शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय

‘आर्थिक विकासका लागि अन्तरदेशीय पूर्वाधारमा आबद्धता आवश्यक’

बिहीबार, २७ भदौ २०८१, १५ : ०१
बिहीबार, २७ भदौ २०८१

काठमाडौँ । नेपाल पूर्वाधार सम्मेलनको सत्रमा सहभागीहरूले दक्षिण एसिया क्षेत्रमा अन्तरदेशीय पूर्वाधार आबद्धता नहुँदा व्यापार वृद्धिमा अवरोध भइरहेको बताएका छन् । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा काठमाडौँमा आयोजित नेपाल पूर्वाधार सम्मेलनको दोस्रो सत्रमा विज्ञहरूले अन्तरदेशीय पूर्वाधार आबद्धतामा जोड दिएका हुन् । 

क्षेत्रीय पूर्वाधार र त्यसको एकीकरण (इन्टिग्रेसन) सत्रका मुख्य वक्ता भारतका लागि नेपालका पूर्वराजदूत तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. शंकर शर्माले दक्षिण एसिया जनसंख्या र भूगोलको रूपमा ठुलो क्षेत्र भएर पनि पूर्वाधार विकासको रूपमा सबैभन्दा न्यून अन्तरआवद्धता रहेको बताए । ‘दक्षिण एसिया क्षेत्रीय व्यापार वृद्धि गर्न यहाँका देशहरूबिच यातायात आवद्धतालाई वृद्धि गर्नुपर्नेछ,’ उनले भने । न्यून आबद्धता हुनुमा राजनीतिक समस्या भएको र विशेषगरी भारत–पाकिस्तान चिसो सम्बन्धका कारण पनि यो क्षेत्रलाई असर गरिरहेको उनको भनाइ छ । 

न्यून लागत र उच्च प्रतिफल प्राप्त गर्नको लागि रेल यातायात, पानीजहाज, एकीकृत जाँचचौकी र डिजिटल आवद्धतालाई पनि उच्च प्राथमिकता दिनुपर्नेमा डा. शर्माले जोड दिए । ‘नेपालको सन्दर्भमा दक्षिण एसियाका अन्य देशहरुसँग विद्युत् प्रसारणलाइन निर्माणमार्फत एकीकरण गर्नुपर्नेछ । पछिल्ला वर्षहरुमा नेपाल र भारतबिच विद्युत व्यापार वृद्धि हुँदै गएको र यसलाई अझ प्रवर्द्धन गर्नुपर्नेछ । बंगलादेशले चाहेर पनि प्रसारणलाइन नहुँदा नेपालले विद्युत निर्यात गर्न सकेको छैन । यसले पनि देशहरूबिच पूर्वाधार एकीकरणको महत्त्व प्रष्ट पारेको छ,’ उनले भने ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले दक्षिण एसिया क्षेत्रमा यातायात क्षेत्रको विकासमार्फत अन्तरआवद्धता वृद्धि गर्ने विषयलाई सरकारले प्राथमिकतामा राखेको बताए । ‘उड्डयन, रेलमार्ग, सडक तथा पानीजहाजको विकासमार्फत आबद्धता वृद्धि गरिनेछ । त्यस्तै, बीबीआइएन मोटर भेइकल सम्झौतालाई अघि बढाउने र अन्तरदेशीय व्यापार र अर्थतन्त्रलाई वृद्धि गर्नको लागि आवश्यक काम गर्ने विषय सरकारको प्राथमिकतामा छ,’ उनले भने । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत ५७ परियोजना विदेशी सहयोगमा आधारित रहेको जानकारी दिए । पूर्वाधार निर्माण वृद्धि गर्नको लागि निजी क्षेत्रको लगानीलाई सरकारले उच्च प्राथमिकतामा राखेको उनले बताए ।

सत्रका अर्का वक्ता मलेसियाको एयर एसिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत बो लिंगमले एयर एसिया एसियाकै चौथो ठुलो एयरलायन्स कम्पनी भएको र यसले नेपालमा पनि सेवा सुरु गर्ने क्रममा रहेको बताए । ‘यसले नेपालमा ढुवानी र पर्यटन वृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याउने र नेपालमा दक्षिण पूर्वी क्षेत्रबाट आउने पर्यटकको संख्या वृद्धि गर्नमा योगदान पुग्नेछ,’ उनले भने । 

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अन्तरदेशीय प्रसारणलाइन निर्माणलाई प्राथमिकतामा राखिएको बताए । भारतसँगका केही प्रसारणलाइन निर्माणको कामले गति लिएको र बंगलादेशमा विद्युत् निर्यातको लागि आवश्यक प्रसारणलाइनले जोड्ने प्रयास भइरहेको उनले बताए । त्यस्तै, पूर्व–पश्चिम प्रसारणलाइन निर्माणको बाँकी रहेको खण्ड निर्माण अघि बढिरहेको र यसले गुणस्तरीय विद्युत उपलब्धतालाई वृद्धि गर्ने घिसिङको भनाइ छ । 

एसियाली विकास बैंकको भारतस्थित आवासीय मिसनका वरिष्ठ कार्यक्रम अधिकृत सौम्य चट्टोपाध्यायले अन्तरदेश यातायात आबद्धता वृद्धि गर्नको लागि परियोजना निर्माण, व्यापार वृद्धिलगायतमा काम गरिरहेको बताए । ‘नेपाल र भुटानजस्ता भूपरिवेष्ठित देशलाई बन्दरगाहसम्मको पहुँच उपलब्ध गराउन र सहज व्यापार गर्नको लागि एसियाली विकास बैंकले ठुलो लगानी गरिरहेको छ,’ उनले भने । नेपालको पश्चिमी क्षेत्रलाई भारतसँग सहज पहुँच वृद्धि गर्न सकेमा आर्थिक वृद्धिको लागि ठुलो सहयोग पुग्ने उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप