शुक्रबार, १९ पुस २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

बिहीबार, २७ भदौ २०८१, २२ : ००
बिहीबार, २७ भदौ २०८१

आज मिति २०८१ साल भदौ महिनाको २७ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–

१. ढाकाकुमार पक्राउ

राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाका कुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठलाई पोखराबाट पक्राउ गरिएको कास्कीका एसपी मोहन कुमार थापाले रातोपाटीलाई बताए ।

पोखरा महानगरपालिका–९ स्थित पृथ्वी चोकमा श्रेष्ठले सञ्चालन गरेको दिया फार्मेसीबाट प्रतिबन्धित ट्रामाडोल बेचबिखन हुने गरेको भेटिएको छ ।

नेकपा एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीलाई पार्टीले तीन दिने स्पष्टीकरण सोधेको छ ।

माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको प्राविधिक शिक्षा विशेष जिल्ला समितिको तेस्रो जिल्ला सम्मेलनमा भाँडभैलो भएको छ । जसका कारण नयाँ नेतृत्व चयनका लागि थापाथली क्याम्पसमा तय भएको पूर्वनिर्धारित निर्वाचन कार्यक्रम नै अनिश्चितकालका लागि स्थगित भएको छ ।

२. राष्ट्रिय भेलाको तयारीमा रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले असोज १ र २ गते हुने राष्ट्रिय भेलाका लागि ४ सय पालिकाबाट प्रतिनिधि ल्याउने बताएको छ ।

पार्टी कार्यालयमा बिहीबार पत्रकार सम्मेलन गर्दै पार्टी कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले २ हजारभन्दा बढी वडामा पार्टी संरचना निर्माण भइसकेको जानकारी दिए । तर‚ वडा तहबाट राष्ट्रिय भेलामा प्रतिनिधित्व गराउन सम्भव नभएको उनले बताए ।

 

३. समिति बैठक

भ्रष्टाचार जोडिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजी संस्था वा प्रतिष्ठानमा अनुसन्धान गर्न पाउने कि नपाउने भन्ने विषयमा राजनीतिक दलहरूले फरक फरक सुझाव राखेका छन् ।

बिहीबार प्रतिनिधि सभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिमा भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न विधेयकमाथिको छलफलका क्रममा निजी क्षेत्रमा अख्तियारको प्रवेशबारे राजनीतिक दलगत रूपमा फरक धारणा आएपछि त्यसबारे सुझाव दिन ९ सदस्यीय उपसमिति गठन गरिएको हो ।

४. राजदूतको सुनुवाइ

१७ देशका लागि प्रस्तावित राजदूतहरूको अनुमोदनबारेको निर्णय आइतबार हुने भएको छ । सबै प्रस्तावित राजदूतहरूको कार्यसोजना सुनिसकेपछि संसदीय सुनुवाइ समितिले सरकारबाट भएको सिफारिसअनुसार नाम अनुमोदन गर्ने–नगर्नेबारे निर्णय गर्न लागेको हो ।

५. उपसभामुख प्रकरण

नेपाली कांग्रेस र एमालसहितको सत्तारूढ दलको पक्षमा दुई तिहाइ सांसदको मत सुनिश्चित नहुँदा उपसभामुख इन्दिरा रानालाई हटाउने योजनामा झटका लागेको छ ।

कांग्रेस र एमालेले बुधबार नै उपसभामुखलाई हटाउने प्रस्ताव दर्ता गर्ने तयारी गरेका थिए । तर आफ्नो पक्षमा दुई तिहाइ सांसदको मत सुनिश्चितता नभएपछि कांग्रेस(एमालेको योजना तत्कालका लागि ‘ब्रेक’ लागेको छ  ।

गत सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकमा उपसभामुख राना मगरले पदीय मर्यादाविपरीत नेपालस्थित अमेरिकी दूतावासलाई अनधिकृत व्यक्तिहरूलाई अमेरिका लैजानका लागि अन्तरवार्ताको मिति मिलाइदिन पत्र लेखेको भन्दै उनलाई हटाउने प्रस्ताव अघि बढाउने सहमति भएको थियो ।

 

६. सम्पत्ति शुद्धीकरणमा अख्तियारको पहिलो मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पहिलो पटक सम्पत्ति शुद्धीकरण अभियोग समेत दाबी गरेर मुद्दा दायर गरेको छ। अख्तियारले लुम्बिनी विकास कोषका इन्जिनियर एवं पूर्वयोजना प्रमुख सरोज भट्टराई र उनकी आमा जनक नन्दनी भट्टराईविरुद्ध सम्पत्ति शुद्धीकरणको दाबी लिएको हो ।

जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउत सम्बन्धबिच्छेदको मुद्दा बोकेर अदालत पुगेका छन् । राउतले ललितपुर जिल्ला अदालतमा सम्बन्धबिच्छेदको मुद्दा (फिरादपत्र) दायर गरेका हुन् ।

 

७. थप रुटका लागि आग्रह

नेपाल सरकारले थप हवाई रुटका लागि भारतलाई फेरि आग्रह गरेको छ । भारतमा आयोजना गरिएको नागरिक उड्डयन सम्बन्धी दोस्रो एसिया प्रशान्त मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले भारत सरकारलाई यस्तो आग्रह गरेका हुन् ।

८. नेपाली फिल्म किन चल्दैन ?

पछिल्ला समय प्रदर्शन भएका कयौँ फिल्मले दर्शकलाई लोभ्याउन सकेका छैनन् । दर्शक आखिर किन नेपाली फिल्मलाई माया गर्दैनन् भन्नेतिर फिल्म युनिटले खासै ध्यान दिएको पनि देखिँदैन ।

‘नेपाली फिल्मलाई नेपाली दर्शकले माया नगरे कसले गर्छ ?’ भन्ने भावनात्मक विषयलाई जोडेर निर्माण युनिटले दर्शकमाथि फिल्म लाद्ने गरेका छन् । अपवादका केही फिल्मले ठिकै व्यवसाय गरे पनि अधिकांश नेपाली फिल्मले प्रदर्शनअघि मिडियामा प्रचार पाए पनि दर्शकको साथ पाएका छैनन् ।

९. सेयर बजार

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) उच्च अंकले बढेको छ । बिहीबार ७८ अंकले बढ्दै परिसूचक २६८८ बिन्दुमा उक्लिएको हो ।

१०. एनआरएनए विवाद

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आधिकारिकता माग गर्दै राजेन्द्र कुमार शर्मा (आरके)सहित ४ जनाले दायर गरेको रिट निवेदनको अर्को पेसी भदौ ३० गतेका लागि तोकिएको छ । बुधबार सर्वोच्च प्रशासनले दर्ता गरेको उक्त मुद्दाको पेसी बिहीबारका लागि तोकिएको भएपनि न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा हेर्न नमिल्ने भएपछि अर्को पेसी भदौ ३० गतेका लागि तोकिएको सर्वोच्च अदालतले जनाएको छ ।

थप समाचार

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप