बुधबार, ०२ माघ २०८१
ताजा लोकप्रिय

हज यात्राबाट बचेको रकम फिर्ता गर्दै हज समिति

शुक्रबार, २८ भदौ २०८१, १८ : ३८
शुक्रबार, २८ भदौ २०८१

काठमाडौँ । नेपाल हज समितिले हज यात्राबाट बचत भएको रकम सबै यात्रुहरूलाई फिर्ता गर्ने भएको छ । रकम फिर्ता गर्नका लागि समिति सचिवालयले सूचना जारी गरेको छ । समितिले यस पटक प्रतिव्यक्ति २३ हजार ४०० रुपैयाँ फिर्ता गर्ने भएको छ ।

समिति सचिवालयले पत्रकार सम्मेलन गर्दै भर्खरै सम्पन्न भएको हज यात्रा सुखद र सफल भएको बताएको छ ।

‘यो वर्ष हामीले हज यात्रीलाई मक्का नजिक राख्न सफल भयौ । खानाको मेनुमा पनि धेरै परिवर्तन ल्यायौँ । बसाई अवधिमा यात्रुलाई कुनै पनि कठिनाइ हुन नदिनका लागि साउदी सरकार, साउदीस्थित नेपाली दूतावाससँग सहकार्य गर्‍यौँ’, अध्यक्ष इश्रा मूल्ला मियाँले भने ।

हजमा विभिन्न मुलकका मानिसहरुको सहभागिता हुन्छ । धेरै भिड हुने भएकाले खान, बस्न र स्वास्थ्य सम्बन्धी समस्या हुँदा व्यवस्थापन गर्न कठिन हुन्छ । तर, यस पटक सचिवालयले सबै व्यवस्थापन चुस्त राख्न सफल भएको अध्यक्ष मियाँले बताए ।

नेपालबाट हज यात्रामा जान थालेको ६१ वर्ष भयो । यो अवधिमा कमिटीले पहिलो पटक यात्रीलाई धेरै रकम फिर्ता गर्न सफल भएको उनले दाबी गरे । ‘म अध्यक्ष नियुक्त हुँदा पनि पारदर्शी प्रक्रियाबाट भए । मैले पनि आफूले गर्ने काम सबै पारदर्शी र कम खर्चिलो गर्ने कोसिस गरेको छु,’ उनले भने ।

समितिले प्रति व्यक्ति चार लाख १५ हजार रुपैयाँ संकलन गरेको थियो । तर, अनुमान गरे भन्दा खर्च कम भएपछि कमिटीले रकम फिर्ता गर्न लागेको हो । ‘रकम फिर्ता गर्नका लागि हामीले खाता नम्बर टिपाउन सूचना जारी गरेका छौ । नम्बर प्राप्त भएपछि हामी अनलाइन नै भुक्तानी गरिदिन्छौ, उनले भने ।

यो वर्षको हज यात्राको लागि नेपालले १२०० कोटा पाएको थियो । तर, जम्मा ७६४ जना मात्रै हज यात्रामा सहभागी भएको समितिका अध्यक्ष मियाँले बताए । आर्थिक मन्दीका कारण यो पटक हज यात्रामा कम व्यक्ति सहभागी भएको उनको भनाइ छ । हजमा यात्रामा दुई जना चिकित्सकको पनि सहभागिता थियो ।

आगामी वर्षको हज यात्राको लागि निवेदनको आव्हान

त्यसैगरी हज समितिले आगामी वर्षको हज यात्राको लागि आवेदन माग गरेको छ । आगामी वर्षको लागि पनि नेपालले १२०० कोटा प्राप्त गरेको हज कमिटीका सदस्य सचिव झन्कनाथ ढकालले बताए । उनका अनुसार साउदी अरबले सम्बन्धित मुलुकमा रहेका मुस्लिम समुदायको सङ्ख्याको आधारमा कोटा तोक्दै आएको छ । प्राप्त निवेदनको आधारमा हज यात्रामा जानेको सुची सार्वजनिक गरिने उनले बताए ।

त्यस्तै, आगामी वर्षको हज यात्राको अवधि छोट्याउने कमिटीको योजना रहेको उनले बताए । सामान्यता ४२ देखि ४४ दिनसम्म हज यात्राको अवधि हुन्छ । तर, ३२ दिनमा छोट्याउन सकिने पाइएपछि यसलाई छोट्याउन खोजेको उनले बताए । अवधि छोट्याउन खर्च पनि कम हुने, साधन र स्रोतको कम लाग्ने भएकोले सबै सल्लाह अनुसार अवधि छोट्याउन लागिएको ढकालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप