एन्फा लिगमा एपिएफ र आर्मीको तेस्रो जित
काठमाडौँ । विभागीय टोलीद्वय सशस्त्र प्रहरी बलको एपिएफ र त्रिभुवन आर्मी क्लबले बिहीबार एन्फा महिला फुटबल लिगमा सहज जित निकालेका छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार आर्मीले बागमती युथ क्लबलाई र एपिएफले वालिङ नगरपालिकालाई हराएको हो ।
पहिलो खेलमा आर्मीले बागमतीमाथि ३–० को जित निकाल्यो । अर्को विभागीय टोली एपिएफले दोस्रो खेलमा वालिङमाथि २–१ को सफलता प्राप्त गर्यो । यी जितसँगै आर्मी र एपिएफले शीर्ष पाँचको दाबेदारी बलियो बनाएको छ । बागमतीविरुद्ध जितपछि आर्मी दोस्रो स्थानमा उक्लिन सफल भएको थियो । तर केही घण्टापछि नै एपिएफ आर्मीलाई एक स्थान तल धकेल्न सफल भयो । एपिएफको जितमा रेनुका नगरकोटी र रश्मिकुमारी घिसिङले गोल गरिन् ।
वालिङका लागि सिसे एन्टोङगोले गोल गरे पनि पर्याप्त भएन । पहिलो हाफमा गरेको गोल नै एपिएफलाई तेस्रो जित दिलाउन पर्याप्त रह्यो । खेलको १२औँ मिनेटमै रेनुका नगरकोटीले गोल गर्दै एपिएफलाई शुरुवाती अग्रता दिलाइन् । पेनाल्टी बक्सबाट सरु लिम्बूले दिएको ब्याक पासमा उनले करिब २० यार्डबाट टप कर्नर गोल गरिन् । एकपछि अर्को आक्रमण बुनेको एपिएफले ३८औँ मिनेटमा सफलता पायो । रश्मिकुमारीले गोल गर्दै एपिएफको अग्रता दोब्बर बनाइन् ।
यो गोलसँगै एपिएफ पहिलो हाफमा २–० ले अगाडि रह्यो र दोस्रो हाफमा वालिङले गोल फर्काए पनि हार भने टार्न सकेन । ८० औँ मिनेटमा सिसेले गोल गर्दै वालिङलाई खेलमा फर्काउने संकेत गरिन् । तर थप गोल हुन नसक्दा एपिएफले जित निकाल्यो । जितसँगै एपिएफले चार खेलबाट १० अंक जोडेको छ । समान अंक भएपनि नेपाल पुलिस क्लब गोलसंख्याका आधारमा शीर्ष स्थानमा छ । यता, आर्मीको जारी लिगमा चौथो खेलबाट तेस्रो जित हो । वागमतीविरुद्ध आर्मीको जितमा विमला चौधरी र अमिशा कार्कीले समान एक गोल गरेका थिए ।
आर्मीले एक गोल आत्मघाती उपहार स्वरूप पायो । आर्मीले खेलको २७ औँ मिनेटमा विमलाको गोलमार्फत अग्रता लिएको थियो । हिमा चौधरीले राइट साइडबाट दिएको क्रस नियन्त्रणमा लिँदै पेनाल्टी बक्समा अनमार्क विमलाले सुन्दर गोल गरेकी हुन् । यससँगै पहिलो हाफमा आर्मी १–० ले अगाडि रह्यो । दोस्रो हाफमा पनि आर्मीले दुई गोल थप्यो । आर्मीले ६२औँ मिनेटमा अग्रता दोब्बर बनायो । दीपा शाहीले दिएको लामो पासमा अमिसाले पाँच डिफेन्डरका बिचबाट गोल गरेकी हुन् ।
अन्तिम समयमा सन्जी थिङबाट आत्मघाती गोल हुँदा आर्मीले ३–० को सहज जित दर्ता गर्यो । यो जितसँगै ९ अंक जोडेको आर्मी दोस्रो स्थानमा उक्लिएको छ । लगातार तेस्रो खेलमा पराजित बागमती सामान खेलबाट तीन अंकका सातौं स्थानमा छ । यसअघि संकटा क्लब र सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको आर्मीले विभागीय प्रतिद्वन्दी एपिएफसँग हार व्यहोरेको थियो । यसअघि सुदूरपश्चिमलाई हराएको बागमती कोशी प्रदेश र विभागीय टोली नेपाल पुलिस क्लबसँग पराजित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थ समितिमा राप्रपा सांसद शाहीको फरक मत
-
सुदूरपश्चिममा दलहरूबिच विषयगत समितिको भागवण्डा टुंगियो
-
ती भारतीय स्वतन्त्रताका सेनानी, जो नेपालको राणाशासनविरुद्ध लडेर सहिद भए
-
शैक्षिक जनशक्ति विकास परिषद्द्वारा तालिम पाठ्यक्रम स्वीकृत
-
चितवनमा हात्ती तथा पर्यटन महोत्सव सुरु, तस्बिरहरु
-
गौतम बुद्ध रंगशाला निर्माणका लागि रकम निकासा गर्ने बागमती सरकारको निर्णय