शुक्रबार, ०९ कात्तिक २०८१
ताजा लोकप्रिय
सहकारी प्रकरण

के हो लेखा समितिका सभापति पोखरेल जोडिएको सहकारी घोटाला काण्ड ?

सञ्चालक समिति सदस्य रहेका कारण पोखरेलकी श्रीमती अञ्जला कोइराला बैंकको कालोसूचीमा
शुक्रबार, २८ भदौ २०८१, ११ : ५६
शुक्रबार, २८ भदौ २०८१

विराटनगर । ‘केही भ्रष्ट र बिचौलियाहरूले, केही सञ्चार माध्यमको प्रयोग गरी अमुक सहकारीसँग जोडी इमानको चरित्र हत्या गर्न गरिएको भ्रामक दुष्प्रचारप्रति खेद व्यक्त गर्दछु,’ संघीय संसद् अन्तर्गत सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले बिहीबार सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरे ।

उनले स्टाटस लेख्नुपर्ने कारण हो– उमागौरी कृषि सहकारी संस्थामा भएको अनियमितता काण्डमा उनलाई जोडेर समाचार आउनु ।

मोरङको धनपालनाथ गाउँपालिका–४, कर्सिया बजारमा उमागौरी कृषि सहकारी संस्था छ । २०६८ सालमा स्थापना भएको यो सहकारी अहिले सङ्कटग्रस्त छ । सहकारीमा १२ करोड रुपैयाँ हिनामिना भएको छ ।

सो सहकारी संस्थामा सभापति पोखरेलकी पत्नी अञ्जला कोइराला कुनै बेला सञ्चालक समिति सदस्य थिइन् । त्यही बेला सहकारीले अन्य बैंकबाट ऋण लिएको थियो । तर सहकारीले बैंकलाई ऋण नतिरेपछि ऋण लिनेबेला जमानी बसेकी कोइरालालाई कालोसूचीमा राखेको छ ।

सहकारीकै कारण आफू कालोसूचीमा परेको अञ्जलाले बताइन् । ‘त्यसबेला राम्रो उद्देश्यले खोलेको भनेपछि सदस्य बसेको थिएँ, तर बैठकहरूमा सहभागी हुन पाइनँ । अध्यक्षले आफ्नो मनखुसी गरेका छन्,’ उनले भनिन्, ‘धेरै समय भयो मैले छोडेको । बैंकले के ग¥यो, सहकारीले के ग¥यो ? तपाईंहरू नै खोज तथा अनुसन्धान गर्न सक्नुहुन्छ । मलाई भन्दा पनि अध्यक्ष शम्भु रौनियारसँगै यसबारे सोध्नु होला ।’

आफूले धेरै अगाडि सहकारी छोडिसके पनि अहिले श्रीमान् ऋषिकेश पोखरेललाई जोडेर समाचार आउन थालेको कोइरालाको भनाइ छ । ‘मैले धेरै पहिले राजीनामा दिएको हो । तर, स्वीकृत नगरी राखिरहेको रहेछ । धेरै पछिमात्रै राजीनामा स्वीकृत भयो । अहिले यो समाचार किन आयो  ? माननीयज्यू (सभापति पोखरेल)लाई अप्ठ्यारो पार्न खोजेको हो कि के हो ? म जान्दिनँ,’ उनले भनिन् ।

स्रोतले दिएको जानकारी अनुसार सहकारीका अध्यक्ष रौनियारले करोडौँ रुपैयाँ कहाँ र कसरी लगानी गरेका छन् भन्ने विषय अन्योल छ । ‘बैंकहरूले पनि धितो मूल्याङ्कनभन्दा बढी रकम त्यो सहकारीलाई किन दिए भन्ने प्रश्न पनि उठेको छ । पहिले फिल्डमै लगानी भएको थियो । त्यही बेला कोरोना आयो,’ स्रोतले भन्यो, ‘त्यसबेला सहकारीले किस्ता तिर्न सकेन । लगानी उठेन । रहेको पैसा पनि अध्यक्ष रौनियारले जग्गामा हालेको भन्ने सुनेको छु ।’

उता, अध्यक्ष रौनियार भने सहकारीलाई व्यवस्थित बनाउनु पर्नेमा सहकारी रजिस्ट्रार कार्यालयले समस्या झनै बढाएको बताउँछन् । ‘रजिस्ट्रार कार्यालयलाई हामीले ऋण उठाउन सहयोग गर्नुप¥यो भनेको थियौँ । तर, विवरण नै नलिइ जे पायो त्यही भनिदिएको छ,’ उनले भने, ‘कतिपय पैसा अहिले पनि उठिरहेको छ । पैसा उठाउन धेरै बाँकी छ । पैसा तिर्न बाँकी रहेका मान्छेहरू नै बचत फिर्ता दिएन भनेर भनिरहेका छन् । मसँग सबै विवरण छ ।’

अब यो समस्या कसरी समाधान गर्नुहुन्छ भन्ने प्रश्नमा रौनियारले संस्थागत कर्जा लगानी भएको पैसा उठ्नुपर्ने बताए । ‘हामीले सबैलाई चिठी काटेर हुलाकबाट पठाएका छौँ,’ उनले भने । त्यस्तो ऋण डेढ–दुई करोड रहेको बताए । तर सहकारी १२ करोडभन्दा बढीले घाटामा छ ।

सहकारीको १८ करोड रुपैयाँ कुलपुँजी छ । अध्यक्ष रौनियारले सहकारीका सदस्यको जग्गामात्रै होइन, सहकारीबाट ऋण खाने सर्वसाधारणको पनि घरजग्गा धितोमा राखिदिएका छन् । सहकारीको नाममा विभिन्न बैंकमा ११ करोड ५६ लाख ७८ हजार रुपैयाँ ऋण छ ।

अञ्जला सहकारीको सञ्चालक भए पनि सम्पूर्ण कारोबार अध्यक्ष शम्भु रौनियारले नै गर्दथे । स्रोतले भनेको छ, ‘त्यसबेला सांसद पोखरेल र रौनियार एउटै गाडीमा हिँड्दथे । कारोबार उनीहरूको सल्लाहमै हुन्थ्यो । शिक्षण पेसामा आवद्ध कोइरालाको भने हस्ताक्षरमात्रै प्रयोग हुन्थ्यो ।’

सहकारीका कर्मचारीले आवश्यक परे कोइरालालाई विद्यालयमै गएर हस्ताक्षर गराउँथे । ‘उहाँहरूको दोस्ती सुरुमा निकै राम्रो थियो । सहकारी सञ्चालनमा पोखरेलले उहाँहरूलाई सहयोग गर्नुहुन्थ्यो,’  पोखरेल र रौनियारसँग निकट रहेको स्रोतले भन्यो, ‘सहकारी डुबेपछि भने सम्बन्धमा खटपट छ । रौनियार सार्वजनिक स्थानमा देखिँदैनन् ।’

Risikes

केही समय अगाडि पोखरेलले रौनियारलाई प्रहरी लगाएर केही दिन थुनामा समेत राखेको विश्वस्त स्रोत दाबी गर्छ ।

सो सहकारीले फिर्ता गर्नुपर्ने बचत २ करोड ३ लाख ५४ हजार १५६ रुपैयाँ छ । बचतकर्ताले बचत फिर्ता मागेपछि अहिले सहकारीको कार्यालय नै बन्द छ । १८ करोड ४९ लाख कुल पुँजी रहेको वासलातमा १७ करोड ८७ लाख ४२ हजार कर्जा तथा सापट लगानी रहेको देखाइएको छ ।

कोशी प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालय इनरुवाका प्रमुख हरिबहादुर खत्रीका अनुसार उमा गौरीमा भएको अनियमितता अन्य सहकारीको भन्दा फरक छ । सदस्यहरूलाई दोहोरो ऋणी बनाइएको छ ।

‘यो सहकारीको ठगी नयाँ खालको छ । सहकारीमा ऋण माग्न पुगेका सदस्यहरूको सम्पत्ति बैंकमा राखेर ऋण निकालेको देखिन्छ,’ खत्रीले भने, ‘ऋणीले संस्थामा ऋण बुझाए । संस्थाले बैंकमा नबुझाएको देखिन्छ ।’

उनले उमागौरी कृषि सहकारी संस्था लिमिटेडले पूरा डकुमेन्ट नबुझाएको बताए । स्थापनाको समयको डकुमेन्ट भए पनि त्यसपछिका १० वर्षको डकुमेन्ट नरहेको उनको भनाइ छ ।

डकुमेन्ट नभएकै अवधिमा सांसद तथा सार्वजनिक लेखा समिति सभापतिकी श्रीमती अञ्जला सहकारीको सञ्चालक समिति सदस्य थिइन् । ‘यो सहकारीको कार्यालय खुल्दैन । कार्यालयमा कागजपत्र पनि भेटिँदैन । सबै डुकुमेन्ट अध्यक्षले साथमा राखेको देखिन्छ,’ खत्रीले भने, ‘हाम्रो कार्यालयमा पनि नियमित विवरण बुझाएको छैन । मैले नै त्यहाँ चार पटकसम्म पुगेर अनुगमन गर्दा कार्यालय बन्द रहेको देखिन्छ ।’

उता, उक्त सहकारीले बिहीबार एक सूचना जारी गर्दै पोखरेलकी श्रीमती अञ्जला कोइरालासँग सहकारीको कुनै कारोबार लिनु, दिनु नरहेको जनाएको छ । ‘समाचारमा कुनै सत्यता नभएको र त्यसको प्रमाणहरू आवश्यक परे सुरक्षित रहेको सबैमा जानकारी गराउँछौँ,’ उक्त सूचनामा उल्लेख छ । सभापति पोखरेलले झुटा प्रचारले आफ्नो इमान नसकिने बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप