रमाउन नसक्नेले राजनीति नगर्दा हुन्छ : कोइराला

पोखरा । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले राजनीति रमाउनेहरूको लागि मात्रै उचित हुने बताएका छन् । उनले रमाउन नसक्ने मान्छेले राजनीति गर्न नहुने सुझाएका हुन् ।
‘जो रमाउन सक्दैन, त्यसले राजनीति नगरे हुन्छ,’ उनले भने, ‘म चाहिँ आजकल रमाइरहेको छु । किनभने सोच्छु एउटा कुरा हुन्छ अर्कै कुरा ।’
कोइरालाले राजनीति कहिल्यै आफ्नो बसमा नहुने बताएका छन् । डाक्टरी पढेर पनि राजनीतिमा आएका उनले मेडिकल क्षेत्र आफ्नो कन्ट्रोलमा भएजस्तो राजनीति कन्ट्रोलबाहिर हुने बताएका हुन् ।
‘मेडिकल आफ्नो कन्ट्रोलमा हुन्छ । तपाईँले बिरामीको पीडा हरण गरिदिनुहुन्छ,’ उनले भने ‘तर राजनीति कहिल्यै तपाईंको हातमा हुँदैन । सोचेको हुन्छ एउटा कुरा, भइदिन्छ अर्कै कुरा ।’
पोखरामा बिपी चिन्तन प्रतिष्ठान गण्डकीले आयोजना गरेको नेपालमा कृषि क्रान्ति: सम्भावना र चुनौती विषयक विचार गोष्ठीमा बोल्दै उनले नेपालमा कृषिको राम्रो सम्भावना भएपनि उचित उपयोग गर्न नसकिएको बताए ।
‘नेपालको पहिलो सम्भावना हो पर्यटन, कोभिड १९ का कारण घट्यो । दोस्रो हो हाइड्रो, त्यसमा काम भइरहेको छ । तेस्रो कृषि नै हो । नेपालमा कृषिको धेरै सम्भावना छ’, उनले भने ।
१७ लाख हेक्टर खेतीयोग्य जमिन नेपालमा भएको भन्दै उनले उन्नत उत्पादन गर्न सके ३० करोड जनतालाई खाद्यान्न पुग्ने बताए ।