सोमबार, ०५ कात्तिक २०८१
ताजा लोकप्रिय
अन्तर्वार्ता

‘यो कुरा उपसभामुखलाई मात्र लागु हुन्छ कि अरूलाई पनि हुन्छ ?’

विद्या भण्डारीबाहेक अध्यक्ष बन्ने क्षमता भएका अरू महिला छैनन् र ? ः डा. बिन्दा पाण्डे, स्थायी समिति सदस्य, नेकपा एमाले
बिहीबार, २७ भदौ २०८१

लैङ्गिक र विकास विषयमा एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी, थाइल्याण्डबाट स्नातकोत्तर र काठमाडौँ विश्वविद्यालयबाट राजनीतिमा महिला सशक्तीकरण विषयमा विद्यावारिधि गरेकी डा. बिन्दा पाण्डेसँग संविधान सभा सदस्य र प्रतिनिधिसभा सदस्य भएर काम गरेको अनुभव पनि छ । जिफण्ट ट्रेड युनियन पोलिसी इन्स्टिच्युटको अध्यक्षसमेत रहेकी पाण्डे एमाले स्थायी समिति सदस्य र अर्थ तथा योजना विभाग प्रमुख पनि हुन् ।

सबै विषयलाई पार्टीको साँघुरो दायराभित्रबाट मात्र हेर्नुपर्छ भन्ने मान्यता उनमा छैन । नेता पाण्डेसँग उपसभामुखविरुद्ध ल्याइने भनिएको अविश्वास प्रस्ताव, अनेक काण्डमा मुछिएका एमालेका नेता, कार्यकर्ताको कारबाहीको विषय, एकपछि अर्को व्यक्तिमाथि सरकारले सुरु गरेको आक्रमणलगायत विषयमा रोहित दाहालले विस्तृत कुराकानी गरेका छन् । पाण्डेसँगको कुराकानीको सम्पादित अंश– 

  • उपसभामुख इन्दिरा रानामगरले आफू बाहेकका पाँच जना व्यक्तिलाई पनि भिसाको अन्तर्वार्ताका लागि समय उपलब्ध गराइदिनु भनी अमेरिकी दूतावासलाई लेखेको पत्रबारे तपाईंको व्यक्तिगत टिप्पणी के हो ?

–अहिलेसम्म हाम्रो संसदीय अभ्यासमा नभएको अभ्यास हो । त्यो पदले उहाँलाई त्यसो गर्न नदिने कुरा हो ।

binda pandey 5

  • त्यो उहाँको गल्ती थियो कि कमजोरी ?

–सिकाइको हिसाबले वा उहाँलाई थाहा थिएन भन्ने हिसाबले आएको छ । त्यसरी हेर्दा यसलाई कमजोरी मान्न सकिन्छ ।

  • उहाँले करुणाभावले मैले त्यसो गरेको हो भन्नुभएको छ । 

–करुणाभाव भन्ने कुराले त झन् क्षम्य हुँदैन । त्यसको अर्थ त्यसो गर्नुहुन्न भन्ने थाहा थियो, तर करुणाभाव जाग्यो अनि गरिदिएँ भन्ने अर्थ लाग्छ । 

  • दूतावासलाई पत्र लेख्नु आफूविरुद्ध प्रस्ताव खेप्नुपर्ने तहसम्मको गल्ती हो ?

–विगतको अभ्यासलाई पनि हामीले हेर्नुपर्छ । भविष्यमा पनि यस्ता कुराले के असर पर्छ भन्ने कुराको विश्लेषण गर्नुपर्छ । राजीनामा कि आफूविरुद्धको प्रस्ताव भन्ने कुरामा समग्रमा हाम्रो राजनीति कति इथिकल छ भनेर हेर्नुपर्छ । यो कुरा उपसभामुखलाई मात्र लागु हुन्छ कि अरूलाई पनि लागु हुन्छ ? अरू व्यक्तिको हकमा पनि हेर्नुपर्छ । अहिले पनि क्याबिनेटमा रहेका थुप्रै मन्त्रीहरूबारे प्रश्न उठिरहेका छन् । सबैलाई यही हिसाबले हेरेर जाने दलहरूबिच प्रतिबद्धता आयो भने यसलाई प्रस्थान विन्दु मानेर जान सकिन्छ ।

  • उपसभामुखविरुद्ध प्रस्तावबारे तपाईंको पार्टीको धारणाचाहिँ के हो ?

–यस विषयमा पार्टीमा छलफल भएको छैन । मलाई जानकारी छैन ।

binda pandey 2

  • १९ महिनाअघिको घटना हो । त्यसबिचमा के–के भए सबैलाई थाहै छ । अहिलेचाहिँ राजनीतिक प्रतिशोधको हिसाबले उपसभामुखविरुद्ध प्रस्तावको कुरा आएकोचाहिँ प्रस्ट देखिन्छ । 

–यस विषयमा धेरै बहस नगरौँ । यसमा मैले धेरै धारणा दिइरहन पनि चाहन्नँ ।

  • उपसभामुख महिला÷जनजाति हुनुहुन्छ । त्यस कारण पनि बढी उचालियो भन्ने भनाई पनि छ नि ?

–सभामुख पुरुष भएपछि उपसभामुख महिला नबनाई दलहरूलाई सुखै थिएन । अब पदमा पुगेपछि चाहिँ महिला र पुरुष भन्ने हुँदैन । ऊ समग्रको नेता हो । त्यसमा अरू विशेषण थप्न आवश्यक छैन ।

  • राजदूत नियुक्ति समावेशी भएन भएन भनेर उपसभामुख, पटक पटक मन्त्री, पटकपटक सांसद भइसकेकी सम्भ्रान्त चित्रलेखा यादवलाई बनाइयो । आरजु राणालाई मन्त्री बनाएर मन्त्रिपरिषद्मा महिला सहभागिता गराइयो भनियो । यही हो हामीले खोजेको महिला सहभागिता ?

–अरू महिला जाँदा महिला सहभागिता हुने उहाँहरू जाँदा नहुने भन्ने हुँदैन । उहाँहरू महिला त महिला नै हो नि ।  

binda pandey 3

  • हाम्रो संविधानको स्पिरिट र तपाईंहरुले भन्दै आएको महिला सहभागिता यस्तै हो त्यसो भए ?

–प्रवृत्तिमा भएको समस्यालाई प्रणालीले बाँध्न नसकिने रहेछ । समावेशीको आधार भनेको लैङ्गिकता मात्र होइन । लैङ्गिकताभित्र पनि मूल कुरो वर्गीयता हो । अहिले वर्गीयता भन्ने कुरा नै हटाइएको छ ।

  • यही विषयमा वर्षौँदेखि तपाईंहरु लागि रहनुभएको छ । तर आफ्नै पार्टीमा लागु गर्न सक्नुभएको छैन । अनि तपाईंले अरू कसलाई भन्नुभएको ?

–जतिजति  मूलधारमा गयो, जतिजति सिस्टम बनाउँदै गयो, त्यतित्यति व्यवहारचाहिँ पश्चगामी भएको स्थिति छ । 

  • एमालेमा पनि त्यस्तै छ ?

–सहभागिताका हिसाबले नेकपा एमाले तुलनात्मक रूपमा अगाडी छ ।  तर संविधानको भावना अनुसार, जनताको बहुदलीय जनवादको मर्म र भावनाअनुसार, महिला आन्दोलनको मर्म र भावनाको प्रतिविम्ब लिडरसिपमा परेको छ त ?

  • भनेपछि एमालेको अध्यक्ष बिन्दा पाण्डेहरू बन्ने कुरा कल्पनाको कुरा मात्र हो ? 

–कहिले हुनुहुन्छ भन्ने होइन । तर एमालेको कुनै तहमा अर्थात् अध्यक्ष, महासचिव, सचिव, पदाधिकारी चलाउन सक्ने महिला छन् कि छैनन् भन्यो भने चाहिँ छन् । प्रमुख कुरा त्यो हो । हिजोसम्म त त्यो पनि थिएन नि ।

  • तर एघारौँ महाधिवेशनपछि एमालेको अध्यक्षमा महिला आउने आंकलन पनि गरिँदैछ नि ?

–को आउने ?

binda pandey

  • पूर्वराष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी ।

–किन ? त्यो क्षमता राख्ने उहाँबाहेक अरू कोही छैनन् र ? आउने÷नआउने उहाँको कुरा हो । उहाँ नआउँदा पनि अध्यक्ष भएर चलाउन सक्ने हैसियत भएका महिला एमालेमा छन् । 

  • प्रधानमन्त्रीले पहिलो निशाना विद्युत् प्राधिकरणतिर सोझ्याउनुभयो । त्यसपछि काठमाडौँ महानगरपालिकाका प्रमुख हुँदै उपसभामुखमा आइपुग्नुभएको छ । प्रधानमन्त्रीको काम गर्ने शैली ठिकै छ नि होइन ?  

–लिडरसिपले हरेक कुराको विश्लेषण गरेर विवेक प्रयोग गर्न सक्नुपर्छ । विश्लेषणको आधारमा विवेक प्रयोग गर्न नसक्ने व्यक्ति पदीय हिसाबले कुर्सीमा भए पनि त्यो सही रूपमा नेता होइन । नेतृत्व भनेको विवेकी हुनुपर्छ । विवेक भनेको कोठामा बसेर हुँदैन । लोकतान्त्रिक प्रणालीमा काम गर्नेले आम नागरिकले के भनिरहेको छ ? र, मैले गरेको कामले नागरिकको जीवनमा सकारात्मक प्रभाव पारेको छ कि छैन ? हेर्नेचाहिँ त्यो हो ।

  • जसले सजिलै नागरिकता प्राप्त गर्ने अवस्था छ, उसलाई बालुवाटार बोलाएर प्रधानमन्त्री नागरिकता दिनुहुन्छ र  फोटो खिचाउनुहुन्छ । यो शैली पनि ठिकै हो  ? 

–यो मुलुकमा अहिले पनि १७ प्रतिशत नागरिक एकल आमासँग बस्छन् । उनीहरूले नागरिकता पाउन कति झमेला भोगिरहेका छन् ? त्यसको सहजीकरण गर्ने काम सरकारको होइन ? प्रकाश तामाङसँग नागरिकता नभएको हो । तर उनले चाहँदा त सजिलै नागरिकता पाउँथे नि । कोही लागिरहनै पर्दैन थियो नि ।

binda pandey 4

  • यसको मतलब सरकारले सही दिशा समात्न सकेको छैन ?

–फर्केको सही दिशातिर छ । पहिलाभन्दा गर्ने प्रयत्न यसपालि चाहिँ गरेको छ । तर जति फराकिलो होराइजनलाई कभर गर्नुपर्थ्यो त्यो भने हुन सकेको छैन ।

  • नेतृत्व विवेकी, सहिष्णु हुनुपर्छ भन्नुभयो, ती दुवै कुरा हाम्रो प्रधानमन्त्रीमा छन् नि होइन ?

–हरेकलाई एउटै व्यक्ति फरक फरक लाग्न सक्छ । कोही मेरा अगाडि जाँदा डर लाग्छ भन्छन् । कतिपयले एकदमै फ्रेण्ड्ली देख्छन् । 

  • अहिलेको सरकारले पनि आश जगाउनचाहिँ सकेको छैन भन्यो भने ।

–आश जगाउन खोज्छ तर कताकता भुमरीमा गएर फस्छ । 

केही दिनअघि सकिएको पार्टीको पोलिटब्यूरो बैठकमा अध्यक्षले कि रमाइलो गर्न जाऊ कि पार्टीमा बस । दुवैतिर बस्न मिल्दैन भन्नुभयो । ती रमाइलो गर्नेलाई कारबाही हुन्छ त ?

–कारबाही हुनुपर्छ । कारबाही भएन भने ०८४ मा नागरिकले एमालेलाई कारबाही गरिदिन्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया