बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
चाडपर्व लक्षित सडक मर्मत

५ हजार किलोमिटर सडकमा भएका खाल्डा पुरिने, ५ अर्ब ६२ करोड बजेट

बिहीबार, २७ भदौ २०८१, ०७ : ३९
बिहीबार, २७ भदौ २०८१

काठमाडौँ । सरकारले चाडपर्वमा खाल्डाखुल्डीरहित बनाउनका लागि सडक मर्मत कार्य सुरु गरेको छ । भौतिक पूर्वाधार मन्त्रालय मातहतको सडक विभागले खाल्डाखुल्डी पुर्ने कार्य सुरु भइसकेको जनाएको छ । 

मर्मतमा एक चरणको काम असोज १० गतेभित्र सक्न सडक विभाग मातहतका निकायलाई निर्देशन दिइसकेको विभागका महानिर्देशक रामहरि पोखरेलले बताउँछन् ।

‘चाडपर्वअघि सडकलाई खाल्डोरहित बनाउनका लागि विभाग मातहतका निकायलाई निर्देशन दिएका छौँ । कतिपय निकायले ठेक्का आह्वान गरिसके कतिपय निकायले ठेक्का खुलाउँदै छन्,’ महानिर्देशक खतिवडाले भने ‘विभाग आफैँ पनि लागि परेर खाल्डाखुल्डी पुर्ने कार्य गरिरहेका छौँ ।’

मंगलबारको राष्ट्रिय सभा बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पनि वर्षा कम भएसँगै सडक मर्मत कार्यलाई देशैभरि सुरु गरिएको जानकारी गराएका थिए । 

‘देशैभरि करिब ५ हजार किलोमिटर सडक मर्मतको क्रममा छ,’ मन्त्री दाहालले भने, ‘दसैंतिहार जस्ता चाडपर्वमा सबै सडकलाई खाल्डाखुल्डीरहित बनाउँछौँ ।’

आइतबार मात्रै भौतिक पूर्वाधार मन्त्रालयले गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालय, सडक विभाग, सडक बोर्ड, नेपाल प्रहरी लगायतको उपस्थितिमा सडक सुरक्षाको विषयमा छलफल गरेको थियो । उक्त छलफलमा मन्त्री दाहालले चाडपर्वमा यात्रुको चाप बढ्ने र सडक दुर्घटनाको जोखिम पनि बढ्ने हुँदा मातहतका निकायलाई सडक सुरक्षा आफ्नो आफ्नो कर्तव्य निभाउन आग्रह गरेका थिए । 

मन्त्री दाहालले मन्त्रालयको कुल बजेटको ९५ प्रतिशत पूर्वाधार निर्माणमा खर्च गरिने भएकाले पूर्वाधार निर्माण गर्नु अगावै सुरक्षालाई ध्यान दिनसमेत आग्रह गरे । सडकलाई सुरक्षित बनाउन पूर्वाधार निर्माणको सुरुवातमै विशेष ध्यान दिनुपर्ने र भत्किए, खाल्डाखुल्डी परेमा तत्काल मर्मत गरिहाल्न निर्देश गरेका छन् ।

यस्तै सडक बोर्डका कार्यकारी निर्देशक गणेशबहादुर केसीले दसैँमा सडक खाल्डाखुल्डी रहित बनाउनका लागि सडक विभागलाई निर्देशन गरेको जानकारी दिए । 

‘चाडपर्वमा सहज यात्रा बनाउने उद्देश्यले खाल्डाखुल्डी पुर्नका लागि विभागलाई निर्देशन दिएका छौँ,’ केसीले भने, ‘कच्ची सडकभन्दा विशेष गरी सहरी क्षेत्रका सडकका खाल्डो पुर्ने कार्य हुन्छ । त्यस्तै पहिरो गएर बाटो अवरुद्ध भएको ठाउँमा हटाउने गरिन्छ ।’

दसैँ अगाडि नै खाल्डाखुल्डी पुर्ने कार्य सकिने गरी निर्देशन गरिएको उनको भनाइ छ । जसका लागि करिब ५ अर्ब ६२ करोड रुपैयाँ बजेट छुट्टाइएको कार्यकारी निर्देशक केसीले बताए ।

विभागले काठमाडौँ उपत्यकाका सडकका खाल्डाखुल्डी पुर्ने कार्य गरिरहेको छ । नयाँ बानेश्वर–पुरानो बानेश्वर सडक, नक्साल–सोह्रखुट्टे–बालाजु सडक, सिफल कालोपुल–डिल्लीबजारका सडकमा खाल्डाखुल्डी पुर्ने तथा धुलोलाई न्यूनीकरण गर्ने कार्य सम्पन्न भइसकेको विभागले जनाएको छ । 

‘खाल्डा पुर्नका लागि हामीसँग बजेट पनि पर्याप्त छ । काम गर्ने निकायले गरिदिए सहज रूपमा छिटै काम सकिन्छ,’ केसीले भने । 

अहिले विभाग मातहतका निकायहरूले चाडपर्वअघि सडकका खाल्डाखुल्डी पुरिसक्ने गरी लागि परेका छन् । ठेक्का खुलाइसकेका निकायले खाल्डाखुल्डी पुर्ने कार्य थालेका छन् ।

अहिले सहरी इलाका भित्रका सडक मर्मत गर्ने काम भइरहेको विभागको भनाइ छ । विभागले काठमाडौँ उपत्यकाका सडकका खाल्डाखुल्डी पुर्ने कार्य गरिरहेको छ । नयाँ बानेश्वर–पुरानो बानेश्वर सडक, नक्साल–सोह्रखुट्टे–बालाजु सडक, सिफल कालोपुल–डिल्लीबजारका सडकमा खाल्डाखुल्डी पुर्ने तथा धुलोलाई न्यूनीकरण गर्ने कार्य सम्पन्न भइसकेको विभागले जनाएको छ । 

यस्तै बानेश्वर–शङ्खमुल–कोटेश्वर, तिनकुने–कोटेश्वर–जटिबुटीको सडकमा पनि खाल्डाखुल्डी पुर्ने तथा धुलोलाई न्यूनीकरण गर्ने कार्य सम्पन्न भइसकेको छ । 

हाल देशैभरका सडकमा सडक विभाग मातहतका निकायले सडक मर्मत गर्ने, पहिरो हटाउने जस्ता कार्य गरिरहेको विभागले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना घिमिरे
कल्पना घिमिरे
लेखकबाट थप