मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय

बा, जवाफ दिनुपर्दैन ?

शुक्रबार, २८ भदौ २०८१, ११ : १७
शुक्रबार, २८ भदौ २०८१

१९९१ मा सोभियत संघको झन्डा अन्तिमपटक फहराइयोे । राष्ट्रपति मिखाइल गोर्बाचेभले राजीनामा दिँदै भने— हामी गृहयुद्धमा उन्मुख थियौँ । ठुलो विनाशको खतरा थियो । म सत्तामा बस्नुको कुनै अर्थ छैन । राजीनामा दिनु मेरो जित हो । 

उनले जति नै जित र प्रतिष्ठाको कुरा गरे पनि उनी रसियन सत्तामा कहिल्यै फर्किएनन् । एक हिसाबले यो सोभियत वैभवका विरुद्धको खुला आत्मसमर्पण थियो । जसले सोभियत भूमिमा कम्युनिस्ट पार्टीको झन्डा फेरि कहिल्यै उठ्न दिएन । 

भनिन्छ, सत्ता ‘अन्धो’ हुन्छ, तर हाम्रोमा सत्ता रतन्धो हुन्छ । जो सत्तामा बस्दा र प्रतिपक्षमा बस्दा देखाइका आयामहरू फरक–फरक नाप्छ र काँप्छ । हाम्रोमा बाहरू एक्कासि ‘बा’मा ‘घ’ थप्छन् र सिकारी बन्छन् । बाघको बुद्धिभन्दा बल हुन्छ । यसकारण भोलि आफैँसँग कुस्ती खेल्नेका तिघ्रामा मासु थपेको तिनलाई पत्तै हुँदैन । अहिले उपसभामुखका विरुद्ध बाले गर्न खोजेको अभ्यास यही विवेकहीनताको परकाष्ठा र संख्याको बल मिच्याइँले लोकतन्त्रमाथि गर्न थालिएको गम्भीर हमला हो । 

उपसभामुखका बारेमा हिजो नबोलेका बा आज कसरी ब्युँझिए ? यसको पछाडि कारण एउटै छ । राजनीतिमा आफूमाथि उठेका प्रश्नलाई विषयान्तर गर्नु र सकेसम्म कार्यकर्ता भिडाएर आफ्नो किल्लाका कार्यकर्तालाई सुरक्षित गर्नु, तर समय हिजोको जस्तो वा बाले आकलन गरे जस्तो छैन । एउटा सानो विद्रोहको झिल्को सडकमा उठ्यो भने त्यसले धेरै कुराको छिनोफानो गर्न सक्ने असन्तुष्टिको भुङ्ग्रो जमिनमा छ र जुन भुङ्ग्रोले मिखाइल गोर्बाचेभको जस्तै भगाइमा बहादुरी देख्न सक्छ । 

दुनियाँलाई थाहा छ, बालाई प्रधानमन्त्री बनाउन कांग्रेसले त्यसै धाएको होइन । बेचन झालाई नेपालको सीमामा ल्याएर बुझाउन खोज्दा नबुझ्न प्रहरी, सेना र सशस्त्र प्रहरी प्रमुखलाई सबैभन्दा धेरै बा र ‘भाउजू’को संयुक्त दबाब थियो । तीन दिनअगाडि नेपालको सीमामा ल्याइपु-याइएका बेचन झा तीन दिनसम्म कहाँ लुकाइए ? लाजै लाग्ने परिस्थिति बनेपछि तत्कालीन सीआईबी प्रमुख तथा एआईजी श्याम ज्ञवालीमार्फत बेचन झा बल्ल प्रहरी हिरासतमा आए । त्यतिबेलासम्म सरकार बदल्ने सहमति बनिसकेको थियो । संसद्को सबैभन्दा ठुलो दल कांग्रेसले एमालेलाई दुई वर्ष दिएर आफू एक वर्ष त्यो पनि उधारो प्रधानमन्त्री हुन किन मन्जुर भयो । थाहा छ, ‘भाउजू’ जोगाउनुबाहेक कांग्रेससँग अर्को कुनै ध्येय थिएन । जसमा अहिलेका प्रमको सचिवालय जोडिएकोे बजार हल्लाका बारेमा बाको चिन्ता मनासिब नै थियो भन्ने तर्कको जवाफ बाले दिनुपर्दैन ? त्यसो हो भने उपसभामुखले त भिसाका लागि मिति भनेकी हुन् । तपाईंको सचिवालय र ‘भाउजू’ले त नेपाली नागरिकलाई भुटानी बनाएर अमेरिकी नागरिकता माग्नुभएको हो । तपाईंको सचिवालय र ‘भाउजू’माथि कारबाही हुनुनपर्ने कारण के छ ? बाले यसका बारेमा बोल्नुपर्दैन ?

उपसभामुखका बारेमा हिजो नबोलेका बा आज कसरी ब्युँझिए ? यसको पछाडि कारण एउटै छ । राजनीतिमा आफूमाथि उठेका प्रश्नलाई विषयान्तर गर्नु र सकेसम्म कार्यकर्ता भिडाएर आफ्नो किल्लाका कार्यकर्तालाई सुरक्षित गर्नु, तर समय हिजोको जस्तो वा बाले आकलन गरे जस्तो छैन ।


श्याम ज्ञवालीलाई समानान्तर हेडक्र्वाटर चलाएको भनेर किन अनुसन्धानमा राखियो ? कुरा प्रस्ट छ, बेचन झालाई बुझेपछि उनले सादा पोसाकका प्रहरी बुढानीलकण्ठ पठाएका थिए । त्यो दिन ‘भाउजू’ ललितपुरको भैँसेपाटीमा हुनुहुन्थ्यो । बुढानीलकण्ठमा प्रहरी पुगेको थाहा पाएपछि उहाँ सिधै बालकोट पुगेर तीन घन्टा बस्नुभयो । भाउजू र तपाईं मिलेर प्रचण्डमाथि कुको सहमति गर्नुभयो । भाउजूसँग गरिएको सहमति एकाएक प्रहरीभित्र फैलियो र बुढानीलकण्ठमा पुगेको प्रहरी राजनीतिक सहमतिको धरापमा परेर फर्कियो । आज उपसभामुख बारेमा तपाईंले प्रश्न उठाइरहँदा तपाईंकै मन्त्री मण्डलमा रहेकी ‘भाउजू’माथि महाअभियोग लगाउनुपर्छ कि पर्दैन ? बा यसको जवाफ के हो ? 

बिहान सबेरै बाले बालुवाटारको बाल्कोनीमा पुगेर प्रचण्डसँग स्वर्ग र नर्कसँगै जाने प्रेमिल कुरा गर्नुभयो । बेलुका ललितपुरका एक विवादास्पद मिडिया मालिकको घरमा बालुवाटारतिर फर्केर बाले कांग्रेससँग सत्ता साझेदारीको हस्ताक्षर गर्नुभयो । तपाईंले पश्चिम बंगाल बनिन्छ कि भनेर प्रचण्डलाई भनिरहँदा कतै तपाईं आफैँ गिरीबन्धु, यति ओम्नीमा जेल परिन्छ कि भन्ने भयले कामिरहनुभएको त थिएन ? प्रधानमन्त्री बनेको दिनदेखि तपाईंले आफ्ना भारदारहरूलाई संसद्मा र लेखा समितिमा चण्डी नाच्न किन अह्राउनुभयो ? नेकपा बनाउँदा र संविधान बनाउँदा महान् सशस्त्र संघर्ष देखेको मान्छेले किन संविधान अधीनस्थ संसद्मा हिंसा भनेर निहुँ खोज्न निर्देशन दिनुभयो ? यसको उद्देश्य एउटै हो । जितका लागि पहिला हमलाको सिद्धान्त । तर यो पहिलो विश्वयुद्धको सिद्धान्त हो । आज कैयौँपटक यो असफल प्रमाणित छ । बा यी र यस्ता हर्कतले तपाईं, देश र हामी कहाँ पुग्छौँ ? के कोही देशको प्रधानमन्त्री यस्तो हुन्छ ? हुँदैन । तपाईंले जमिन नटेक्दा नेपालका कम्युनिस्टले खेप्ने शास्ती कहिल्यै परिकल्पना गर्नुभएको छ ? बा यसको जवाफ दिनुपर्दैन । 
रुमानियाका राष्ट्रपति निकोलाई चाउचेस्कु आफूलाई अब्बल क्रान्तिकारी ठान्थे । उनले सन् १९६८ मा सोभियत संघले चेकोस्लाभाकियामाथि गरेको अतिक्रमणको खरो आलोचना गरे । उनलाई पश्चिम युरोपमा हिरो बनाइयो । तत्कालीन अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले उनका बारेमा भने— चाउचेस्कु कम्युनिस्ट हुन सक्छ, तर ऊ हाम्रो कम्युनिस्ट हो । 

तर उनै अमेरिकी हिरो पूर्वीयुरोपमा भएको प्रतिक्रान्तिसँगै रुमानियाको राजधानीमा गोली हानेर मारिए । साम्राज्यवादको जतिसुकै प्यारो भए पनि साम्राज्यवादीले कम्युनिस्टलाई बाँच्न दिँदैनन् । यही नै कम्युनिस्टहरूको नियति हो । बा, आज कम्युनिस्टका थुप्रै पार्टी होलान् तर तिनीहरूसँग जनमत छ । यो जनमत पछिल्लो विश्वलाई समाजवादको नवीनतम अभ्यास दिने आधार पनि हो । यसलाई यदुवंशी वितण्डामा तानेर अन्तरध्वंशको अवसर दिनु भनेको निक्खर साम्राज्यवादको प्रतिनिधि बन्नु हो । के तपाईं गोर्बाचेभ हो कि रोमानियाको चाउचेस्कु ? साम्राज्यवादले कम्युनिस्टलाई काखमा राखेर घाँटी अठ्याउने सिद्धान्तका बारेमा तपाईंलाई किन ख्याल नभएको ? होइन भने, साना दलको प्रतिनिधि उपसभामुखविरुद्ध कांग्रेस पोस्ने अभियान कसरी अग्रगमन हुन्छ ? लुटेराको गुँडमा बसेर कसरी सुशासनको खोजी हुन्छ ? बा, यसको जवाफ दिनुपर्दैन?

युग बदल्न कम्युनिस्ट भएकाहरूले वर्ग मित्र र वर्ग शत्रुलाई चिन्दछन् । अपराध नसहने वा नगर्नेहरू रातो झन्डा जमिनमा होस् कि आकाशमा त्यो फर्फराउँदा उज्याला हुन्छन् । तपाईं यो झन्डालाई ‘भाउजू’को दैलोमा झुकाएर कति दिन हाँस्नुहुन्छ । कति दिन झुटको हल्ला गरेर देशलाई समृद्धि र सुशासनको बाटोबाट विचलित बनाइरहनुहुन्छ ? तपाईंको पुस्तापछि पनि कम्युनिस्ट आन्दोलन रहनुपर्दैन ? गम्भीर भएर सोच्नुहोला । संकटमा सही निर्णय गर्ने पात्र नै असलमा नेता हो ।

(लेखक घिमिरे नेकपा–माओवादी केन्द्रका स्याङ्जा जिल्ला इन्चार्ज हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शैलेन्द्र घिमिरे
शैलेन्द्र घिमिरे
लेखकबाट थप