आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

रोनाल्डोद्वारा म्यानचेस्टर युनाइटेडका प्रशिक्षक टेन ह्यागको चर्को आलोचना

बिहीबार, २७ भदौ २०८१, १३ : २७
बिहीबार, २७ भदौ २०८१

काठमाडौँ । समकालीन विश्व फुटबलका महान् खेलाडीमध्येका एक क्रिस्टियानो रोनाल्डोले गौरवशाली इतिहास बोकेको इङ्लिस प्रिमियर लिग क्लब म्याचनेस्टर युनाइटेडका प्रशिक्षक एरिक टेन ह्यागको चर्को आलोचना गरेका छन् । म्यानचेस्टर युनाइटेड रोनाल्डोको पूर्वक्लब पनि हो । 

३९ वर्षीय प्रभावशाली स्ट्राइकर रोनाल्डोले म्यानचेस्टर युनाइटेडलाई पुनः लयमा फर्काउन आमूल परिवर्तनको खाँचो रहेको धारणा पनि व्यक्त गरेका छन् । अघिल्लो सिजनको प्रिमियर लिग तालिकामा म्यानचेस्टर युनाइटेड आठौँ स्थानमा समेटिएपछि डच प्रशिक्षक एरिक टेन ह्याग दबाबमा परेका छन् । जारी सिजनको प्रिमियर लिगमा पनि म्यानचेस्टर युनाइटेड तीनमध्ये दुई खेलमा पराजित भइसकेको छ ।

रोनाल्डोले प्रमुख प्रशिक्षक एरिक टेन ह्यागले आफ्नो नीतिमा परिवर्तन गर्नु आवश्यक रहेको टिप्पणी पनि गरेका छन् । पोर्चुगिज स्टार रोनाल्डोले सन् २०२३ मा साउदी अरेबियन क्लब अल नासरमा आबद्ध हुनुअघि एक सिजन म्यानचेस्टर युनाइटेडबाट खेलेका थिए ।

त्यसअघि सन् २००३ देखि सन् २००९ सम्म म्यानचेस्टर युनाइटेडबाट खेल्दै उत्कृष्ट प्रदर्शन गरेका थिए । रोनाल्डो म्यानचेस्टर युनाइटेडको थुप्रै सफलताका साक्षी पनि हुन् । रोनाल्डोले प्रशिक्षक टेन ह्यागको मनोवृत्तिको विषयमा पनि प्रश्न उठाएका छन् ।

‘प्रशिक्षक टेन ह्यागले प्रिमियर लिग र च्याम्पियन्स लिग जित्नु सम्भव नभएको बताएका छन् । मेरो विचारमा म्यानचेस्टर युनाइटेडेको प्रशिक्षकको रुपमा तपाइँले यस्तो कुरा भन्न पटक्कै सुहाउँदैन । यसले तपाइँको मानसिक अवस्थालाई पनि चित्रण गर्छ,’ रोनाल्डोले भनेका छन् ।

रोनाल्डोले टोलीमा आमूल परिवर्तन गरेर अगाडि बढ्न प्रशिक्षक टेन ह्यागलाई सुझाव दिएका छन् । ‘उपाधि जित्न सकिन्छ । त्यसका लागि सबैभन्दा पहिले तपाइँले आफ्नो मनोबल उच्च बनाउनुपर्छ । टोलीमा पनि आमूल परिवर्तन आवश्यक छ,’ रोनाल्डोले भनेका छन् ।

उनले अझै पनि म्यानचेस्टर युनाइटेड आफ्नो प्रिय क्लब भएको बताएका छन् । ‘म इतिहास बिर्सिएर अगाडि बढ्ने मान्छे होइन । अहिले पनि म्यानचेस्टर युनाइटेड मेरो प्रिय क्लब हो । यो क्लबसँग मेरा पनि थुप्रै तिता–मिठा इतिहास जोडिएका छन्,’ रोनाल्डो भन्छन् ।

पहिलो पटक ६ वर्ष म्यानचेस्टर युनाइटेडमा रहँदा रोनाल्डोले क्लबलाई तीनवटा प्रिमियर लिग उपाधि र च्याम्पियन्स लिग उपाधि चुमाउन महत्त्वपूर्ण योगदान गरेका थिए । यसका अतिरिक्त उनले क्लबलाई दुई वटा लिग कप र एउटा एफए कपको उपाधि पनि दिलाएका थिए ।

रोनाल्डोले म्यानचेस्टर युनाइटेडलाई फिफा क्लब वर्ल्ड कप र कम्युनिटी शिल्डको उपाधि पनि चुमाएका थिए । त्यसपछि सन् २००९ मा उनी म्याचेस्टर युनाइटेड छाडेर स्पेनिस क्लब रियल म्याड्रिडमा आबद्ध भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप