बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
विश्वकप लिग–२

गर या मर : नेपाली क्रिकेटको भविष्य जोडिएका दुई महत्त्वपूर्ण शृङ्खला

उत्कृष्ट प्रदर्शनको लक्ष्यसहित नेपाली क्रिकेट टोली दुई महिने यात्रामा
शुक्रबार, २८ भदौ २०८१, ०७ : ००
शुक्रबार, २८ भदौ २०८१

काठमाडौँ । गतिलो तयारी, उच्च मनोबल र उत्कृष्ट प्रदर्शनको लक्ष्यसहित नेपाली राष्ट्रिय क्रिकेट टोली एउटा महत्त्वपूर्ण यात्रामा निस्किएको छ । करिब दुई महिना लामो यो यात्रा नेपाली क्रिकेटको भविष्यसँग पनि जोडिएको छ ।

यो यात्राका क्रममा नेपाली टोलीले आईसीसी क्रिकेट वर्ल्ड कप लिग–२ प्रतियोगिता अन्तर्गतको दुईवटा महत्त्वपूर्ण शृङ्खला खेल्नेछ । लिग–२ अन्तर्गत नेपाली टोलीले पहिले क्यानडामा त्रिकोणात्मक शृङ्खला खेल्नेछ ।

क्यानडामा हुने लिग–२ शृङ्खलामा तेस्रो टोलीका रूपमा ओमान सहभागी हुनेछ । क्यानडामा हुने शृङ्खला सकिएपछि नेपाली टोली लिग–२ अन्तर्गतकै अर्को शृङ्खला खेल्न अमेरिका प्रस्थान गर्नेछ । अमेरिकामा खेलिने शृङ्खलामा तेस्रो टोलीको रूपमा स्कटल्यान्डको सहभागिता रहने छ ।

यी दुवै शृङ्खला नेपालका लागि निकै महत्त्वपूर्ण छ । लिग–२ अन्तर्गत नेपालले हालसम्म एउटा शृङ्खला मात्र खेलेको छ । गत फेब्रुअरीमा घरेलु मैदानमा सम्पन्न आफ्नो पहिलो शृङ्खलामा नेपालको प्रदर्शन निराशाजनक रहेको थियो ।

नेदरल्यान्ड्स र नामिबियाको समेत सहभागिता रहेको त्यो त्रिकोणात्मक शृङ्खलाका क्रममा आफूले खेलेको चारमध्ये तीन खेलमा नेपाली टोली पराजित भएको थियो । घरेलु मैदानमै खेलिएको पहिलो शृङ्खला नतिजामुखी नभएपछि नेपाल अङ्क तालिकामा पनि पछाडि परेको छ । त्यसैले पनि क्यानडा र अमेरिकामा खेलिने शृङ्खला नेपालका लागि निकै महत्त्वपूर्ण छ ।

  • यस्तो छ अङ्क तालिकाको अवस्था

जारी लिग–२ प्रतियोगितामा आठ टोली सहभागी छन् । यसअघि लिग–२ को पहिलो संस्करणमा सात टोलीमात्र सहभागी थिए । अघिल्लो संस्करणको आईसीसी क्रिकेट वर्ल्ड कप सुपर लिग अङ्क तालिकामा सबैभन्दा तल (१३औँ स्थानमा) रहेको राष्ट्र नेदरल्यान्ड्सलाई पनि यसपटक लिग–२ मा समावेश गरिएको हो । लिग–२ तालिकामा अहिले नेदरल्यान्ड्स नै पहिलो स्थानमा आसीन छ ।

नेदरल्यान्ड्सले हालसम्म आफूले खेलेको आठमध्ये ६ खेलमा जित र दुई खेलमा हारको नतिजाबाट १२ अङ्क जोडेको छ । नेदरल्यान्ड्सको नेट रन रेट ०.२८७ रहेको छ । सात खेल खेलेको स्कटल्यान्ड नौ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । स्कटल्यान्डले चार जित र दुई हारको नतिजा निकालेको छ । स्कटल्यान्डको एक खेल भने अनिर्णीत रूपमा सकिएको थियो । स्कटल्यान्डको नेट रन रेट १.५०३ छ ।

यसैगरी, आठ खेल खेलेको क्यानडा आठ अङ्कसहित तेस्रो स्थानमा छ । क्यानडाले चार जित र चार हारको नतिजा निकालेको छ । क्यानडाको नेट रन रेट –०.१३९ रहेको छ । आठ खेल खेलेको नामिबिया आठ अङ्कसहित चौथो स्थानमा छ । नामिबियाले चार जित र चार हारको नतिजा निकालेको छ । नामिबियाको नेट रन रेट –०.३६६ रहेको छ ।

यसैगरी, हालसम्म चार खेल खेलेको अमेरिका दुई जित र दुई हारबाट चार अङ्क बटुल्दै तालिकाको पाँचौँ स्थानमा छ । अमेरिकाको नेट रन रेट ०.०९० रहेको छ । समान चार खेल खेलेको ओमान एक जित र दुई हारबाट तीन अङ्क जोड्दै छैटौँ स्थानमा छ । ओमानको एक खेल भने अनिर्णीत रूपमा सकिएको थियो । ओमानको नेट रन रेट –१.०६६ रहेको छ ।

यसैगरी, हालसम्म चार खेल खेलेको नेपाल दुई अङ्कसहित तालिकाको सातौँ स्थानमा छ । नेपालले एक जित र तीन हारको नतिजा निकालेको छ । नेपालको नेट रन रेट –०.११८ रहेको छ । हालसम्म अङ्क बटुल्न नसकेको संयुक्त अरब इमिरेट्स (यूएई) आठौँ स्थानमा आसीन छ । यूएई आफूले खेलेको तीनवटै खेलमा पराजित भएको छ । यूएईको नेट रन रेट –१.०७२ रहेको छ ।

  • यस कारण महत्त्वपूर्ण छ यो प्रतियोगिता

आईसीसी क्रिकेट वर्ल्ड कप लिग–२ प्रतियोगिता सहभागी टोलीहरूका लागि निकै महत्त्वपूर्ण छ । यो प्रतियोगिता सन् २०२७ मा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपका लागि छनोटको आधारका रूपमा पनि रहेको छ । सन् २०२७ को एकदिवसीय विश्वकप दक्षिण अफ्रिका, जिम्बाबे र नामिबियामा संयुक्त रूपमा आयोजना हुँदैछ ।


पहिलो संस्करणमा नेपाली टोलीसँग एउटा रमाइलो संयोग पनि जोडिएको थियो । शृङ्खलाका सुरुआती चरणका खेलमा नेपालको प्रदर्शन निकै निराशाजनक थियो । तर, नेपाली टोली पछिल्ला तीन शृङ्खलामा खेलिएका कुल १२ मध्ये ११ खेलमा जित हात पार्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको थियो ।


लिग–२ प्रतियोगिताको समाप्तिपछि अङ्क तालिकाको माथिल्लो चार स्थानमा रहने राष्ट्र सिधै सन् २०२७ मा आयोजना हुने एकदिवसीय विश्वकपको छनोट चरणमा प्रवेश गर्नेछन् । लिग–२ तालिकाको अन्तिम चार स्थानमा रहने राष्ट्रले भने विश्वकप क्वालिफायरको प्ले–अफ चरण खेल्नु पर्नेछ ।

प्रतियोगिताको पहिलो संस्करण सन् २०१९ देखि सन् २०२३ सम्म आयोजना भएको थियो । त्यो प्रतियोगितामा तेस्रो भएको नेपालले सिधै सन् २०२३ को एकदिवसीय विश्वकपको छनोट चरण खेल्ने अवसर पाएको थियो ।

लिग–२ को पहिलो संस्करणमा ३६ खेलबाट ५० अङ्क बटुल्दै स्कटल्यान्ड पहिलो, समान खेलबाट ४४ अङ्क जोड्दै ओमान दोस्रो र समान खेलबाट ४० अङ्क बटुल्दै नेपाल तेस्रो भएका थिए । तीनवटै टोली सिधै विश्वकपको छनोट चरणमा पुगेका थिए ।

पहिलो संस्करणमा नेपाली टोलीसँग एउटा रमाइलो संयोग पनि जोडिएको थियो । शृङ्खलाका सुरुआती चरणका खेलमा नेपालको प्रदर्शन निकै निराशाजनक थियो । तर, नेपाली टोली पछिल्ला तीन शृङ्खलामा खेलिएका कुल १२ मध्ये ११ खेलमा जित हात पार्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको थियो ।

बाँकी चार राष्ट्र नामिबिया, अमेरिका, यूएई र पपुवा न्यु गिनीले भने विश्वकप क्वालिफायरको प्ले–अफ खेल्नु परेको थियो । प्ले–अफ चरण पार गर्दै पछि यूएई र अमेरिका विश्वकप छनोट प्रतियोगितामा सहभागी भएका थिए ।

सन् २०२३ को एकदिवसीय विश्वकपको अन्तिम चरणको छनोट प्रतियोगिता जिम्बाबेमा आयोजना भएको थियो । त्यो प्रतियोगिताबाट श्रीलंका र नेदरल्यान्ड्स सन् २०२३ को एकदिवसीय विश्वकपमा छनोट भएका थिए ।

अन्तिम चरणको छनोट प्रतियोगितामा नेपाल आठौँ, यूएई नवौँ र अमेरिका दशौँ भएका थिए । यसका अतिरिक्त, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)बाट सन् २०१८ मा प्राप्त एकदिवसीय मान्यता जोगाउन पनि यो प्रतियोगिताको भूमिका रहन्छ ।

हाल आईसीसीबाट अस्थायी रूपमा एकदिवसीय मान्यता पाएका नेपालसहितका एसोसिएट्स सदस्य राष्ट्रको उक्त मान्यता सन् २०२६ को विश्वकप छनोटसम्म कायम रहने छ । यो सूचिमा स्कटल्यान्ड, यूएई, नेदरल्यान्ड्स, नामिबिया, ओमान, अमेरिका र क्यानडा पनि रहेका छन् ।  

त्यसैले यसपटक पनि लिग–२ प्रतियोगिता निकै महत्त्वपूर्ण रहेको छ । यसपटक लिग–२ तालिकाको माथिल्लो चारभित्र पर्न सके नेपाल सिधै विश्वकपको छनोट चरणमा प्रवेश गर्नेछ । अन्यथा नेपालले छनोट चरणमा प्रवेश गर्न प्ले–अफ खेल्नु पर्नेछ ।

  • शृङ्खलाको पहिलो खेलमा नेपालको अवस्था

जारी क्रिकेट वर्ल्ड कप लिग–२ अन्तर्गतको पहिलो शृङ्खला नेपालमै खेलिएको थियो । त्यो त्रिकोणात्मक शृङ्खलामा नेपाल, नामिबिया र नेदरल्यान्ड्स सहभागी थिए । फेब्रुअरी १५ तारिखमा खेलिएको शृङ्खलाको पहिलो खेलमा नेपाली टोली नामिबियासँग चार विकेटले पराजित भएको थियो ।

यसैगरी, फेब्रुअरी १७ मा खेलिएको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई नौ विकेटले हराएको थियो । फेब्रुअरी १९ मा खेलिएको तेस्रो खेलमा नेदरल्यान्ड्सले नामिबियामाथि सात विकेटको जित हासिल गरेको थियो ।

यसैगरी, चौथो खेल फेब्रुअरी २१ तारिखमा खेलिएको थियो । त्यो खेलमा नामिबियाले नेपाललाई दुई विकेटले हराएको थियो । फेब्रुअरी २३ मा खेलिएको पाँचौँ खेलमा नामिबियाले नेदरल्यान्ड्सलाई २४ रनले हराएको थियो ।

फेब्रुअरी २५ मा खेलिएको अन्तिम खेलमा नेदरल्यान्ड्सले नेपाललाई आठ विकेटले पराजित गरेको थियो । समग्रमा त्यो शृङ्खला नामिबियाका लागि निकै फलदायी सिद्ध भएको थियो । नामिबियाले आफूले खेलेको चार खेलबाट ६ अङ्क बटुलेको थियो ।

  • लिग–२ अन्तर्गतको छैटौँ शृङ्खला

लिग–२ अन्तर्गत नेपालले क्यानडामा आफ्नो दोस्रो शृङ्खला खेल्न लागेको हो । यो शृङ्खलामा नेपाल र क्यानडाका अतिरिक्त ओमान पनि सहभागी हुनेछ । समग्रमा भने जारी लिग–२ अन्तर्गतको यो छैटौँ शृङ्खला हुनेछ ।

जारी लिग–२ को दोस्रो शृङ्खला गत फेब्रुअरी–मार्चमा यूएईमा खेलिएको थियो । त्यसमा यूएई, क्यानडा र स्कटल्यान्ड सहभागी थिए । तेस्रो शृङ्खला गत जुलाईमा स्कटल्यान्डमा खेलिएको थियो । त्यसमा स्कटल्यान्ड, नामिबिया र ओमान सहभागी थिए ।

यसैगरी, चौथो शृङ्खला गत अगस्तमा नेदरल्यान्ड्समा खेलिएको थियो । त्यसमा नेदरल्यान्ड्स, अमेरिका र क्यानडा सहभागी थिए । पाँचौँ शृङ्खला सेप्टेम्बरमै नामिबियामा खेलिएको थियो । त्यो शृङ्खलामा नामिबिया, यूएई र अमेरिका सहभागी थिए ।

जारी लिग–२ शृङ्खलामा सहभागी आठवटै राष्ट्रले ३६–३६ खेल खेल्नेछन् । प्रत्येक राष्ट्रले घरेलु मैदानमा तीनवटा शृङ्खला खेल्नेछन् भने ६ वटा शृङ्खला अन्य राष्ट्रको मैदानमा खेल्नेछन् ।

  • नेपालको क्यानडा र अमेरिका भ्रमण

लिग–२ प्रतियोगिता एकदिवसीय ढाँचामा खेलाइन्छ । सोही अनुरूप नेपाली टोलीले क्यानडा भ्रमणका क्रममा कुल चारवटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नेछ । त्यो शृङ्खलामा तीनवटा राष्ट्रले कुल ६ खेल खेल्नेछन् ।

नेपालले आफ्नो पहिलो खेल सेप्टेम्बर १६ तारिखमा आयोजक राष्ट्र क्यानडासँग खेल्नेछ । शृङ्खलाको दोस्रो खेल सेप्टेम्बर १८ तारिखमा नेपाल र ओमानबिच खेलिने छ । सेप्टेम्बर २० मा हुने तेस्रो खेलमा आयोजक क्यानडाले ओमानको सामना गर्नेछ ।

यसैगरी, चौथो खेल सेप्टेम्बर २२ तारिखमा नेपाल र क्यानडाबिच खेलिने छ । शृङ्खलाको पाँचौँ खेल नेपाल र ओमानबिच सेप्टेम्बर २४ तारिखमा खेलिने छ । शृङ्खलाको छैटौँ तथा अन्तिम खेल सेप्टेम्बर २६ तारिखमा ओमान र क्यानडाबिच हुनेछ ।

एकदिवसीय शृङ्खला सकिएलगत्तै क्यानडामै त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृङ्खला पनि खेलिने छ । टी–२० शृङ्खलामा पनि यी तीन राष्ट्र नै सहभागी हुनेछन् । लिग–२ अन्तर्गतको प्रत्येक शृङ्खला सकिएलगत्तै त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेलिने परम्परा रहँदै आएको छ ।

अमेरिका भ्रमणका क्रममा पनि नेपाली टोलीले लिग–२ अन्तर्गत आयोजक राष्ट्र र स्कटल्यान्डसँग दुई–दुई खेल खेल्नेछ । लिग–२ शृङ्खलाको समाप्तिपछि अमेरिकामै तीन राष्ट्रबिच टी–२० अन्तर्राष्ट्रिय शृङ्खला पनि खेलिने छ । 

सोही अनुरूप, पहिलो टी–२० खेल सेप्टेम्बर २८ तारिखमा नेपालविरुद्ध क्यानडाबिच खेलिने छ । दोस्रो टी–२० सेप्टेम्बर २९ मा नेपालविरुद्ध ओमानबिच हुनेछ । सेप्टेम्बर ३० मा क्यानडा र ओमानबिच तेस्रो टी–२० खेलिने छ ।

चौथो खेल अक्टोबर १ मा नेपाल र क्यानडाबिच, पाँचौँ खेल अक्टोबर २ मा नेपाल र ओमानबिच तथा छैटौँ टी–२० अन्तर्राष्ट्रिय अक्टोबर ३ तारिखमा क्यानडा र ओमानबिच खेलिने छ । क्यानडा भ्रमणपछि नेपाली टोली लिग–२ अन्तर्गतको आफ्नो तेस्रो शृङ्खला खेल्न अमेरिका प्रस्थान गर्नेछ । 

अमेरिका भ्रमणका क्रममा पनि नेपाली टोलीले लिग–२ अन्तर्गत आयोजक राष्ट्र र स्कटल्यान्डसँग दुई–दुई खेल खेल्नेछ । लिग–२ शृङ्खलाको समाप्तिपछि अमेरिकामै तीन राष्ट्रबिच टी–२० अन्तर्राष्ट्रिय शृङ्खला पनि खेलिने छ । 

  • यस्तो छ नेपाली टोली

नेपाल क्रिकेट संघ (क्यान) ले लिग–२ अन्तर्गत क्यानडामा हुने त्रिकोणात्मक शृङ्खलाका लागि यसअघि नै आफ्नो टोलीको घोषणा गरिसकेको छ । नेपाली टोली प्रतियोगितामा सहभागी हुन मंगलबार राति नै क्यानडा प्रस्थान गरिसकेको छ ।

nepalese team

क्यानले रोहित कुमार पौडेलको कप्तानीमा टोलीको घोषणा गरेको हो । घोषित नेपाली टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलसन कुमार झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजवंशी रहेका छन् ।

देब खनाल पनि रिजर्भ खेलाडीका रूपमा क्यानडा प्रस्थान गरेका छन् । नेपाली टोलीको प्रशिक्षकमा मोन्टी देसाई रहेका छन् । लामो समय राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक रहेका जगत टमाटालाई पनि कन्सल्टेन्ट प्रशिक्षकका रूपमा टोलीमा समावेश गरिएको छ । कप्तान रोहित र दीपेन्द्र भने यसअघि नै क्यानडामा छन् । उनीहरुले क्यानडामै लिग–२ को तयारी गरिरहेका छन् ।

लिग–२ अन्तर्गत क्यानडा र अमेरिकामा खेलिने शृङ्खलामा नेपाली टोलीको प्रदर्शनप्रति नेपाली खेल पदाधिकारी उत्साही देखिएका छन् ।

नेपाली टोलीले क्यानडा र अमेरिकाविरुद्धको शृङ्खलाका लागि भारतको बैंगलुरुमा करिब दुई साता प्रशिक्षण गरेको थियो । बैंगलुरुमा रहँदा त्यहाँका प्रशिक्षकहरुले पनि नेपाली टोलीका खेलाडीलाई अभ्यास गराएका थिए ।

त्यसपछि नेपाली टोली अन्तिम तयारीका लागि श्रीलंका गएको थियो । भ्रमणका क्रममा नेपाली टोलीले श्रीलंका डेभलपमेन्ट स्क्वाडसँग तीनवटा अभ्यास खेल खेल्ने कार्यक्रम रहेको थियो । तर, वर्षाका कारण पहिलो र दोस्रो खेल रद्द भएको थियो ।

शृङ्खलाको तेस्रो खेलमा भने नेपाली टोली श्रीलंका डेभलपमेन्ट स्क्वाडसँग पराजित भएको थियो । श्रीलंकाबाट फर्किएलगत्तै नेपाली टोली लिग–२० अन्तर्गतको आफ्नो दोस्रो र तेस्रो शृङ्खला खेल्न करिब दुई महिना लामो भ्रमणका लागि प्रस्थान गरेको हो ।

के भन्छन् खेल पदाधिकारी ?

लिग–२ अन्तर्गत क्यानडा र अमेरिकामा खेलिने शृङ्खलामा नेपाली टोलीको प्रदर्शनप्रति नेपाली खेल पदाधिकारी उत्साही देखिएका छन् । क्यानका सचिव पारस खड्काले क्यानडा र अमेरिका भ्रमणका क्रममा नेपाली टोलीले गतिलो प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन् ।

‘जारी लिग–२ शृङ्खला नेपाली क्रिकेटको भविष्यसँग पनि जोडिएको छ । यो शृङ्खलाका लागि हाम्रा खेलाडीले राम्रो तयारी पनि गरेका छन् । हामीले यी दुवै शृङ्खलामा उत्कृष्ट प्रदर्शनको आशा गरेका छौँ,’ खेलाडीको बिदाइ कार्यक्रममा सचिव खड्काले भनेका छन् ।

team nepal 2

उनले क्यानडामा लिग–२ शृङ्खलाअघि नेपाली टोलीले एउटा अभ्यास खेल खेल्ने कार्यक्रम रहेको जानकारी पनि उनले दिएका छन् । उनका अनुसार, नेपाली टोलीले क्यानडा–११ विरुद्ध एउटा अभ्यास खेल खेल्नेछ ।

यसैगरी, नेपाली टोलीका प्रमुख प्रशिक्षक देसाईले पनि क्यानडा र अमेरिकामा हुने लिग–२ शृङ्खलामा आफ्नो टोलीले उत्कृष्ट प्रदर्शन गर्ने दाबी गरेका छन् । उनले भारतको बैंगलुरुमा गरेको प्रशिक्षणले खेलाडीको प्रदर्शनमा निकै फाइदा पुर्‍याएको बताएका छन् ।

‘खेलाडीको मनोबल उच्च छ । प्रतियोगिताको तयारी पनि राम्रो छ । भारतको बैंगलुरुमा गरिएको तयारीले पनि गतिलो फाइदा पुर्‍याएको छ,’ उनले भनेका छन्, ‘भारत भ्रमणका क्रममा हाम्रा खेलाडीले धेरै कुरा सिक्ने अवसर पाए । त्यहाँका विभिन्न प्रशिक्षकले हाम्रा खेलाडीलाई गहन तरिकाले प्रशिक्षण दिए । यो अनुभव हाम्रा खेलाडीले लिग–२ शृङ्खलामा प्रयोग गर्नेछन् ।’

monti desai

प्रशिक्षक मोन्टीले नेपाली टोलीको तयारीमा श्रीलंका भ्रमणले पनि फाइदा पुगेको बताएका छन् । ‘श्रीलंका भ्रमणका क्रममा तीनवटा अभ्यास खेल खेल्ने कार्यक्रम थियो तर, वर्षाले बाधा पुर्‍यायो । हामीले एउटा अभ्यास खेल भने खेल्न पायौँ । त्यो खेल हाम्रा लागि महत्त्वपूर्ण रह्यो । समग्रमा लिग–२ शृङ्खलाका लागि हाम्रो तयारी राम्रो छ,’ उनले भने ।

यसैगरी, नेपाली टोलीका अनुभवी खेलाडी सन्दीप लामिछानेले पनि क्यानडा र अमेरिकामा हुने लिग–२ शृङ्खलामा उत्कृष्ट प्रदर्शनका लागि आफूहरू तयार रहेको बताएका छन् । ‘नेपाली क्रिकेटको सुखद भविष्यका लागि पनि यो शृङ्खला निकै महत्त्वपूर्ण छ । लिग–२ शृङ्खला नेपालको एकदिवसीय मान्यतासँग पनि जोडिएको छ । त्यसैले यो शृङ्खलामा हामीसँग उत्कृष्ट प्रदर्शन गर्नुको विकल्प छैन,’ उनले भनेका छन् ।

प्रभावशाली लेग–स्पिनर सन्दीपले क्यानडा र अमेरिकामा हुने शृङ्खलाका लागि आफूहरूले गतिलो तयारी गरेको पनि बताएका छन् । ‘म करिब एक वर्षपछि एकदिवसीय प्रतियोगिता खेल्ने तयारीमा छु । त्यसैले यो शृङ्खलाका लागि म पनि उत्साही छु,’ उनले भनेका छन्, ‘मैले यसअघि पनि क्यानडामा क्रिकेट खेलिसकेको छु । हाम्रोभन्दा त्यहाँको परिस्थिति केही फरक छ । क्यानडाको विकेट पनि निकै फरक छ । तर, हामी सबै खेलाडी उत्कृष्ट प्रदर्शनका लागि मानसिक रूपमा पनि तयार छौँ,’ उनले भनेका छन् ।

पछिल्लो समय नेपालले एकदिवसीय ढाँचाको प्रतियोगिताभन्दा टी–२० ढाँचाको प्रतियोगिता बढी खेलेको छ । यस विषयमा सन्दीप भन्छन्, ‘विश्वस्तरमा प्रतिस्पर्धा गर्ने क्रिकेट खेलाडीले हरेक ढाँचाका लागि तयार हुनु पर्छ । जुनसुकै ढाँचाको प्रतियोगिता भए पनि खेलाडीले आफ्नो तर्फबाट उत्कृष्ट प्रदर्शन गर्ने हो ।’


‘अहिले क्यानको व्यवस्थापन चुस्त छ । खेलाडीहरूले नियमित रूपमा प्रतियोगिता खेल्ने अवसर पाएका छन् । वैदेशिक प्रशिक्षणको अवसर पनि पाएका छन् । त्यसैले यो शृङ्खलामा हाम्रो प्रदर्शन उत्कृष्ट रहनेमा म विश्वस्त छु,’ उनले भनेका छन् ।


यसैगरी, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले पनि लिग–२ को आफ्नो दोस्रो र तेस्रो शृङ्खलामा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे । ‘लिग–२ को अघिल्लो संस्करणमा हामीले अन्तिम समयमा आएर उत्कृष्ट पुनरागमन गरेका थियौँ । तर, यसपटक हाम्रो तयारी राम्रो छ । खेलाडीबाट नतिजामुखी प्रदर्शनको आशा गरेका छौँ,’ उनले भनेका छन् ।

उनले पछिल्लो समय क्यानको चुस्त व्यवस्थापनका कारण पनि प्रतियोगिताको तयारीमा फाइदा पुगेको धारणा व्यक्त गरेका छन् । पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा नेपाल र क्रिकेट एकअर्काको पर्यायको रूपमा स्थापित हुँदै गएको बताउँदै नेपाली खेलाडीले आगामी दिनमा पनि यो साखलाई जोगाउने विश्वाससमेत व्यक्त गरेका छन् ।

‘अहिले क्यानको व्यवस्थापन चुस्त छ । खेलाडीहरूले नियमित रूपमा प्रतियोगिता खेल्ने अवसर पाएका छन् । वैदेशिक प्रशिक्षणको अवसर पनि पाएका छन् । त्यसैले यो शृङ्खलामा हाम्रो प्रदर्शन उत्कृष्ट रहनेमा म विश्वस्त छु,’ उनले भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोशन राउत
रोशन राउत
लेखकबाट थप