सिताराम येचुरीलाई यसरी सम्झिन्छन् नेपालका नेता
काठमाडौँ । प्रमुख राजनीतिक दलका नेताहरुले भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरीको नेपालको प्रजातन्त्रिक आन्दोलनप्रतिको दृढ समर्थन र सद्भावको स्मरण गर्दै उनको निधनबाट नेपालले असल मित्र गुमाएको बताएका छन् । उनीहरुले नेपाल र नेपाली जनतालाई नजिकबाट बुझेको व्यक्तित्व येचुरीको निधनबाट अपुरणीय क्षति भएको बताए ।
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपाल–भारत सम्बन्ध र नेपालको लोकतान्त्रिक आन्दोलनमा येचुरीले लगाएको गुन अविस्मरणीय रहने बताए । लोकतन्त्र र लोकतान्त्रिक पद्धतिमा विश्वास राख्ने भारतका वामपन्थी र अन्य राजनीतिक दललाई नेपालको राजनीतिक आन्दोलनको विकासमा सद्भाव र समर्थन जुटाउने विषयमा येचुरीको विशिष्ट योगदान रहेको उनको भनाइ छ ।
नेकपा एमालेका वरिष्ठ नेता वामदेव गौतमले नेपाल र नेपाली जनतालाई नजिकबाट चिन्ने तथा नेपाली कम्युनिष्ट आन्दोलनमा सदा सहानुभूति राख्ने नेताको निधनबाट नेपाली कम्युनिष्ट आन्दोलनका निम्ति ठूलो क्षति भएको बताए ।
नेकपा (माओवादी केन्द्र) का नेता सुरेन्द्र कार्कीले नेपाल र नेपाली जनतालाई निकै नजिकबाट बुझेको व्यक्तित्वको निधनबाट नेपालले असल मित्र गुमाएको बताए । बत्तीस वर्षसम्म सिपिएम पोलिटब्युरोमा रहेका र सन् २०१५ देखि पार्टीको महासचिवका रूपमा काम गरेका येचुरी प्रमुख भारतीय राजनीतिज्ञ थिए ।
यसबाहेक उनले सन् २००५ देखि सन् २०१७ सम्म भारतीय संसद्को माथिल्लो सदन राज्यसभामा पश्चिम बङ्गालको प्रतिनिधित्व गरेका थिए ।
नेपालमा प्रजातन्त्रिक प्रणाली विकास गर्न येचुरीको बलियो समर्थन– वामदेव गौतम (नेकपा एमाले)
भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरी मेरो घनिष्ट मित्र हुनुहुन्थ्यो । नेपालको राष्ट्रियता बलियो बनाउने तथा यहाँ प्रजातन्त्रिक प्रणाली विकास गर्ने पक्षमा उहाँको बलियो समर्थन थियो । नेपालका कम्युनिष्ट पार्टी खासगरी पहिले पुष्पलाल श्रेष्ठको नेतृत्व हुँदा र पछि मदनकुमार भण्डारीको नेतृत्वको नेकपा (एमाले) सँग ज्यादै घनिष्ट र भाइचाराको सम्बन्ध थियो ।
आन्दोलनका क्रममा हामी भारतमा रहँदा पनि उहाँको सहयोग लियौँ । नेपालमा प्रजातन्त्र पुनःस्थापना भएपछि महासचिव येचुरी स्वयं यहीँ आएर नेपाली जनतामाझ शुभकामना व्यक्त गर्नुभयो । उहाँ कयैन् पटक नेपाल आउनुभएको छ । उहाँको निधनबाट नेपालको कम्युनिष्ट आन्दोलनका निम्ति ठूलो क्षति भएको छ ।
नेपाल र नेपाली जनतालाई त्यतिको नजिकबाट चिन्ने तथा नेपाली कम्युनिष्ट आन्दोलनमा सदा सहानुभूति राख्ने नेताको निधनप्रति दुःख व्यक्त गर्दछु । नेपाल र नेपाली जनताका तर्फबाट उहाँप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु ।
येचुरीले नेपालको लोकतन्त्रिक आन्दोलनमा लगाएको गुन अविस्मरणीय –कृष्णप्रसाद सिटौला (नेपाली कांग्रेस)
भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरी नेपाल–भारत सम्बन्ध सुमधुर र दुवै देशका हितमा पारस्परिक सहयोग हुनुपर्छ भन्ने धारणा राख्नुहुन्थ्यो । उहाँसँग मेरो काठमाडौँ र भारतको राजधानी नयाँ दिल्लीमा पटकपटक भेट भएको छ । नेपालको प्रजातन्त्रिक आन्दोलनमा सधैँ सद्भाव राख्ने र समर्थन जनाउने वामपन्थी नेताका रुपमा मैले चिनेको छु ।
लोकतन्त्र र लोकतान्त्रिक पद्धतिमा विश्वास राख्ने भारतका वामपन्थी र अन्य राजनीतिक दललाई नेपालको राजनीतिक आन्दोलनको विकासमा सद्भाव र समर्थन जुटाउने विषयमा उहाँको योगदान छ । येचुरीप्रति मेरो भावपूर्ण श्रद्धाञ्जली छ । उहाँले नेपाल–भारत सम्बन्ध र नेपालको लोकतन्त्रिक आन्दोलनमा लगाएको गुन अविस्मरणीय रहनेछ ।
नेपालले असल मित्र गुमायो : सुरेन्द्र कार्की– नेकपा माओवादी केन्द्र
भारतका कम्युनिष्ट र वामपन्थी नेताका रुपमा महासचिव सीताराम यचुरीले त्यहाँका सत्ताधारी वर्गभन्दा फरक दृष्टिकोण राख्नुहुन्थ्यो । नेपाल स्वाधिन, समुन्नत र प्रजातन्त्रिक मुलुक बनोस् भन्ने नै उहाँको शुभेच्छा थियो । नेपालमा जनवादी तथा प्रजातन्त्रिक व्यवस्था स्थापनाका निम्ति उहाँको अनवरत समर्थन थियो । नेपालका धेरै राजनीतिक व्यक्तित्व तथा नागरिकस्तरमा पनि उहाँको राम्रो सम्बन्ध थियो ।
नेपालमा चलेको दशवर्षे जनयुद्धलाई शान्ति प्रक्रियामा ल्याउन पनि येचुरीले विशेष भूमिका खेल्नुभएको थियो । नेपालको राजनीतिक परिवर्तनका लागि भएको सशस्त्र आन्दोलनलाई अन्य पक्षले आफ्नो स्वार्थ अनुसार हेर्थे । तर, भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) ले कहिल्यै पनि त्यस ढङ्गले हेरेन । येचुरीले नेपालमा जुन मुद्दाका लागि कम्युनिष्ट पार्टीहरु लडेका हुन्, त्यसको उद्देश्य प्राप्त होस् भन्ने नै शुभेच्छा राख्नुहुन्थ्यो ।
नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन सदैव उहाँले सहयोग गरिरहनुभयो । सिद्धहस्त सिद्धान्तकार, विचारक तथा गहिरो अध्ययन भएका परिपक्व नेता येचुरीको निधनबाट भारतीय वामपन्थी आन्दोलनमा अपुरणाीय क्षति पुगेको छ ।
नेपाल र नेपाली जनतालाई निकै नजिकबाट बुझेको व्यक्तित्वको निधनबाट नेपालले असल मित्र गुमाएको छ । नेपाललाई त्यति राम्रो बुझेको र सोहीस्तरबाट सहयोग र शुभेच्छा राख्ने व्यक्तित्व हत्पत् प्राप्त हुँदैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिकेट नयाँ पुस्ताको सपना र गौरव बनेको छ : प्रधानमन्त्री
-
महालक्ष्मी विकास बैंकले देशभरका ७७ स्थानमा घरजग्गा लिलामी गर्दै
-
कास्कीको अन्नपूर्णमा २२ देखि ‘हनि हन्टिङ’ महोत्सव
-
नारायणी अस्पतालको ‘क्याथ ल्याब मेसिन’ बन्यो उपयोगविहीन
-
अपडेट: अन्डरवेयरमा लुकाएको विदेशी मुद्रा बरामद
-
मुक्तिनाथ म्युचुअल फण्डको आईपीओ मंसिर २० गतेदेखि