शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

सामाजिक सञ्जालमा कीर्तिमान बनाएपछि समर्थकका लागि रोनाल्डोको भावुक पोस्ट

शुक्रबार, २८ भदौ २०८१, १० : ०२
शुक्रबार, २८ भदौ २०८१

काठमाडौँ । समकालीन विश्व फुटबलका महान् खेलाडीमध्येका एक क्रिस्टियानो रोनाल्डोले अर्को एउटा कीर्तिमान आफ्नो नाममा पारेका छन् । तर, उनले यो कीर्तिमान फुटबल मैदानमा नभई सामाजिक सञ्जालमा बनाएका हुन् ।

फुटबल मैदानसँगै सामाजिक सञ्जालमा पनि ३९ वर्षीय यी पोर्चुगिज स्टारको बलियो उपस्थिति देखिन्छ । उनी सामाजिक सञ्जाल इन्स्टाग्राममा सबैभन्दा बढी फलो गरिने व्यक्ति पनि हुन् । पछिल्लो समय रोनाल्डोले सामाजिक सञ्जालमा आफ्नो फलोअर्सको सङ्ख्या एक अर्ब पुगेको बताएका छन् ।

सामाजिक सञ्जाल एक्स (विगतको ट्वीटर) मा एक पोस्ट गर्दै यी महान् फुटबलरले सबै सामाजिक सञ्जाल सञ्जाललाई मिलाएर आफ्नो फलोअर्सको सङ्ख्या एक अर्ब पुगेको तथ्य सार्वजनिक गरेका हुन् । यो पोस्ट उनले आफ्ना समर्थकहरूलाई लक्षित गर्दै पोस्ट गरेका हुन् ।

‘हामीले इतिहास रचेका छौँ । एक अर्ब फलोअर्स ! यो एक सँख्यामात्र होइन । त्योभन्दा निकै बढी हो । यो खेलप्रतिको हाम्रो प्रेम र त्योभन्दा पनि बढी हाम्रो साझा आशक्तिको पराकाष्ठा हो,’ उनले आफ्नो पोस्टमा उल्लेख गरेका छन् ।

उनले आफ्नो पोस्टमा अगाडि भनेका छन्, ‘मदेइरा (उनको जन्मस्थान) को गल्लीदेखि विश्वको सबैभन्दा उत्कृष्ट मैदानसम्म मैले हरेक क्षण आफ्नो परिवार र तपाइँहरुका लागि खेलेको छु । अहिले हाम्रो परिवारको सङ्ख्या एक अर्ब पुगेको छ । पक्कै पनि यो खुसीको क्षण हो ।’

उनले आफ्ना समर्थकहरूप्रति आभार पनि व्यक्त गरेका छन् । ‘मेरो हरेक सफलता र निराशामा तपाईँहरूले मलाई साथ दिनुभएको छ । त्यसैले यो मेरोमात्र होइन हामी सबैको सामुहिक यात्रा हो । आफूले चाहेको हरेक लक्ष्य चुम्न सक्षम छौँ भन्ने कुरा पनि यतिबेला हामीले प्रमाणित गरेर देखाएका छौँ,’ उनले भनेका छन् ।

आफ्नो भावुक पोस्टमा उनले अगाडि लेखेका छन्, ‘मलाई विश्वास गर्नु भएकोमा र मेरो जीवनको एउटा अभिन्न अङ्ग बन्नुभएकोमा म सबैप्रति आभार व्यक्त गर्न चाहन्छु । योभन्दा पनि ठुलो उपलब्धि हासिल गर्न अझै बाँकी नै छ । यसका लागि मलाई सधैँ तपाईँहरूको साथ र सहयोग चाहिन्छ । हामी निरन्तर इतिहास बनाइरहने छौँ ।’  

रोनाल्डोले हालै आफ्नो युट्युब च्यानल पनि सार्वजनिक गरेका थिए । त्यो च्यानल बनाएको केही समयमै उनले कीर्तिमानी सङ्ख्यामा सब्सक्राइबर पाएका थिए । हाल युट्युब च्यालनमा उनको सब्सक्राइबर सङ्ख्या करिब १० करोड छ ।

यसैगरी, इन्स्टाग्राममा उनको फलोअर्स सङ्ख्या ६३ करोड ८० लाख, फेसबुकमा उनको फलोअर्स सङ्ख्या १७ करोड र एक्स (विगतको ट्वीटर) मा उनको फलोअर्स सङ्ख्या ११ करोड ३० लाख रहेको छ ।

Ronaldo

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप