नाकामा सावधानी नअपनाउँदा एमपक्सको जोखिम
वेदकोट । पश्चिमी नाका गड्डाचौकीमा सावधानी नअपनाउँदा एमपक्स सङ्क्रमणको जोखिम बढेको छ । भारतमा हालै एक जनामा एमपक्स सङ्क्रमण पुष्टि भएपनि अझै नाकामा सावधानी अपनाइएको छैन । भारतबाट गड्डाचौकी नाका भएर दैनिक तीन सयको हाराहारीमा मानिस स्वदेश फर्किंदैछन् । भारतबाट फर्किनेको सामान्य जाँच पनि नहुँदा सङ्क्रमणको जोखिम बढेको हो ।
गड्डाचौकीस्थित ‘हेल्थ डेस्क’मा भारतबाट फर्किनेमा कोरोना, डेङ्गु, एचआइभीलगायत रोग जाँच गर्ने गरिन्छ । उपकरण अभावमा एमपक्सको जाँच हालसम्म सुरुआत गर्न नसकिएको हेल्थ डेस्कमा कार्यरत ल्याब टेक्निसियन लक्ष्मी रिमाल धामी बताउँछिन् ।
“हामीसँग उपकरण छैन । एमपक्ससम्बन्धी कुनै तालिम पनि पाएका छैनौँ”, उनले भनिन्, “नेटमा हेरेर थाहा पाएको लक्षण मिल्दा मानिस आएमा निगरानी राख्छौँ । लक्षण, हाउभाउ हेरेर स्क्रिनिङ मात्रै गर्ने गरिएको छ ।” उनका शङ्कास्पद लक्षण देखिए अस्पताल रेफर गर्ने गरिएको छ । हालसम्म शङ्कास्पद लक्षण देखिएका सात जनालाई रेफर गरिएको उनको भनाइ छ ।
भारतको विभिन्न ठाउँबाट दैनिक भित्रिने करिब अढाइ सय मानिसको स्क्रिनिङ भइरहेको छ । पैदल हिँडेर आउने मानिस स्क्रिनिङ पर्ने भए पनि सवारीसाधनबाट आउने मानिसको स्क्रिनिङ नै गर्न नसकिएको ल्याब टेक्निसियन धामी बताउँछिन् । “गाडीमा आउनेहरू नाकामा रोकिँदैनन् । सिधै जान्छन् । त्यसैले उहाँहरूलाई स्क्रिनिङ नै गर्न भ्याइँदैन”, उनले भनिन् ।
गड्डाचौकी नाका भएर महेन्द्रनगरदेखि दिल्ली र देहरादुनसम्म मैत्री बससेवा पनि सञ्चालनमा छन् । करिब एक दर्जन बसमा आउने यात्रु पनि जाँच नगरिकनै भित्रिने गरेका छन् ।
कतिपय यात्रु तेस्रो मुलुकबाट दिल्ली विमानस्थल हुँदै पनि आउने गरेका कारण सङ्क्रमणको जोखिम छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका वरिष्ठ जनस्वास्थ्य अधिकृत ओमप्रकाश जोशीका अनुसार सरकारले नाकामा स्क्रिनिङ गर्नका लागि पत्राचार गरेको छ ।
“एमपक्स जाँचका लागि हामीसँग किट उपलब्ध छैन । स्क्रिनिङ गर्ने भन्ने परिपत्र आएको छ । हामीले त्यहीअनुसार गरिरहेका छौँ”, उनले भने, “स्क्रिनिङमा शङ्कास्पद देखिएकालाई अस्पताल जान भनेर काउन्सिलिङ गर्ने गरेका छौँ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाउन्नेमा सडक भासिएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न आग्रह
-
ट्राफिक अपडेट : यस्तो छ देशभरका सडकको अवस्था
-
बाढी, पहिरो र डुबानबाट मृत्यु हुनेको सङ्ख्या २०९ पुग्यो
-
मनसुनजन्य विपद् : राहत प्रभावकारी बनाउन गृह मन्त्रालयले खटायो ८ जना सहसचिव
-
सिधाकुरा प्रकरण : सर्वोच्चको फैसलाले अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतालाई फरक पार्छ ?
-
मोरङमा तीन जना मृत फेला