एआईपीएस एसियाको २५ औँ कंग्रेस काठमाडौँमा सुरु
काठमाडौँ । इन्टरनेशनल स्पोर्टस प्रेस एसोसिएसन (एआईपीएस) एसियाको २५ औँ कंग्रेसको बिहीबार काठमाडौँमा उद्घाटन गरिएको छ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पानमा बत्ती बाली कंग्रेसको उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा मन्त्री चौधरीले एआईपीएस एसियाको कंग्रेसले नेपाली खेलकुद पत्रकारिताको इतिहासमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे । उनले कंग्रेसको सफलताका लागि शुभकामना पनि व्यक्त गरे । एआईपीएसको कंग्रेस शनिवारसम्म चल्नेछ ।
उद्घाटन समारोहमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङ, ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए)का सदस्यसमेत रहेका नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठ, एआईपीएस एसियाका अध्यक्ष ही दोन जुङ, उपाध्यक्ष ओलिन दारास, उपाध्यक्ष अहमद खवारीलगायतले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा एआईपीएस एसियाका अध्यक्ष ही दोन जुङले एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठलाई मायाको चिनो पनि प्रदान गरेका थिए । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले कार्यक्रमलाई सफल तुल्याउन सहयोग पुर्याउने सबैप्रति आभार व्यक्त गरेका थिए ।
कंग्रेसमा एसियाका ३२ राष्ट्रबाट करिब ७० जना प्रतिनिधिको सहभागिता रहेको आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले जनाएको छ । एआईपीएस एसिया कंग्रेसमा भाग लिन आएका प्रतिनिधिहरू शुक्रवार मञ्चद्वारा आयोजना गरिने एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा पनि सहभागी हुनेछन् ।