एमबीबीएस प्रवेश परीक्षाको प्रश्नपत्र देखाउनुपर्ने माग गर्दैै विद्यार्थी आन्दोलनमा
काठमाडौँ । चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा दिएका विद्यार्थीहरू प्रश्नपत्र देखाउनुपर्ने माग गर्दै आन्दोलनमा छन् । चिकित्सा शिक्षा आयोगले भदौ १ गते लिएको स्नातक तहको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेपछि विद्यार्थीहरू आन्दोलनमा उत्रिएका हुन् ।
तर, चिकित्सा शिक्षा आयोगले प्रश्नपत्र उपलब्ध गराउन नसकिने बताउँदै आएको छ । माग पूरा नहुँदा विद्यार्थीहरू कहिले आयोग परिसरमा आन्दोलन गर्दै आएका छन् भने कहिले माइतीघर मण्डलामा धर्ना दिँदै आएका छन् । एमबीबीएसको प्रवेश परीक्षाको नतिजा भदौ १४ गते सार्वजनिक गरेको थियो । त्यसयता विद्यार्थीहरू आन्दोलनमा छन् । उनीहरूले अदालतमा मुद्दा दायर गर्ने तयारीसमेत गरेका छन् ।
विद्यार्थी मनिषा ठाकुरले आयोगले माग सुनुवाइ नगरेपछि अदालत जान लागेको बताइन् । आयोगले एमबीबीएस प्रवेश परीक्षाको नतिजा रोल नम्बरको आधारमा सार्वजनिक गरेको थियो । तर, उम्मेदवारहरूको योग्यताक्रम टाइब्रेकको आधारमा गर्नुपर्नेमा रोल नम्बरका आधारमा नतिजा सार्वजनिक गरेपछि विद्यार्थीहरू आक्रोशित बनेका थिए । चौतर्फी विरोध भएपछि आयोगले योग्यताक्रम टाइब्रेकको आधारमा पुनः नतिजा प्रकाशित गरेको थियो ।
एउटै नतिजामा विभिन्न खालका त्रुटि भेटिएपछि विद्यार्थीहरू आयोगप्रति सशङ्कित बनेका हुन् । अहिले विद्यार्थीहरूले उत्तरपुस्तिका, ओएमआर सिटसँगै प्रश्नपत्र समेत मागेका छन् ।
उनीहरूले यो वर्षका लागिमात्र नभइ हरेक वर्ष परीक्षार्थीको आफ्नो प्रोफाइलमै प्रश्नपत्र आउनुपर्ने माग गर्दै आएका हुन् ।
आयोगले भने प्रश्नपत्र दिन नसक्ने जनाएको छ । तर, विद्यार्थीहरूले उत्तरपुस्तिका र ओएमआर सिटले मात्रै आफूले लेखेको उत्तर कसरी जाँच्ने भन्दै प्रश्नपत्र समेत उपलब्ध गराउनुपर्ने माग गर्दै आएका हुन् ।
उनीहरूले यो वर्षका लागिमात्र नभइ हरेक वर्ष परीक्षार्थीको आफ्नो प्रोफाइलमै प्रश्नपत्र आउनुपर्ने माग गर्दै आएका हुन् ।
फेल भएकामात्र नभइ यो आन्दोलनमा अन्य विद्यार्थीहरूको समेत संलग्नता रहेको एक विद्यार्थीले बताए । ‘यो फेल भएका विद्यार्थीको मात्रै आन्दोलन होइन । आन्दोलनमा पास भएका विद्यार्थी पनि छन् । छात्रवृत्ति पाएका विद्यार्थी पनि छन्,’ उनले भने, ‘सबैभन्दा बढी नम्बर आएका विद्यार्थी पनि छन् । कम नम्बर आएका विद्यार्थी पनि छन् । यसमा पहिलो नतिजामा नाम आएका र दोस्रोमा नाम हराएका विद्यार्थीहरू पनि छन् ।’
आयोगबाट गल्ती हुनु भनेको विद्यार्थीको भविष्यमाथि नै खेलवाड भएको विद्यार्थीहरूको भनाइ छ । आयोगले पहिलो पटक सार्वजनिक गरेको नतिजामा समान अङ्क आएका विद्यार्थीहरूलाई रोल नम्बरका आधारमा राखेको थियो । विरोध भएपछि योग्यताक्रम टाइब्रेकको आधारमा राखेको थियो । त्यसरी राख्दा पहिलो नतिजामा नाम भएका विद्यार्थीको दोस्रो पटकको नतिजामा नाम नै थिएन ।
केही विद्यार्थीको पहिलो पटकको नाम निकाल्दा बढी अङ्क थियो भने दोस्रो पटक निकाल्दा कम अङ्क थियो । यसरी विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने आयोगका अधिकारीहरूलाई कारबाही गर्नुपर्ने माग विद्यार्थीहरूको छ ।
विद्यार्थीलाई प्रश्नपत्र किन चाहियो ?
अन्य सबै परीक्षामा प्रश्नपत्र दिने तर, आयोगले किन दिन नमिल्ने भन्ने प्रश्न विद्यार्थीले उठाएका छन् । ‘प्रश्नविना हामीले कसरी ट्याली गर्ने ? आयोगले गरेका गल्तीका कारण ऊप्रतिको भरोसा तोडिएको छ । प्रश्नपत्र दियो भने विद्यार्थीले आफ्नो नतिजा कस्तो आएको छ भनेर ढुक्क हुन सकिन्छ । नत्र यसले आयोगप्रतिको भरोसा झन् खस्किन्छ,’ आन्दोलित एक विद्यार्थीले भने ।
आयोगकै कारण आफूहरू ओएमआर सीट, प्रश्नपत्र र उत्तरपुस्तिका हेर्न पाउनुपर्ने माग राख्न बाध्य भएको उनले बताए ।
तर आयोगले सार्वजनिक सूचना जारी गरेर ओएमआर सिट र उत्तरपुस्तिका हेर्न चाहने विद्यार्थीसँग निवेदन माग गरेको छ । निवेदन दिने विद्यार्थीको हकमा अनलाइन प्रोफाइलमै उत्तरपुस्तिका र उत्तर ‘की’ उपलब्ध गराउने आयोगको भनाइ छ । तर, हालको कानुनी व्यवस्थाका कारण प्रश्नपत्र भने उपलब्ध गराउन नसकिने आयोगको भनाइ छ ।
आयोगको परीक्षा समितिको निर्देशक प्राडा सरला श्रेष्ठले अहिलेको अवस्थामा प्रश्नपत्र दिन नमिल्ने बताइन । ‘प्रश्नपत्र अहिलेसम्मको अवस्थामा दिने गरेका छैनौँ । दिने निर्णय पनि गरेका छैनौँ । अहिलेको यही प्रणालीमा दिने व्यवस्था पनि छैन ।’
आन्सर सिट र ‘कि’ दिने भनिएको उनले प्रस्ट पारिन् । प्रश्नपत्रको गोपनीयताका लागिसमेत दिन नल्मिने उनको भनाइ छ । ‘हामीसँग विज्ञ कम छन् । एक पटक बनाएका प्रश्नपत्र अर्को पटकको परीक्षामा समेत दिनुपर्ने हुन्छ । त्यसैले हामीले गोप्य राख्छौँ । त्यही प्रश्न रिपिट हुन्छन्,’ श्रेष्ठले भनिन् ।
पटकपटक उठ्ने गरेको छ माग
प्रश्नपत्र समेत उपलब्ध गराउनुपर्ने माग यो पहिलो पटक भने होइन । यसअघि पनि प्रश्नपत्र उपलब्ध गराउनुपर्ने माग उठ्दै आएको हो । तर, आयोगले प्रश्नपत्र बनाउन विज्ञ कम भएको, एउटै प्रश्नपत्र रिपिट गर्नुपर्ने भएको जस्ता कारण देखाएर उपलब्ध गराउन अस्वीकार गर्दै आएको थियो ।
चिकित्सा शिक्षा संघर्ष अभियानले विगतदेखि नै यो माग उठान गर्दै आएको हो । नतिजा प्रकाशमा देखिएको गम्भीर त्रुटिले हजारौँ विद्यार्थीहरूलाई मर्कामा परेको अभियानको ठहर छ ।
अभियानले विगत ३ वर्षदेखि ओएमआर सिट हेर्न पाउनुपर्ने, आन्सर ‘की’ हेर्न पाउनुपर्ने माग राख्दै आएको संयोजक डाक्टर मनिष भट्टराईले बताए ।
आयोगले गरेको गल्तीले विद्यार्थीलाई कुनै पनि असर नपर्ने गरी विद्यार्थीलाई न्याय दिनुपर्ने र त्रुटिपूर्ण परिणाम सुधार गर्नुपर्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
रोजगारीको माग गर्दै मधेस प्रदेशका शहीद परिवारको प्रदर्शन
-
माओवादी केन्द्रका नेता पदम राईको निधन
-
विवाह गर्ने उमेर घटाउनुपर्छ भन्ने माग आएको छ : विमला सुवेदी
-
ईयूद्वारा नाइजरका लागि खटाएका दूत फिर्ता : प्रवक्ता
-
‘विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार एवं जनचेता अभिवृद्धि आवश्यक’
-
सडक पूर्वाधारमा कर्णाली : ६ वर्षमा १५६.७६ किलोमिटर सडक कालोपत्रे