बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
कृषि एक्स्पो

कृषि क्षेत्रको यान्त्रीकरणमा सहयोग हुने विश्वास

बिहीबार, २७ भदौ २०८१, १८ : ५५
बिहीबार, २७ भदौ २०८१

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा मोरङको कटहरीमा कृषि एक्स्पो सुरु भएको छ । विराटनगर नजिकैको कृषि थोक बजार परिसरमा बिहीबारदेखि चार दिनसम्म एक्स्पो सञ्चालन हुनेछ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र संघीय सरकारका कृषि तथा पशुपक्षी विकास मन्त्री मन्त्री रामनाथ अधिकारीले एक्स्पोको उद्घाटन गरेका हुन् । 

मुख्यमन्त्री कार्कीले किसान र निजी क्षेत्रलाई एक ठाउँमा ल्याई कृषि उत्पादन बढाउनका साथै यान्त्रीकरण गर्न एक्स्पो कोषेढुंगा सावित हुने बताए । ‘लगानीको सुनिश्चितता र कृषि आधुनिकीकरणका लागि यस्ता अवसर सहयोगी हुन्छन्,’ उनले भने, ‘प्रदेश सरकारले कोशी प्रदेशलाई कृषि हबको रूपमा विकास गर्नसमेत कार्ययोजना अघि बढाएको छ ।’

संघीय सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले कृषिको व्यवसासायीकरणका लागि रणनीतिक महत्वका साथ अघि बढ्नु पर्ने बताए । ‘सरकारले लगानी दशक र कृषि दशकलाई एकसाथ अघि बढाई निजीक्षेत्रलाई कृषि उद्यममा जोड्न काम गरिरहेको छ,’ उनले भने, ‘कृषिमा निजी क्षेत्रको उचित लगानी हुन नसक्दा आधुनिक ढंगको कृषि प्रणालीको विकास हुन सकेको छैन । सरकार निजीक्षेत्रसँग मिलेर काम गर्न तयार छ ।’ उनले सातवटै प्रदेश र सबै स्थानीय तहमा लगानी क्षेत्र पहिचान गरी बजेट पठाउने काम भएको बताए । 

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले निर्वाहमुखी कृषिलाई आधुनिकीकरण गर्दै किसान र उद्यमीलाई एउटै मञ्चमा ल्याउने उद्देश्यसाथ एक्स्पो आयोजना गरिएको बताए । ‘कृषिको विकाससँगै आयातमुखी अवस्थालाई परिवर्तन गर्दै निर्यातजन्य कृषि उपजको उत्पादनमा टेवा दिनु हाम्रो उद्देश्य हो,’ उनले भने । राउतले किसान, उद्यमी, लगानीकर्तासहितको उपस्थिति रहेको एक्स्पो देशमै उदाहरणीय भएको सुनाए ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले कृषिमा निजी क्षेत्रको प्रवेश र लगानी सुनिश्चितताको काम हुन सके नेपालले चाँडै यस क्षेत्रमा फड्को मार्ने बताए । महासंघकी उपाध्यक्ष ज्योत्सना श्रेष्ठले भौगोलिक अवस्थिति र विविधतायुक्त हावापानीका कारण नेपालले कृषि क्षेत्रमा राम्रो प्रगति गर्न सक्ने बताइन । 

कार्यक्रममा काशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की, सहज परियोजनाकी टिम लिडर रिमा श्रेष्ठलगायतले सार्वजनिक र निजी क्षेत्रबिचको समन्वयमा सरकारको बलियो सहभागितामा कृषि क्षेत्रले उन्नति गर्न सक्ने बताइन् । परियोजनाले विगत चार वर्षदेखि कोशी प्रदेशका काम गरिरहेको उनको भनाइ थियो । 

आइतबारसम्म चल्ने कृषि एक्स्पोमा नेपाल र भारतका गरी १ सय ३० वटा स्टल रहेका छन् । एक्स्पोमा जुम्लाको मार्सी चामलदेखि विभिन्न प्रकारको दाल र स्याउ, झापाको गाउँले अचार र नमुना अचार, पाँचथरको काँकरा र किबीको जुस लगायतका कृषि सामग्री बिक्री भइरहेका छन् । नेपाल र भारतका १५ जना कृषि विज्ञहरू कृषि एक्स्पोमा सहभागिता जनाएका छन् । उनीहरुले कृषि उत्पादनका बारेमा किसानसँग संवाद र छलफल गर्ने जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप