शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय
खेलकुद

एउटै पदकले पलेशालाई बनायो करोडपति

शुक्रबार, २८ भदौ २०८१, १४ : ३४
शुक्रबार, २८ भदौ २०८१

काठमाडौँ । विकसित राष्ट्रहरूमा खेलकुद भनेको नाम र दाम कमाउने सबैभन्दा गतिलो माध्यम हो । तर, नेपालमा भने केही समय अघिसम्म पनि अभिभावकहरू आफ्ना सन्तानलाई खेलकुदमा सक्रिय गराउन चाहँदैन थिए । खेलकुदमा सक्रिय भए आफ्ना सन्तानको भविष्य बिग्रन्छ भन्ने परम्परागत सोचाइ अभिभावकमा थियो ।

तर, पछिल्लो समय नेपाली खेलकुद क्षेत्र पनि क्रमशः व्यावसायिक बन्दै गएको छ । अहिले नेपालमा पनि थुप्रै खेलाडीले यही क्षेत्रमा लागेर गतिलो नाम र दाम कमाइरहेका छन् । यसको सबैभन्दा गतिलो उदाहरण हुन्, पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धन ।

फ्रान्सको पेरिसमा हालै सम्पन्न पारा ओलम्पिक खेलकुद प्रतियोगितामा देशका लागि ऐतिहासिक कांस्य पदक जित्ने तेक्वान्दो खेलाडी पलेशा स्वदेश फर्किएपछि उनको हौसला बढाउन विभिन्न सङ्घसंस्थाले उनलाई नगदसहित सम्मानित गरिरहेका छन् । उनले सो पदक जितेपछिको पुरस्कार रकमबाटै एक करोड रुपैयाँभन्दा बढी प्राप्त गरिसकेकी छन् ।

पेरिस पारा ओलम्पिकमा पलेशाले के–४४ समूहअन्तर्गत महिला ५७ केजीभन्दा मुनिको तौल समूहमा कांस्य पदक जितेकी थिइन् । कांस्य पदकका लागि भएको भिडन्तमा उनले सर्वियन प्रतिद्वन्द्वीलाई हराएकी थिइन् । ओलम्पिकमा कुनै पनि नेपाली खेलाडीले जितेको यो नै पहिलो पदक हो ।

त्यसैले पनि पलेशाको पदक सिंगो देशका लागि विशेष बन्न पुगेको छ । ओलम्पिकमा कांस्य पदक जितेवापत सरकारले उनलाई ६५ लाख रुपैयाँ पुरस्कार प्रदान गरेको छ । उनलाई शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले करसमेत कट्टी नगरी ६५ लाख रुपैयाँ पुरस्कार प्रदान गरे ।

पलेशा पेरिसबाट फर्किएकै दिन उनले राष्ट्रिय खेलकुद परिषदले सम्मान गरेको थियो । सोही दिन उनलाई काठमाडौँ महानगरपालिकाले पनि पाँच लाख रुपैयाँसहित सम्मान गरेको थियो । पलेशासँगै उनका प्रशिक्षक कविराज नेगी लामालाई पनि नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।

यसैगरी, एनसेलले पनि पलेशालाई देशका लागि ऐतिहासिक पदक जितेवापत १० लाख रुपैयाँ नगद पुरस्कारसहित सम्मान गर्ने घोषणा गरेको छ । यसैगरी नेपाल तेक्वान्दो संघले पनि उनलाई १० लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघले पनि उनलाई तीन लाख नगद पुरस्कारसहित सम्मान गरेको छ ।  

यसैगरी, नेपाली कांग्रेसले पनि पलेशालाई पाँच लाख रुपैयाँसहित सम्मान गरेको छ । राष्ट्रिय खेलकुद परिषद्ले आफ्नो वार्षिकोत्सवमा उनलाई ५० हजार रुपैयाँसहित सम्मान गरेको छ । रिपोटर्स क्लब नेपालले पनि पलेशालाई एक लाख रुपैयाँ नगदसहित सम्मान गरेको छ ।

महिला उद्यमी महासंघले पनि उनलाई ५० हजार रुपैयाँसहित सम्मान गरेको छ । यसका अतिरिक्त नेपाल पौडी संघका जगतबहादुर श्रेष्ठले पनि उनलाई व्यक्तिगत रूपमा ५० हजार रुपैयाँसहित सम्मान गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप