बुधबार, ०२ माघ २०८१
ताजा लोकप्रिय

बागमती प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा लामा नियुक्त

बुधबार, २६ भदौ २०८१, १९ : ०१
बुधबार, २६ भदौ २०८१

हेटौंडा । बागमती प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा दीपक लामा नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लामालाई सदस्य सचिवमा नियुक्त गरेको हो ।

सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीको सिफारिसमा मन्त्रिपरिषद्को बैठकले लामालाई सदस्य सचिवमा नियुक्त गरेको हो । सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेका अनुसार लामाको नियुक्तिमा युवा तथा खेलकुद मन्त्रालयको समेत सहमति रहेको छ ।

कानुनी रूपमा सामाजिक विकास मन्त्रीको सिफारिसमा सदस्य सचिव नियुक्त गर्ने व्यवस्था रहेपनि प्रदेशमा युवा तथा खेलकुद मन्त्रालय कायम रहेकाले सो मन्त्रालयको जिम्मेवारीमा रहेका मीनकृष्ण महर्जनको सहमति लिएर लामालाई नियुक्त गरिएको उनले बताए । नुवाकोटका स्थानीय लामा उसु खेलाडी हुन् ।

मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद विकास परिषद्को संशोधन प्रस्ताव समेत स्वीकृत गरेको छ । प्रदेशमा युवा तथा खेलकुद मन्त्रालय रहेपनि कानुनी रूपमा सामाजिक विकास मन्त्रालय लेखिएका र केही प्रावधानहरू संशोधन गर्नुपर्ने भएकाले मन्त्रिपरिषद् बैठकले उक्त प्रस्तावलाई स्वीकृति प्रदान गरेको हो ।

युवा तथा खेलकुदमन्त्री महर्जनको पहलमा उक्त संशोधन प्रस्ताव संसदमा पेस गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको हो । मन्त्री महर्जनका अनुसार विभागीय जिम्मेवारी लिएदेखि नै ऐन संशोधन गरेर अधिकार मन्त्रालय अन्तर्गत ल्याउन भूमिका खेलेका थिए । लामो समय आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा रोकिएको उक्त प्रस्ताव अघि बढ्न सकेको थिएन । मन्त्रिपरिषदबाट स्वीकृत भएसँगै सो प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ताका लागि पठाइने मन्त्री महर्जनले बताए । आगामी प्रदेशसभा बैठकमा सो प्रस्ताव संसदमा पेस गरी छलफल सहित पारित गरिने उनको भनाई छ ।

बैठकले प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय र श्रम रोजगार तथा यातायात मन्त्रालयको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले प्रदेशको भूमि तथा प्रशासन मन्त्रालय अन्तर्गतको इकाई कार्यालयहरूमा विनियोजित बजेटको अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप