बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
पल्सर स्पोर्ट्स अवार्ड

पल्सर स्पोर्ट्स अवार्ड : रोहित सर्वोत्कृष्ट पुरुष खेलाडी बन्दा कुमारलाई ‘स्पेशल अवार्ड’

पलेशाले जितिन् पारा एथलिट सम्मान
शुक्रबार, २८ भदौ २०८१, १९ : २०
शुक्रबार, २८ भदौ २०८१

काठमाडौँ । ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०८०’ शुक्रबार विभिन्न विधामा अवार्ड वितरण गर्दै सम्पन्न भएको छ ।  काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको कार्यक्रममा वर्षको सर्वोत्कृष्ट पुरुष खेलाडीको अवार्ड नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले जितेको आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले जनाएको छ । उनले पल्सर एनएस २०० मोटरसाइकल पुरस्कार पाए ।

२०८० सालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको उत्कृष्ट प्रदर्शन र नतिजाका आधारमा उनी वर्षको सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् ।

सो सूचीमा दीपेन्द्रसिंह ऐरी (क्रिकेट), मोहम्मद सेखु आलम (कराँते), अनन्त तामाङ (फुटबल) र सुवास तामाङ (गल्फ) समेत परेपनि पौडेलले बाजी मारेका हुन् ।

पौडेलले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट २५ खेल खेल्दै सर्वाधिक ६ सय ८० रन बनाएका थिए । यस क्रममा उनले पाँच अर्धसतक पनि प्रहार गरेका थिए ।

रोहितले १३३ भन्दा माथिको स्ट्राइकर रेटमा रन बनाएका थिए । उनले बलिङतर्फ चार विकेट पनि लिएका थिए । उनी २०८० सालमा एकदिवसीय संरचनामा पनि दोस्रो सर्वाधिक रन बनाउने खेलाडी हुन् ।

उनले एकदिवसीयतर्फ २३ खेलमा २५ को औसतले कुल पाँच सय २५ रन बनाएका थिए । यस क्रममा उनले तीन अर्धसतक बनाएका थिए भने १० वटा विकेट पनि लिएका थिए । नेपाललाई एसीसी प्रिमियर कपको विजेता बनाउन पनि उनको भूमिका महत्त्वपूर्ण रहेको थियो ।

रोहितकै कप्तानीमा नेपालले पहिलो पटक भारत, पाकिस्तानजस्ता बलिया टेस्ट राष्ट्र सम्मिलित एसिया कप पनि खेलेको थियो । उनकै कप्तानीमा नेपाल १० वर्षपछि आईसीसी टी–२० विश्वकपमा पनि छनोट भएको थियो र विश्वकप पनि खेलेको थियो ।

यसैगरी सर्वोत्कृष्ट प्रशिक्षकको अवार्ड कराँतेका कुशल श्रेष्ठले जितेका छन् । उनले पनि पल्सर एनएस २०० मोटरसाइकल पुरस्कार पाए ।

उनले पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामा, क्रिकेट प्रशिक्षक मोन्टी देसाई, कबड्डी प्रशिक्षक पार्वती राई र भारोत्तोलन प्रशिक्षक सञ्जय मर्हजनलाई पछि पार्दै सर्वोत्कृष्ट प्रशिक्षकको अवार्ड हात पारेका हुन् ।

कुशलले १९औँ एसियाली खेलकुदमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनले इन्डोनेसियाको जाकार्तामा सम्पन्न विश्व सितोरियो कराँते च्याम्पियनसिपमा नेपाललाई एक स्वर्ण, तीन रजत र पाँच कांस्य पदक दिलाएका थिए ।

कुशलले सातौँ एसियन कराँते च्याम्पियनसिपमा पनि नेपाललाई २९ स्वर्ण, २५ रजत र सातवटा कांस्य पदक दिलाएका थिए । यसका अतिरिक्त उनले अमेरिकामा भएको यूएस ओपन कराँते च्याम्पियनसिपमा पनि नेपाललाई एक स्वर्ण र एक रजत पदक जिताएका थिए ।

यसैगरी पारा एथलिट सम्मान पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले जितेकी छन् । उनले एक लाख रुपैयाँ नगद र गिफ्ट ह्याम्पर प्राप्त गरिन् ।

पलेशा छनोट चरण पार गर्दै पारा ओलम्पिकमा सहभागिता जनाउने पहिलो नेपाली खेलाडी हुन् । चीनमा सम्पन्न एसियाली क्षेत्रको छनोट प्रतियोगितामा स्वर्ण पदक जित्दै पलेशा पेरिस पारा ओलम्पिकमा छनोट भएकी थिइन् ।

पलेशाले पारा ओलम्पिक खेलकुदमा सहभागिता जनाएको यो लगातार दोस्रो पटक हो । उनले चीनमा सम्पन्न पेरिस ओलम्पिकको एसियाली छनोटमा के–४४ अन्तर्गत महिलातर्फको ५७ केजीभन्दा मुनिको तौलसमूहमा स्वर्ण पदक जितेकी थिइन् ।

पलेशाले फाइनलमा इरानकी खेलाडीलाई हराएकी थिइन् । पलेशाले त्यसअघि जापानको टोकियोमा सम्पन्न पारा ओलम्पिक पनि खेलेकी थिइन् । टोकियो पारा ओलम्पिकमा पनि उनले आफ्नो स्पर्धामा दुई बाउट जितेर गतिलो चर्चा बटुलेकी थिइन् ।

‘वाइल्ड कार्ड’ मार्फत टोकियो ओलम्पिकमा सहभागिता जनाएकी पलेशाले अमेरिकाकी ब्रियाना सालिनारालाई १०–० स्कोरले हराएकी थिइन् । उनले अर्को खेलमा सर्बियाकी मासिजा मिसेभलाई २३–१८ स्कोरले पराजित गरेकी थिइन् । कांश्य पदकका लागि भएको भिडन्तमा उनी चीनकी खेलाडी युजी लीसँग ९–१२ स्कोरले पराजित भएकी थिइन् ।

पलेशा सन् २०२३ मा चीनमा सम्पन्न एसियाली पारा खेलकुद प्रतियोगितामा देशका लागि ऐतिहासिक कांस्य पदक जित्ने खेलाडी पनि हुन् । त्यसअघि कुनै पनि खेलाडीले एसियाली पारा खेलकुदमा पदक जित्न सकेको थिएनन् ।

एरिका सर्वोत्कृष्ट महिला खेलाडी

यसैगरी वर्षको सर्वोत्कृष्ट महिला खेलाडीको अवार्ड कराँते खेलाडी एरिका गुरुङले जितेकी छन् । उनले पल्सर एनएस २०० मोटरसाइकल पुरस्कार पाइन् ।

२०८० सालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको उत्कृष्ट प्रदर्शन र नतिजाका आधारमा उनी वर्षको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी हुन् । उनले साबित्रा भण्डारी (फुटबल), रुबिना क्षेत्री (क्रिकेट), सन्तोषी श्रेष्ठ ९एथलेटिक्स० र मेनुका राजवंशी (कबड्डी) लाई पछि पार्दै सर्वोत्कृष्ट महिला खेलाडीको अवार्ड हात पारेकी हुन् ।

उदीयमान कराँते खेलाडी एरिकाले चीनको हाङचाउमा सम्पन्न १९औँ एसियाली खेलकुदमा देशका लागि ऐतिहासिक रजत पदक जितेकी थिइन् । एसियाली खेलकुदमा उनले महिला ६८ केजी तौलसमूहमा रजत जितेकी थिइन् ।

एरिका एसियाडको व्यक्तिगत स्पर्धामा रजत पदक जित्ने दोस्रो नेपाली खेलाडी हुन् । उनी एसियाली खेलकुदमा रजत पदक जित्ने पहिलो नेपाली कराँते खेलाडी पनि हुन् । उनले अमेरिकामा सम्पन्न यूएस ओपन कराँतेमा पनि एक स्वर्ण र एक रजत पदक हात पारेकी थिइन् ।

यसका अतिरिक्त एरिकाले इन्डोनेसियाको जाकार्तामा सम्पन्न विश्व सितोरियो कराँते च्याम्पियनसिपमा पनि स्वर्ण पदक चुमेकी थिइन् । उनी १९औँ एसियन गेम्स ओपन राष्ट्रिय कराँते च्याम्पियनसिप र १९औँ एसियन गेम्सको छनोट प्रतियोगितामा पनि पहिलो भएकी थिइन् ।

यसैगरी पिपल्स च्वाइस अवार्ड भलिबलकी कविता भट्टले जितेकी छन् । पिपल्स च्वाइस विधाको विजेता उनले पल्सर एनएस ४०० मोटरसाइकल पुरस्कार पाइन् ।

२०८० सालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको उत्कृष्ट प्रदर्शन र नतिजाका आधारमा पिपल्स च्वाइस अवार्डका लागि उनी मनोनयनमा परेकी थिइन् ।  उनले पिपल्स च्वाइस मनोनयनमा परेका पाँच खेलाडीमध्ये सबैभन्दा बढी मत प्राप्त गरेकी हुन् ।

 पिपल्स च्वाइस विधाका लागि फुटबलकी प्रीति राई, कबड्डीकी मानमति बिष्ट, रग्बीका श्रीराम श्रेष्ठ र क्रिकेटका गुलसन झा मनोनयनमा परेका थिए ।

यो विधाको विजेताको घोषणा ई–सेवाको भोटिङ, २९ वटा खेलका प्रमुख प्रशिक्षकको मत, एनएसजेफका सदस्यको मत र पल्सर स्पोटर््स अवार्ड तथा पल्सर नेपालको आधिकारिक फेसबुक पेजमा प्राप्त लाइकका आधार गरिएको हो ।

महिला भलिबलका अथक योद्धा कुमारलाई‘स्पेशल अवार्ड’

‘स्पेशल अवार्ड’ भलिबलकर्मी कुमार राईले पाए । उनलाई महिला भलिबलको विकासमा पु¥याएको योगदानको कदर गर्दै कुमार राईलाई स्पेशल अवार्ड प्रदान गरिएको हो । उनले एक लाख रुपैयाँ नगद र गिफ्ट ह्याम्पर प्राप्त गरे ।

नेपालमा महिला भलिबल खेलको विकासमा कुमार राईको योगदान उदाहरणीय छ । उनले देशभित्र थुप्रै प्रतिभाशाली महिला भलिबल खेलाडी तयार पारेका छन् । उनले तयार पारेका महिला खेलाडीहरु अहिले राष्ट्रिय टोली र विभिन्न क्लबहरुमा आबद्ध भएर महिला भलिबलमा सक्रिय छन् ।

यसैगरी ‘स्पोर्ट्स जर्नालिस्ट अवार्ड’ कोरियन खेल पत्रकारले जितेका छन् ।  कोरियन खेल पत्रकार ही दोङ जोङलाई उक्त अवार्ड प्रदान गरिएको हो । शुक्रबार काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको समारोहलाई उनलाई उक्त अवार्ड प्रदान गरियो ।

हेमन्त पाल वर्षको सर्वोत्कृष्ट युवा खेलाडी  

यसैगरी सर्वोत्कृष्ट युवा खेलाडीको अवार्ड भारोत्तोलनका हेमन्त पालले जितेका छन् । उनले पल्सर एनएस २०० मोटरसाइकल पुरस्कार पाए ।  उनले मनोनयनमा परेका अर्जुन कुमाल (क्रिकेट) र प्रीति राई (फुटबल)लाई पछि पार्दै सर्वोत्कृष्ट युवा खेलाडीको अवार्ड हात पारेका हुन् ।

१६ वर्षीय हेमन्त पालले भारतको नोयडामा सम्पन्न एसियन जुनियर भारोत्तोलन च्याम्पियनसिपमा कांस्य पदक जितेका थिए । उनले नेपाललाई एसियाली स्तरको अन्तर्राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा ३८ वर्षपछि पदक दिलाएका हुन् ।

यसअघि सन् १९८५ मा काठमाडौँमा सम्पन्न जुनियर च्याम्पियनसिपमा कञ्चनपुरका श्याम हमालले नेपाललाई कांस्य पदक दिलाएका थिए । हेमन्तले भारतमा भएको प्रतियोगितामा ७३ केजी तौलसमूहमा स्न्याचतर्फ ९७ केजी, क्लिन एन्ड जर्कतर्फ एक सय १० केजी र कुलमा दुई सय १० केजी भार उचालेका थिए ।

यस्तै महिला कबड्डी टोली उत्कृष्ट घोषित हुँदा ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ नेपाल क्रिकेट संघ (क्यान) का पूर्वअध्यक्ष विनयराज पाण्डेलाई प्रदान गरियो ।

नेपालमा क्रिकेट खेलको विकासमा पुर्‍याएको योगदानको कदर गर्दै नेपाल खेलकुद पत्रकार मञ्चले उनलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरेको हो । नेपालमा क्रिकेट खेलको विकासमा उनले महत्त्वपूर्ण योगदान पुर्‍याएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोशन राउत
रोशन राउत
लेखकबाट थप