बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

ह्यारिस वा ट्रम्पः जसले जितेपनि चीनसँगको व्यापार सम्बन्ध तनावपूर्ण नै रहने

बिहीबार, २७ भदौ २०८१, १४ : १९
बिहीबार, २७ भदौ २०८१

वासिङ्टन डिसी । पछिल्ला केही वर्षयता चीनसँग अमेरिकाको व्यापार सम्बन्ध तनावपूर्ण रहेको छ । नोभेम्बरमा हुन गइरहेको राष्ट्रपति निर्वाचनमा कमला ह्यारिस वा डोनाल्ड ट्रम्प जसले जितेपनि यी दुई देशबिचको व्यापार सम्बन्ध तनावपूर्ण नै रहने स्विस बैंक यूबीपीका वरिष्ठ अर्थशास्त्री कार्लोस कासानोभा बताउँछन् । उनको जस्तै धारणा अन्यको पनि छ । 

राष्ट्रपतिको चुनावमा रिपब्लिकन दलको उम्मेदवार ट्रम्प वा डेमोक्रेटिक उम्मेदवार ह्यारिस जसले जिते पनि चीनको लागि स्थिति कठिनै हुने देख्छन् उनीहरू ।

आफू दोहोर्‍याएर राष्ट्रपति बनेमा चीनबाट आउने सामानमा सय प्रतिशतसम्म अतिरिक्त महसुल लगाउने प्रस्ताव ट्रम्पले गरेका छन् । यसमाथि अर्को १० देखि २० प्रतिशतको महसुल पनि लगाउँछु भनेर भनेका छन् । ह्यारिसले पनि अहिलेका राष्ट्रपति जो बाइडेनले लगाएको अतिरिक्त महसुल नहटाउने विज्ञहरू बताउँछन् । तर केही गरी ट्रम्पले जिते भने अमेरिका र चीनबिचको व्यापार र आर्थिक वैमनस्यता बढ्ने सम्भावना धेरै भएको कर्नेल विश्वविद्यालयमा अर्थशास्त्रका प्राध्यापक ईश्वर प्रसाद बताउँछन् । 

 ट्रम्प प्रशासनले लगाएको अतिरिक्त महसुल यथावत् राख्दै बाइडेनले थप महसुल लगाएका थिए । गत मेमै अमेरिकाले विद्युतीय सवारी साधन, सोलार सेल, लिथियम ब्याट्री, स्टिल र आलमुनियम जस्ता १८ अर्ब डलर बराबरको चिनियाँ वस्तुमा अतिरिक्त महसुल लगाउने निर्णय गरिसकेको छ ।  राष्ट्रपतिको बहसमा पनि ह्यारिसले आफ्नो चीन नीतिबारे स्पष्ट केही पनि भनिनन् । तर चीनसम्बन्धी नीति २१ शताब्दीमा हुने प्रतिस्पर्धा अमेरिकाले जित्ने खालको सुनिश्चित गर्नु पर्नेमा उनले जोड दिएकी थिइन् ।

 यस्तोमा अमेरिका र युरोपसँग चीनको अहिलेको तनाव जारी रहने देखिन्छ । जसले जिते  पनि चीनलाई केही फरक नपर्ने कासानोभाले भनेका छन् । चीनको अत्यधिक उत्पादनको समस्याबारे अमेरिकाले पहिला नै चेतावनी दिएको थियो ।

गत मेमा अमेरिकी अर्थमन्त्री जेनेट येलेनले चीनको अत्यधिक औद्योगिक क्षमताले अमेरिका र युरोप दुवैतिरका कम्पनीका साथ उदीयमान अर्थतन्त्रका औद्योगिक विकास समेत जोखिममा परेको भनेकी थिइन् । अप्रिलमा येलेनले अत्यधिक उत्पादनको समस्त र बजारमुखी सुधारबारे छलफल गर्न चिनियाँ अधिकारीहरूलाई भेटेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप