन, सातामा एकदिन कार्यालय वा घर वरिपरि सरसफाइ गर्न, झ्याल र ढोकामा जाली लगाउन सुझाव दिए ।

‘अहिले पनि कतिपय मानिस हाफ टिसर्ट, हाफ पाइन्ट लगाएर हिँड्छन्,’ उनले भने, ‘डेंगु गराउने लामखुट्टेले दिउँसो टोक्छ भन्ने सबैलाई थाहा छ तर सामान्य विषयमा पनि ध्यान दिँदैनन् ।’

डा. पुनका अनुसार नागरिकस्तरमै लामखुट्टे नियन्त्रणमा नलागेसम्म सङ्क्रमण नियन्त्रण गर्न सकिँदैन । उनले भने, ‘यसो नगरेसम्म डेंगु सङ्क्रमितको सङ्ख्या पनि निरन्तर बढ्ने छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप