आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय
हवाई रुट

थप हवाई रुटका लागि भारतलाई फेरि आग्रह

बिहीबार, २७ भदौ २०८१, १८ : ००
बिहीबार, २७ भदौ २०८१

काठमाडौँ । नेपाल सरकारले थप हवाई रुटका लागि भारतलाई फेरि आग्रह गरेको छ । भारतमा आयोजना गरिएको नागरिक उड्डयन सम्बन्धी दोस्रो एसिया प्रशान्त मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले भारत सरकारलाई यस्तो आग्रह गरेका हुन् ।

लुम्बिनी र पोखरामा रहेको अन्तर्राष्ट्रिय एयरपोर्टका लागि भारतले थप रुट उपलब्ध नगराएका कारण अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन् । हाल दुवै एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन हुन सकेको छैन ।

पर्यटनमन्त्री पाण्डेले बिहीबार भारतका नागरिक उड्डयमन्त्री राममनोहर नायडु किन्जरापुसँगको भेटमा थप हवाई रुट उपलब्ध गराउन आग्रह गरेको भारतस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार मन्त्री पाण्डेले नेपालका विभिन्न सहरमा भारतबाट सिधा उडानका लागि आग्रह गर्दै थप एयररुट उपलब्ध गराउन आग्रह गरे ।

pande mantri

बुधबार भारतका संस्कृति तथा पर्यटनमन्त्री गजेन्द्रसिंह शेखावतसँगको भेटमा र सम्मेलनलाई सम्बोधन गर्ने क्रममा पनि मन्त्री पाण्डेले पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल र भारतीय सहरहरूबिच सिधा हवाई उडानका लागि प्रस्ताव गरेका थिए ।

नेपालका लुम्बिनी, पोखराजस्ता सहरमा भारतबाट सिधा उडान तथा थप रुट दिने विषयमा भारतका मन्त्रीहरूले सकारात्मक प्रतिक्रिया जनाएको तर त्यसमा नेपाल सरकारको तर्फबाट पहल हुनुपर्ने नेपाली दूतावासका अधिकारी बताउँछन् ।

दूतावासका एक अधिकारीले भने, ‘भारत सकारात्मक मात्र भएर हुँदैन, त्यसमा नेपालले पनि चासो लिइरहनु पर्छ । त्यसका लागि पटकपटक पहल गरिरहनु पर्छ । त्यसमा नेपाल कमजोर देखिएको छ ।’

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८० जेठ १७ गते गरेको भारत भ्रमणको क्रममा पनि हवाई रुटको विषयमा छलफल भएको थियो । भारत थप रुट दिन तयार पनि भएको थियो । दुवै देशका प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि थप हवाई रुट दिन भारत सरकार सकारात्मक रहेको बताएका थिए । भारत भ्रमणबाट फर्केपछि प्रधानमन्त्री प्रचण्डले पनि भारतले थप हवाई रुट दिने जिकिर गर्दै त्यसमा सहमति नै भइसकेको बताएका थिए ।

तर त्यसपछि नेपालको तर्फबाट कुनै कूटनीतिक पहल नै भएन र हालसम्म त्यो एजेण्डा जस्ताको त्यस्तै छ । पर्यटनमन्त्री पाण्डेले भारत भ्रमणका क्रममा यो विषय प्राथमिकता साथ उठाएका हुन् । तर उनी फर्किसकेपछि त्यसतर्फ कति पहल हुन्छ र परिणाम कहिले देखिन्छ भन्ने चासोको विषय बनेको छ ।

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय सीमा नजिक भएकाले मौसम लगायतका कारणले भारतीय हवाई क्षेत्रमा जहाजहरू पुग्नसक्ने अवस्था हुन्छ । त्यसलाई सम्बोधन गर्न भारतले प्रतिबद्धता जनाएको तत्कालीन प्रधानमन्त्री प्रचण्डले त्यतिबेला नै पत्रकारहरूलाई जानकारी गराएका थिए ।

नेपाल–भारतबिच हुने हरेक उच्चस्तरीय भ्रमणमा हवाई रुटको विषय उठ्ने गरेको छ । भारतले रुट उपलब्ध गराउने प्रतिबद्धता पनि जनाउँदै आएको छ । तर अवस्थामा केही सुधार भएको छैन ।

भैरहवामा इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम (आइएलएस)को विषयलाई लिएर दुई देशका संयुक्त प्राविधिक टोलीको बैठक बस्ने र त्यसले गर्ने सिफारिसका आधारमा निर्णय गर्ने सहमति भएको थियो । तर त्यसमा हालसम्म कुनै छलफल भएको छैन । 

२०८० पुसमा भारतीय विदेशमन्त्री एस.जयशंकर नेपाल भ्रमणमा आएको आएको बेला हवाई रुटको विषयमा पुनः चर्चा भएको थियो । उनले परराष्ट्र मन्त्रालयमार्फत पर्यटन मन्त्रालयसँग हवाई रुटको बारेमा सुझाव माग गरेका थिए । पर्यटन मन्त्रालयले त्यसको जवाफ पनि पठाएको थियो । त्यसपछि हालसम्म भारतबाट कुनै प्रतिक्रिया आएको छैन ।

पर्यटन मन्त्रालयका एक अधिकारीका अनुसार महेन्द्रनगरको रुट तथा सीमा निकट उडानको विषयमा सुझावहरू पठाइएको ६ महिनाभन्दा बढी भइसक्यो तर हालसम्म त्यसको कुनै प्रतिक्रिया आएको छैन ।

सन् २०१४ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा हवाई रुटको विषयमा सहमति भएको थियो । दुवै देशका सम्बन्धित अधिकारीलाई ६ महिनाभित्र यसलाई टुङ्ग्याउन त्यतिबेला निर्देशन दिइएको थियो । त्यो निर्देशन दिएको १० वर्ष भइसक्दा समेत कुरा जहाँको त्यहीँ छ । 

नेपाल–भारतबिच हुने हरेक उच्चस्तरीय भ्रमणमा हवाई रुटको विषय उठ्ने गरेको छ । भारतले रुट उपलब्ध गराउने प्रतिबद्धता पनि जनाउँदै आएको छ । तर अवस्थामा केही सुधार भएको छैन ।

भारतले गोरखपुरमा रहेको सैनिक ब्यारेकमाथि हवाई क्षेत्र पर्ने भएकाले भैरहवामा विमान प्रवेश बिन्दु उपलब्ध गराउन नचाहेको जानकारहरू बताउँछन् ।

‘भारतले सम्पूर्ण सीमा क्षेत्रको सुरक्षा जिम्मा आर्मीलाई दिएको छ । त्यस वरिपरिबाट उडान अनुमति दिन आर्मीको अनुमति लिनुपर्छ । आर्मीले अनुमति दिएमात्र राजनीतिक नेतृत्वबाट केही गर्न सकिने जवाफ भारतले दिने गरेको छ,’ पर्यटन मन्त्रालयका एक सहसचिवले भने ।  

भारतले थप रुट दिएन भने पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलले खासै फाइदा लिन सक्दैनन् । हाल भारतले नेपाली वायुसेवाहरूलाई सिमरा हुँदै प्रवेश अनुमति दिएको छ । अर्को रुट नदिएसम्म पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलका लागि पनि सोही रुट प्रयोग गर्नुपर्छ । त्यो रुट प्रयोग गर्दा हवाई उडान महँगो हुन्छ ।

सिमराबाट अधिकांश अन्तर्राष्ट्रिय उडानहरू नेपालमा प्रवेश गरे पनि पूर्वी प्रवेश बिन्दुबाट भुटान र ल्हासा हुँदै आएका विमान नेपाल प्रवेश गर्छन् । विज्ञहरूका अनुसार सिमरा रुटबाट काठमाडौँ प्रवेश गर्न ठिक छ तर सोही रुटबाट भैरहवा र पोखरा विमानस्थल जानुपर्दा दुरी लामो हुन्छ र त्यसले टिकटदेखि हरेक कुरा महँगो हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप