प्रतिस्पर्धी कम्पनी ह्याक गरेपछि जेलमा पुगे टिकटमास्टरका पूर्व हाकिम
लन्डन । बेलायती कम्पनी टिकटमाष्टरका पूर्व हाकिमलाई जेल सजाय सुनाइएको छ । प्रतिस्पर्धी कम्पनीको सर्भर ह्याक गरेर सूचनाहरू चोरेको आरोप पुष्टि भएपछि बेलायती नागरिक स्टेफन मिडले एक वर्षको जेल सजाय पाएका छन् । साथै उनलाई ६७ हजार ९७० डलर जरिवाना तिर्न पनि भनिएको छ ।
मिडले सन् २०१३ देखि सन् २०१५ को बीचमा आफूले पहिला काम गरेको कम्पनी टिकटमास्टरको प्रतिस्पर्धी कम्पनी क्राउडसर्जको सर्भर ह्याक गरेर डेटा चोरेका थिए । उनको यस कदमको प्रत्यक्ष असरले गर्दा कम्पनी टाटै पल्टिएको अमेरिकी न्याय मन्त्रालयले भनेको छ । जुनमा उनमाथिको आरोप प्रमाणित भएको थियो ।
अमेरिकामा दर्ता भएको मुद्दाका अनुसार टिकटमास्टरका कार्यकारीहरूले मिडलाई कम्पनीको प्रतिस्पर्धीहरूको सूचना शेयर गर्न भनेको बताइएको छ । बीबीसीले यस विषयमा सोधेको प्रश्नको टिकटमास्टरले उत्तर नदिएको बताइएको छ । टिकटमास्टरका अर्का पूर्व कार्यकारी जिशान जैदी पनि सन् २०१९ मा सर्भर ह्याक गरेको अभियोगमा दोषी ठहर भएका थिए ।
उनलाई भने सजाय सुनाउन बाँकी नै छ । मिडलाई क्राउडसर्ज छोड्दा लिएको एक मुष्ठ रकमको साथै टिकटमाष्टरबाट पाएको तलब वृद्धि पनि फिर्ता गर्न आदेश दिइएको छ । सन् २०१० देखि मिड क्राउडसर्जको उत्तर अमेरिकामा ग्लोबल अपरेशनको वरिष्ठ उपाध्यक्ष र प्रबन्ध निर्देशक थिए । पछि उनी कम्पनी छाडेर टिकटमास्टरमा गए ।