आर्सनलसँग तीन वर्षका लागि नयाँ सम्झौता गर्दै प्रमुख प्रशिक्षक मिकेल अर्टेटा
काठमाडौँ । इङ्लिस प्रिमियर लिग क्लब आर्सनलले प्रशिक्षक मिकेल अर्टेटासँग थप अवधिका लागि नयाँ सम्झौता गर्ने भएको छ । ४२ वर्षीय स्पेनिस प्रशिक्षक अर्टेटा यसमा सहमत भएको क्लबले जनाएको छ ।
आर्सनले यस विषयमा लामो समयदेखि प्रशिक्षक अर्टेटासँग छलफल गर्दै आएको थियो । तर, अर्टेटाले स्पष्ट जवाफ दिएका थिएनन् । अहिले आएर प्रशिक्षक अर्टेटा नयाँ सम्झाताका लागि समहत भएको समाचारमा जनाइएको छ ।
आर्सनलका अनुसार, आर्सनलले अब प्रशिक्षक अर्टेटासँग थप तीन वर्षका लागि नयाँ सम्झौता गर्ने बताइएको छ । आर्सनलसँग अर्टेटाको सम्झौता अवधि यही सिजनको अन्त्यमा सकिँदै थियो । नयाँ सम्झौतापछि उनी सन् २०२७ सम्म आर्सनलमा रहेने छन् ।
अर्टेटा सन् २०१९ मा आर्सनलको प्रशिक्षक बनेका थिए । उनी आर्सनलकै पूर्वखेलाडी पनि हुन् । उनले सन् २०११ देखि सन् २०१६ सम्म आर्सनलबाट ब्यवसायिक फुटबल खेलेका थिए । अर्टेटाको प्रशिक्षकत्वमा आर्सनल अघिल्लो सिजनको प्रिमियर लिगमा दोस्रो भएको थियो ।
जारी सिजनको प्रिमियर लिगमा पनि उनको प्रशिक्षकत्वमा आर्सनल हालसम्म अपराजित रहेको छ । जारी सिजनको लिगमा हालसम्म तीन खेल खेलेको आर्सनलले दुई जित र एक बराबरीको नतिजा निकालेको छ ।
आर्सनलले उनकै प्रशिक्षकत्वमा सन् २०१९–२० सिजनमा एफए कपको उपाधि चुमेको थियो । आर्सनललाई उनले जिताएको यो पहिलो ट्रफी थियो । आफ्नो समयका प्रभावशाली मिडफिल्डर अर्टेटाले खेलाडीको भूमिकामा आर्सनलका लागि एक सय ५० खेल खेलेका थिए ।