एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको २१औँ संस्करण आज, १० विधामा पुरस्कार प्रदान गरिने
काठमाडौँ । नेपाली खेलकुदको प्रतिष्ठित ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०८०’ शुक्रबार काठमाडौँमा आयोजना हुँदै छ । अवार्ड कार्यक्रम दिउँसो ३ः३० बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु हुने आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले जनाएको छ ।
एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको यो २१औँ संस्करण हो । यसपटक नेपाली खेलकुदसँग जोडिएका व्यक्तिहरूलाई विभिन्न १० वटा विधामा पुरस्कार प्रदान गरिने छ । मञ्चले अवार्डका लागि विभिन्न पाँच विधामा खेलाडी र प्रशिक्षकहरूको मनोनयन यसअघि नै सार्वजनिक गरिसकेको छ ।
पिपल्स च्वाइस अवार्ड, वर्षको उत्कृष्ट पुरुष खेलाडी, वर्षको उत्कृष्ट महिला खेलाडी, वर्षको उत्कृष्ट युवा खेलाडी र वर्षको उत्कृष्ट प्रशिक्षकको मनोनयन सार्वजनिक भइसकेको छ । २०८० सालमा आयोजित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको उत्कृष्ट प्रदर्शनका आधारमा मनोनयन सार्वजनिक गरिएको जानकारी मञ्चका महासचिव प्रज्ज्वल ओलीले दिए ।
पिपल्स च्वाइस विधाको मनोनयन सबैभन्दा पहिले सार्वजनिक गरिएको हो । पिपल्स च्वाइसको मनोनयनमा फुटबलकी प्रीति राई, कबड्डीकी मानमति बिष्ट, भलिबलकी कविता भट्ट, रग्बीका श्रीराम श्रेष्ठ र क्रिकेटका गुलसन झा परेका छन् ।
यो विधाको विजेताको घोषणा ई–सेवाको भोटिङ, २९ वटा खेलका प्रमुख प्रशिक्षकको मत, एनएसजेफका सदस्यको मत र पल्सर स्पोटर््स अवार्ड तथा पल्सर नेपालको आधिकारिक फेसबुक पेजमा प्राप्त लाइकका आधार गरिनेछ ।
यसैगरी, उत्कृष्ट पुरुष खेलाडीको मनोनयनमा पाँचजना खेलाडीको नाम सार्वजनिक गरिएको छ । वर्ष पुरुष खेलाडीको मनोनयनमा क्रिकेटका दीपेन्द्रसिंह ऐरी, क्रिकेटकै रोहित पौडेल, कराँतेका मोहम्मद सेखु आलम, फुटबलका अनन्त तामाङ र गल्फका सुवास तामाङ परेका छन् ।
यसैगरी, वर्षको उत्कृष्ट महिला खेलाडीको मनोनयनमा पनि पाँचजना खेलाडीको नाम सार्वजनिक गरिएको छ । वर्षको उत्कृष्ट महिला खेलाडीको मनोनयनमा पर्नेमा कराँतेकी एरिका गुरुङ, फुटबलकी साबित्रा भण्डारी, क्रिकेटकी रुबिना क्षेत्री, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र कबड्डीकी मेनुका राजवंशी रहेका छन् ।
यसैगरी, वर्षको उत्कृष्ट प्रशिक्षकको मनोनयनमा पर्नेमा पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामा, कराँते प्रशिक्षक कुशल श्रेष्ठ, क्रिकेट प्रशिक्षक मोन्टी देसाई, कबड्डी प्रशिक्षक पार्वती राई र भारोत्तोलन प्रशिक्षक सञ्जय मर्हजन रहेका छन् ।
यसैगरी, वर्षको उत्कृष्ट युवा खेलाडीको मनोनयनमा पनि पाँचजनाको नाम सार्वजनिक गरिएको छ । उत्कृष्ट युवा खेलाडीको मनोनयनमा पर्नेमा क्रिकेटका अर्जुन कुमाल, भारोत्तोलनका हेमन्तपाल, फुटबलकी प्रीति राई, टेबलटेनिसका सुजन गडाल र टेनिसकी सुनिरा थापा रहेका छन् ।
यसदेखि वाहेक शुक्रबार आयोजना हुने पुरस्कार वितरण कार्यक्रममा पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम अचिभमेन्ट अवार्ड, टिम अफ दी इयर अवार्ड र एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड पनि प्रदान गरिने छ ।
विजेताको घोषणा शुक्रबार अवार्ड वितरण कार्यक्रममै गरिने मञ्चले जानकारी मञ्चका प्रवक्ता अनिल मल्ल ठकुरीले दिए । यसपटक वर्ष पुरुष, वर्ष महिला, वर्ष युवा र वर्ष प्रशिक्षक विधाको विजेतालाई पल्सर एनएस २०० मोटर बाइक पुरस्कार प्रदान गरिनेछ ।
पिपल्स च्वाइस विधाको विजेताले पल्सर एनएस ४०० मोटर बाइक पुरस्कार जित्नेछन् । अन्य विधाका विजेतालाई भने जनही एक लाख रुपैयाँ र गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । यस वर्ष पनि पल्सर स्पोर्टस अवार्डको मुख्य प्रायोजक गोल्छा गु्रपको पल्सर मोटरसाइकल रहेको छ ।
मञ्च र गोल्छा ग्रुपबिच अवार्डका लागि सहकार्य भएको यो १६औँ वर्ष हो । सह–प्रायोजक र सहयोगीमा सूर्य नेपाल प्रालि, ई–सेवा, केल्मी नेपाल, युनाइटेड अजोड इन्स्योरेन्स, रोयल सिंगी होटल, प्लाजा ग्रुप अफ होटल्स, इमेजिङ, न्यु होराइजन कार्पेट, हिमालय होटल, चन्द्रागिरी हिल्स, राष्ट्रिय खेलकुद परिषद् (राखेप), नेपाल ओलम्पिक कमिटी (एनओसी), होटल संघ नेपाललगायत रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि सेवा आयोगद्वारा २०७३ सालमा लिएका विभिन्न पदको लिखित परीक्षाको नतिजा रद्द
-
धरहराको काखमा सार्वजनिक गरियो एनपीएल ट्रफी, तस्बिरहरु
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा रोल्पाको होलेरीमा सेवा विस्तार
-
सुनको मूल्य तोलामा झण्डै १६ हजार रुपैयाँ घट्यो
-
पाँच महिनापछि धितोपत्र बोर्डले दियो आईपीओ निष्कासन अनुमति
-
प्रधानमन्त्रीबाट नेपाल प्रिमियर लिगको ट्रफी अनावरण, ट्रफीको मुख्य आकर्षण कालापत्थरको ढुंगा