सोमबार, ०३ मङ्सिर २०८१
ताजा लोकप्रिय
फिल्मको गुणस्तरमा प्रश्न

नेपाली फिल्ममा दर्शकको खडेरी, किन हेर्न मान्दैनन् ?

दर्शक भन्छन्– ‘स्वदेशी फिल्म’का नाममा हाम्रो समय र पैसा बर्बाद
बिहीबार, २७ भदौ २०८१, १२ : १९
बिहीबार, २७ भदौ २०८१

काठमाडौँ । प्रदर्शनमा आउनु अघि निकै उत्साह जगाइएको नेपाली फिल्म ‘रावायण’ले दर्शकको साथ पाउन सकेन । यस फिल्मको निर्माण युनिट (निर्माता/निर्देशकदेखि मुख्य कलाकारसम्म)ले फिल्म प्रदर्शन आउनुभन्दा अघिल्लो दिनसम्म मिडियामा गरेको प्रचारवाजी हेर्दा लाग्थ्यो– फिल्म ‘सुपरहिट’ नै हुन्छ ।

‘रावायण’सँगै प्रदर्शन भएको अर्को चलचित्र ‘देवी’को अवस्था पनि उस्तै छ । प्रदर्शनमा आउनुअघि प्रचारका क्रममा फिल्म युनिटले गर्ने बखान खोक्रो साबित भएको कयौँ उदाहरण छन् । चलचित्र ‘दान्भी’मा नायिका पूजा शर्माको ‘एक्सन अवतार’को खुब प्रचार भयो । दर्शकले रुचाएको खण्डमा आफू फेरि पनि ‘एक्सन’ भूमिकामै उत्रिने योजनासमेत उनले सुनाएकी थिइन् । तर यो फिल्मलाई पनि दर्शकले खासै रुचाएनन् ।

पछिल्ला समय प्रदर्शन भएका कयौँ फिल्मले दर्शकलाई लोभ्याउन सकेका छैनन् । दर्शक आखिर किन नेपाली फिल्मलाई माया गर्दैनन् भन्नेतिर फिल्म युनिटले खासै ध्यान दिएको पनि देखिँदैन ।

‘नेपाली फिल्मलाई नेपाली दर्शकले माया नगरे कसले गर्छ ?’ भन्ने भावनात्मक विषयलाई जोडेर निर्माण युनिटले दर्शकमाथि फिल्म लाद्ने गरेका छन् । अपवादका केही फिल्मले ठिकै व्यवसाय गरे पनि अधिकांश नेपाली फिल्मले प्रदर्शनअघि मिडियामा प्रचार पाए पनि दर्शकको साथ पाएका छैनन् ।

नेपाली फिल्मप्रति दर्शकको घट्दो क्रेज

नेपाली समाजका कथा नबिक्ने भन्ने होइन । दुई साता अघि विद्या चापागाईंले युट्युबमार्फत सार्वजनिक गरेको ‘हराएका वर्षहरू’ले १० मिलियन ‘भ्यूज’ पाएको छ । यो कथाले देश नै तरङ्गित भयो ।

अहिले युट्युबमार्फत नेपाली समाजका विभिन्न गम्भीर विषय उजागर गरेर मासिक लाखौँ कमाउने व्यक्ति पनि छन् । कतिपयले नेपालका प्राकृतिक सुन्दरतालाई ‘भ्लग’मार्फत बाहिर ल्याएर राम्रो आम्दानी गरेका छन् । दुरदराजका रहनसहनलाई पनि कयौँले युट्युबमार्फत आफ्नो आम्दानीको स्रोत बनाएका छन् । तर चलचित्रमा नेपाली समाजको कथा, भोगाइ भनेर जति प्रचार गरे पनि दर्शकले त्यसलाई आत्मसात् गरेको पाइन्न ।

भक्तपुर मल्टिपल क्याम्पसमा बीएससीसीएसआइटी अध्यययनरत विद्यार्थी एञ्जोल नेपाल अधिकांश नेपाली फिल्म हेर्न लायक नहुने बताउँछन् ।

पुराना केही नेपाली चलचित्र हेर्न लायक भए पनि पछिल्लो समय प्रदर्शनमा आएका धेरैजसो चलचित्र आम दर्शकका लागि ‘समय र पैसाको बर्बाद’ मात्र हुने गरेको उनको राय छ ।

‘दर्शकहरूलाई इन्गेज गराउने विषय समेटिँदैन । चलचित्र निर्माणका क्रममा अभिनयदेखि चलचित्रसँग मेल खाने विषयमा पनि ध्यान दिइएको हुँदैन,’ एञ्जोलले भने ।

प्राइम टेलिभिजनका समाचार सम्पादक राजु लामिछानेले नेपाली चलचित्र नहेरेको वर्षौं भयो । ‘समय र पैसाको बर्बादमात्र हुन थालेपछि नेपाली फिल्म हेर्नै छाडेँ,’ उनले भने, ‘कलाकारले मेहनत गर्न छाडे । कथावस्तुमा अभिनयले न्याय गरेको देखिँदैन । कयौँ फिल्मका त कथावस्तु पनि निकै हलुका हुने गरेका छन् ।’

अहिले युट्युबमार्फत नेपाली समाजका विभिन्न गम्भीर विषय उजागर गरेर मासिक लाखौँ कमाउने व्यक्ति पनि छन् । कतिपयले नेपालका प्राकृतिक सुन्दरतालाई ‘भ्लग’मार्फत बाहिर ल्याएर राम्रो आम्दानी गरेका छन् । दुरदराजका रहनसहनलाई पनि कयौँले युट्युबमार्फत आफ्नो आम्दानीको स्रोत बनाएका छन् । तर चलचित्रमा नेपाली समाजको कथा, भोगाइ भनेर जति प्रचार गरे पनि दर्शकले त्यसलाई आत्मसात् गरेको पाइन्न ।

दर्शकलाई आकर्षित गर्ने कथावस्तु नहुने, दर्शकलाई कथामा बाँध्न नसक्ने हुनाले पछिल्लो समय आफू हलसम्म पुग्न छाडेको लामिछानेको भनाइ छ ।

सर्लाहीको लालबन्दी–९ स्थायी घर भएका सुविज्ञ आचार्य नेपाली फिल्मको कथावस्तुले नै लोभ्याउन नसकेको बताउँछन् । कक्षा १० मा अध्ययनरत उनले भने, ‘नेपाली फिल्मले हाम्रो पुस्ताको रुचि, विषयवस्तुको प्रतिनिधित्व नै गर्दैनन् ।’

२–३ घण्टा लगाएर फिल्म हेरेर निस्किएपछि मनमा कयौँ प्रश्न उब्जिने गरेको आचार्यले बताए । ‘फिल्मले के भन्न खोजेको हो भन्ने नै बुझिँदैन । गम्भीर प्रकारको भूमिकामा अभिनय देखेर हाँस्नुपर्ने हुन्छ,’ उनले भने, ‘कतै हँसाउन खोजेको हो कि जस्तो भूमिका देखिए पनि भित्रैदेखि हाँसो पनि आउँदैन ।’

भक्तपुर कौशलटार निवासी दीर्घायु घिमिरे (कक्षा १०) पनि नेपाली फिल्मका कथावस्तु, अभिनयले मन छुन नसकेको बताउँछन् ।

विराटनगरस्थित सत्यनारायण माद्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत रमेश आचार्य पनि नेपाली कलाकारहरूले गरेको ‘एक्सन’, नायक–नायिकाको अभिनय लाजमर्दो हुने बताउँछन् । उनले भने, ‘कुनैकुनै फिल्ममा त हिन्दी र साउथ इन्डियन फिल्मको नक्कल हुन्छ । कसैको नक्कल गरेको नेपाली फिल्म हेर्नुभन्दा सक्कल फिल्म नै हेर्न मजा नि !’

नेपाली फिल्ममा भिडियो इडिटिङ राम्रो नहुने, इफेक्टहरू जथाभावी प्रयोग हुने गरेको उनले औँल्याए । ‘नेपाली फिल्ममा के–के नमिलेको जस्तो लाग्छ । हेर्दा पनि मजा नै लाग्दैन ।’ त्यसैले हलमा गएर फिल्म हेर्न छाडेको उनको भनाइ छ ।

युवा नै देशको भविष्य हुन् । तर नेपाली फिल्मप्रति अधिकांश युवाको रुचि छैन भन्ने तथ्य माथि उल्लिखित प्रतिक्रियाबाट बुझ्न सकिन्छ । त्यसैले नेपाली फिल्म निर्माणकर्ता, निर्देशक, कलाकारले दर्शकको चाहना, बजारको मागलाई बुझ्न जरुरी देखिएको छ ।

समस्या कहाँ छ ?

चलचित्र निर्माता छविराज ओझा यतिबेला नेपाली फिल्म उद्योगमा आफ्नो पुस्ता विस्थापित भइसकेको बताउँछन् । ‘नयाँ पुस्ता छ । पुराना मानिसले बनाएको फिल्म नचल्ने अवस्था बनाइसके,’ उनले भने ।

आफूले २३ वटा फिल्म बनाउँदा लगभग २० वटा त ‘सुपरहिट’ रहेको उनले दाबी गरे । ‘उज्ज्वल घिमिरे, दयाराम दाहाल, शिज रेग्मी लगायतकै फिल्म त त्यतिबेला चल्थ्यो नि !’ ओझाले भने, ‘गीत–सङ्गीत राम्रा हुन्थे । फिल्ममा पारिवारिक कुरा हुन्थ्यो ।’

अहिले नयाँ धारमा बनाएको भनिए पनि वर्षमा ४÷५ वटा फिल्ममात्र राम्रोसँग चल्ने गरेको ओझाको भनाइ छ । ‘महाजात्राको ग्रुपले बनाएको फिल्म, छक्कापञ्जाको ग्रुपले बनाएको फिल्म, कबड्डी ग्रुपले बनाएको फिल्म दर्शकले केही रुचाएका छन्,’ उनले भने, ‘यिनीहरू पनि प्रान्तीयजस्ता फिल्म हुन् ।’ अहिले ‘मास’का लागि फिल्म नबनेको जिकिर गर्दै उनले तिनै प्रान्तीयजस्ता फिल्म नै ‘मास’ फिल्म भएको बताए ।

नेपालमा सहरिया ढङ्गको फिल्म चल्नै छाडेको ओझाको अनुभव छ । ‘गाउँमा लगेर दुःख देखाएको फिल्म नै दर्शकले हेर्न खोजेको पाइन्छ,’ उनले भने ।

युवाजति विदेशतिर छन् । घरमा ‘टीन एज’ या बुढापाका छन् । फिल्ममा ती उमेर समूहका दर्शकका अपेक्षा कति समेटिएको छ भन्नेजस्ता विभिन्न कारणले फिल्मको व्यवसाय निर्धारण हुने ओझाले बताए ।

‘अहिलेको फिल्ममा गीत–सङ्गीतको पक्ष पनि सबल देखिएन । पहिला कतिपय फिल्म त गीतकै भरमा पनि चलेका थिए,’ उनले भने, ‘अर्को कुरा, पहिला कुनै खास कलाकारलाई राखेमा फिल्म चल्छ भन्ने थियो । राजेश हमाल, निखिल उप्रेती, श्रीकृष्ण श्रेष्ठ, आर्यन सिग्देल जस्ता कलाकार भए फिल्मले राम्रो व्यापार गर्छ भन्ने हुन्थ्यो । अहिले त्यस्तो क्षमता भएको कलाकार पनि देखिएको छैन ।’

भारतमा अहिले पनि शाहरुख खान, सलमान खान, अजय देवगनकै फिल्म चलेको उदाहरण दिँदै उनले नेपालमा त्यस्तो अवस्था नदेखिएको बताए ।

कसैले पनि आफ्नो फिल्मको कमजोरी बुझ्न नसकेको ओझाले प्रस्ट पारे । ‘कोही पनि हार्न चाहँदैन । निर्माता–निर्देशक कमजोर देखिन चाहँदैन । कलेक्सन भए पनि नभए पनि मेरो फिल्म राम्रो छ, यति कमायो भन्छन्,’ उनले भने, ‘तर पहिलाको जस्तो हलमा ५० दिन, ७५ दिन, सय दिन कुनै फिल्मले पार गर्‍यो भन्ने अहिले देख्न छाडियो ।’

फिल्मको निर्मम समीक्षा पनि हुन नसकेको ओझाले बताए । ‘पहिला त हामी पत्रकारसँग पनि डराउँथ्यौँ । के लेखिदिने हो भन्ने डर हुन्थ्यो,’ उनले भने, ‘अहिले त जे भन्यो त्यही लेखिदिन्छन् । पत्रकारसँग डराउनुपर्ने अवस्था पनि छैन । फिल्म राम्रो भयो कि भएन भनेर टिप्पणी पनि हुँदैन ।’

त्यसैले निर्माता तथा निर्देशकले कहाँ कमजोरी गरे भन्ने पनि बाहिर आउन नसकेको ओझाको बुझाइ छ ।

निर्माता तथा कलाकार दीपाश्री निरौला सबै फिल्म बनाउन उत्तिकै मेहनत र लगानी हुने बताउँछिन् । ‘पैसा सस्तो भएर कसैले पनि फिल्म बनाउने होइन,’ उनले प्रश्न गरिन्, ‘आफूले गरेको लगानी डुब्छ भनेर कसैले फिल्म बनाउँछ र ?’

यद्यपि, जस्तो फिल्म बनाए पनि ‘चलिहाल्छ नि’ भन्ने जमाना नरहेको निरौलाको बुझाइ छ । उनी कुनै पनि फिल्म व्यावसायिक रूपमा असफल हुनुमा कथा लेखनमा केही कमी कमजोरी छ कि भन्ने लागेको बताउँछिन् । उनले भनिन्, ‘संवाद र त्यसलाई भन्ने तरिका पनि मिलेन कि !’

बनेका सबै फिल्म हिट हुन्छन् भन्ने नहुने निरौलाले बताइन् । ‘तर पनि धेरैजसो फिल्म असफल भयो भने कहीँ न कहीँ सोच्नैपर्ने हुन्छ,’ उनले भनिन्, ‘अहिले बनेका फिल्मको गुणस्तर, प्राविधिक पक्षमा म कमजोरी देख्दिनँ । तर कन्टेन्ट, संवादमा दर्शकले खोट लगाइरहेको हो कि भन्ने लाग्छ ।’

फिल्म चल्ने कि नचल्ने भन्नेमा कर्मसँगै भाग्यको खेल मुख्य रहने उनले बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुदर्शन आचार्य
सुदर्शन आचार्य

आचार्य रातोपाटीका वरिष्ठ उपसम्पादक हुन् ।

लेखकबाट थप