आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय
कोशी प्रदेश

केदार कार्कीले तोडे अनशन

बुधबार, २६ भदौ २०८१, २१ : २६
बुधबार, २६ भदौ २०८१

विराटनगर । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीको आमरण अनशन तोडिएको छ । प्रदेश सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले अनशनस्थलमा पुगेर मागहरू पूरा गर्ने लिखित प्रतिबद्दता जारी गरेपछि अनशन तोडिएको हो ।

‘जनजीविकासँग प्रत्यक्ष सरोकार रहेका जायज मागहरूमा प्रदेश सरकारले सहमति जनाउँदै उपरोक्त सम्पूर्ण मागहरू मध्ये कतिपय माग कोशी प्रदेश सरकारको ०८१–०८२को बजेटमा रकम विनियोजन भई कार्यान्वयनका क्रममा रहेकोमा सो विषयहरू तत्काल (प्रारम्भ) कार्यान्वयन गर्ने, तथा स्वास्थ्य जस्ता गम्भीर केही विषयहरू समेतका सन्दर्भमा अनशनरत पूर्व मुख्यमन्त्री ज्यूसँग छलफल, समन्वय गरी सहमतिका आधारमा तत्काल कार्यान्वयन गर्ने,’ लिखित सहमतिमा उल्लेख छ ।

उक्त सहमतिपत्रमा अधिकारी, अनशनरत कार्कीले हस्ताक्षर गरेका छन् भने काङ्ग्रेस संसदीय दलका नेता उद्दव थापा, प्रमुख सचेतक गोपाल तामाङ, कांग्रेस मोरङका कार्यवाहक सभापति भक्तिनाथ माझी रोहबर रहेका छन् ।

कार्की मंगलबार दिउँसोदेखि आमरण अनशन बसेका थिए ।  उनले उठाएका माग पूरा गर्न‌ कोशी सरकार तयार भएपछि विराटनगर–६ निवासी निर्मला शर्माका ४२ दिनको शिशुको हातबाट जुस खाइ कार्कीले अनशन तोडेका हुन् । 

सरकारको सन्देश दिन आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर र आन्तरिक मामिला तथा कानुनमन्त्री लिलावल्लभ अधिकारी वार्तास्थलमा आएका थिए ।

उनले १० वर्ष मुनिका बालबालिकाका लागि विशिष्टीकृत सेवासहित निःशुल्क उपचार कार्यक्रम नियमित गर्नुपर्ने, बजेटमा २५ लाखभन्दा तलका आयोजना नराख्ने नीति लिनुपर्ने, शैलजा आचार्य हृदयरोग उपचार केन्द्रको सञ्चालन गर्नुपर्ने, महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता उपलब्ध गराउनुपर्ने, घिउ तथा धूलो दुधको निर्यातमा प्रोत्साहन रकम वितरण कार्यक्रम यथावत् राख्नुपर्ने, सुनसरी–मोरङ केसलिया करिडोरको विकास कार्यक्रममा पर्याप्त बजेट दिनुपर्ने, कृषि र प्राविधिक शिक्षाका विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने, डाक्टर, इन्जिनियरलगायत विभिन्न विधाका विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने र जनावरमैत्री जंगल निर्माण गर्नुपर्ने माग राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप