शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

चिप्स र क्यान्डी कर्नमा पाइने फुड डाईले पारदर्शी बनायो मुसाको छाला

बिहीबार, २७ भदौ २०८१, १७ : ४४
बिहीबार, २७ भदौ २०८१

वाशिङटन डीसी । सन् १९८७ मा एच. जी वेल्सको काल्पनिक उपन्यास ‘द इन्भिजिबल म्यान’मा नायकले शरीरलाई पारदर्शी बनाउने सिरम बनाउँछन् । सो उपन्यास आएको सय वर्षभन्दा बढी समय पछि वैज्ञानिकहरूले त्यस्तै खालको तत्त्वको ‘रियल लाइफ’ भर्सन फेला पारेका छन् । प्रायः टर्टिल्ला चिप्स र क्यान्डी कर्न जस्ता स्न्याक्स फुड रंगाउन प्रयोग गरिने पहेँलो डाईले मुसाको छालालाई अस्थायी रूपमा पारदर्शी बनाएको छ ।

यस क्रममा वैज्ञानिकहरूले मुसाको भित्री अंगको फङ्शन समेत हेर्न सकेको बिहीबार जर्नल साइन्समा प्रकाशित नयाँ अध्ययनको प्रतिवेदनमा भनिएको छ । यसले बायोमेडिकल अनुसन्धानमा क्रान्ति ल्याउने आशा गरिएको छ । मान्छेमा यसको सफल परीक्षण गर्न सकियो भने औषधिदेखि स्वास्थ्य उपचारसम्मका अनेकौँ क्षेत्रमा क्रान्ति आउनेछ । अनुसन्धानकर्ताहरूले पानी र टार्टार्जिन नाम गरेको पहेँलो फुड कलरको मिश्रण लगाएर मुसाको खप्पर र पेटको छालालाई पारदर्शी बनाएका थिए ।

यसलाई पखाल्दा छालाको पारदर्शीपन पनि हट्यो । यो प्रक्रियामा मुसालाई पनि कुनै हानी नभएको बताइएको छ । सो झोल लगाउनु अघि मुसाको छालाका रौंहरू खौरिएर फ्याकिएको थियो । ‘भौतिक विज्ञानका आधारभूत बुझ्नेले यो कसरी भयो भन्ने थाहा पाउँछन्, तर यसलाई नबुझ्नेका लागि यो जादुयी चमत्कार जस्तै देखिन्छ,’ अध्ययनका पहिलो लेखक डल्लासस्थित टेक्सस विश्वविद्यालयमा भौतिक शास्त्रका सह–प्राध्यापक जिहाओ ओयले एक विज्ञप्तिमा भनेका छन् । उज्यालो सोस्ने डाईको अणुहरूले उज्यालो छर्न सक्ने तन्तुको क्षमतालाई दबाएर छाला आरपार प्रकाश प्रसारण गर्ने भएकोले यस्तो देखिएको हो ।

पानीसँग मिसाउँदा डाईले छालामा पारदर्शिता झनै बढाउँछ । छालामा डाई लगाएपछि केही मिनेटमै यो पारदर्शी बन्न थाल्छ । यसले मुहारमा क्रिम वा मास्कले जस्तै गरी काम गर्ने ओउ भन्छन् । अणुहरू छालामा कति छिटो फैलिन्छ भन्नेमा यो भर पर्ने पनि उनले बताए । मुसामा यो परीक्षण गर्नु अघि अनुसन्धानकर्ताहरूले यो परीक्षण कुखुराको छातीको मासुमा गरेका थिए । मुसामा गरिएको परीक्षण टाउकोभित्रको रक्त बाहिनी नली स्पष्टसँग देखिएको थियो । पेटभित्र रहेको भित्री अंगहरू मात्रै होइन पाचन नलीबाट खानेकुरा विस्तारै सर्दै गइरहेको समेत देखियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप