शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय
प्रदेश

कोशी प्रदेश सभा अन्तर्गतका सबै समितिका सभापति निर्विरोध

कांग्रेस, एमाले र माओवादीबिच भागबण्डा
बिहीबार, २७ भदौ २०८१, २० : ३८
बिहीबार, २७ भदौ २०८१

विराटनगर । कोशी प्रदेश सभाका संसदीय समितिको सभापतिका लागि उम्मेदवारहरूको मनोनयन सकिएको छ । प्रदेश सभा सचिवालयले तोकेको समय (बिहीबार अपराह्न ५ बजेसम्म)सम्म प्रत्येक समितिमा एक जनाको दरले सभापतिमा उम्मेदवारी परेको हो ।

प्रदेश सभाका सचिव गोपाल पराजुलीले दिएको जानकारी अनुसार न्याय प्रशासन तथा विधायन समितिको सभापतिमा कमला दर्नालले उम्मेदवारी दिएकी छन् । उनको प्रस्तावक रमेश कुमार बस्नेत र समर्थक भुपेन्द्र राई छन् ।

यस्तै सार्वजनिक लेखा समितिको सभापतिमा राजन किराँतीले उम्मेदवारी दिएका छन् । माओवादीका तर्फबाट उम्मेदवारी दिएका किराँतीको प्रस्तावकमा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारी र समर्थकमा एमालेकै छविलाल चुँडाल छन् ।

यस्तै सुशासन तथा योजना समितिको सभापतिमा खगेश्वरी पौडेल उम्मेदवार बनेकी छन् । उनको उम्मेदवारीमा हिमाल कार्की प्रस्तावक र मीना श्रेष्ठ समर्थक छन् ।

यस्तै कांग्रेसका विनोद राई अर्थ समितिको सभापतिमा उम्मेदवार बनेका छन् । उनको प्रस्तावकमा कांग्रेसकै मानबहादुर लिम्बू र समर्थकमा एमालेका ज्ञानेन्द्र सुवेदी छन् ।

उद्योग, पर्यटन वन तथा वातावरण समितिको सभापतिमा रामदेव यादवले उम्मेदवारी दिएका छन् । उनको प्रस्तावकमा जयप्रकाश चौधरी र समर्थकमा खगेनसिंह हाङ्गाम छन् ।

यस्तै प्राकृतिक स्रोत तथा पूर्वाधार समिति सभापतिमा होमबहादुर थापा उम्मेदवार बनेका छन् । उनको प्रस्तावक खड्गबहादुर बस्नेत र समर्थकमा लिलाकुमारी राई छन् ।

सामाजिक विकास समितिमा गयानन्द मण्डल गनगाईं उम्मेदवार छन् । उनको प्रस्तावक इस्राइल मन्सुर र समर्थकमा तिलचन पाठक छन् ।

प्रदेश सभामा दुई तिहाइभन्दा बढी सांसद रहेको सत्तारुढ गठबन्धनले प्रदेश सभा अन्तर्गतका ७ समितिमध्ये एमालेलाई ३ वटा र कांग्रेसलाई ३ वटा समितिको सभापति भागबण्डा गरेको छ । एउटा समितिको नेतृत्व भने प्रमुख प्रतिपक्षी दललाई दिइएको हो ।

एमालेले प्राकृतिक स्रोत तथा पूर्वाधार समिति, न्याय प्रशासन तथा विधायन समिति र उद्योग, पर्यटन तथा वातावरण समितिको सभापति पाउने भएको हो । यस्तै कांग्रेसले सामाजिक विकास समिति, सुशासन तथा योजना समिति र अर्थ समितिको सभापति पाएको छ । माओवादीले सार्वजनिक लेखा समितिको सभापति पाएको छ ।

उम्मेदवारीको प्रस्ताव दर्ता गर्ने समय बिहीबार बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्मका लागि तोकिएको थियो । उक्त समयमा कुनै पनि समितिमा एकभन्दा बढी उम्मेदवारी परेको छैन । त्यसैले समितिको सभापति निर्विरोध निर्वाचित हुने भएको छ ।

संसदीय समितिको निर्वाचन भने भोलि दिउँसो २ बजेदेखि हुने तालिका संसद् सचिवालयले जारी गरेको छ । २०७९ मंसिर ४ गतेको निर्वाचनपछि प्रदेश सभाको पहिलो बैठक २०७९ पुस १७ गते बसेको थियो । २०८० कात्तिक २० गते संसदीय समितिका सदस्य छानिए पनि सभापतिको निर्वाचन हुन सकेको थिएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप