शुक्रबार, ०९ कात्तिक २०८१
ताजा लोकप्रिय
मधेस परामर्श बैठक

नेताहरूले प्रश्न उठाए, प्रचण्ड कड्किए

गुटबन्दीको आरोपबारे गिरिराजमणिको गुनासो
बुधबार, २६ भदौ २०८१, १८ : ४९
बुधबार, २६ भदौ २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र अब गुटबन्दी सह्य नहुने बताएका छन् । दुई दिनसम्म महोत्तरीको बर्दिबासमा चलेको मधेस प्रदेशको परामर्श बैठकमा बुधबार उठेका प्रश्नको जवाफ दिँदै उनले एकताबद्ध भएर पार्टी निर्माणमा लाग्न निर्देशन दिएका हुन् । 

बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार केहीले अध्यक्ष प्रचण्डको सबैलाई ‘हुन्छ’ भन्ने बानीले पार्टी बिग्रिएको धारणा राखेका थिए । त्यस्तै, केहीले मधेसमा देखिएको गुटबन्दी अन्त्य  नभए संगठन थप सङ्कटमा फस्नेतर्फ नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।

‘गुटबन्दीले पार्टी बिग्रियो । मधेसमा पनि त्यो समस्या देखिएको छ । अब त्यतिकै हेरेर बसिँदैन । हिजो नेतृत्व उदार हुँदा पार्टीमा समस्या आयो । नेतृत्वले सबैलाई हुन्छ भन्ने व्यवहारले पार्टी बिग्रिएको कुरा आएको छ,’ प्रचण्डको भनाइ  उद्धृत गर्दै ती सदस्यले रातोपाटीसँग भने, ‘तपाईँहरूको चिन्ता ठिकै हो । त्यसले केही उपलब्धि पनि भयो तर क्षति पनि भयो । अब गुटबन्दी गरियो भने पार्टी सङ्कटमा पर्छ । अब गरिँदैन । विधि र पद्धति अनुसार कडाइका साथ लगिन्छ ।’

मधेसमा नेतृत्वकाबिच देखिएको गुटबन्दीका कारण पार्टी संगठन कमजोर भएकाले संगठनलाई चलायमान बनाउने गरी योजना बनाउन नेताहरूले नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।

बैठकमा मधेसमा कार्यरत केन्द्रीय सदस्यहरूले आठौँ महाधिवेशन सम्पन्न भएको तीन वर्ष पुरा हुन लाग्दा समेत प्रदेश समिति गठन नभएको, जिल्ला समिति पनि कार्यकारी नहुँदा समस्या भएको गुनासो पोखेका थिए । पार्टी विधान, विधि, पद्धतिअनुसार नचलेको, पार्टी सञ्चालनमा नेतृत्वले सही ढंगले पहल गर्न नसकेकोमा आलोचना गरेका थिए । 

मधेसमा नेतृत्वकाबिच देखिएको गुटबन्दीका कारण पार्टी संगठन कमजोर भएकाले संगठनलाई चलायमान बनाउने गरी योजना बनाउन नेताहरूले नेतृत्वको ध्यानाकर्षण गराएका थिए । जवाफमा मधेसमा गुटबन्दी अन्त्य गर्ने विषयमा पार्टीले ठोस प्रस्ताव ल्याउने प्रचण्डले प्रतिबद्धता जनाएका थिए ।

‘मधेसका समस्याबारे चाँडै हामीले निकास निकाल्छौँ । तर अहिले नै तिथिमिति तोक्ने कुरा भएन । सबैले अहिले पालिका र वडास्तरमा गएर काम अगाडि बढाउने कुरा गर्नुभयो । अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवस्था प्रतिकूल रहेको छ । यस्तो अवस्थामा प्राप्त उपलब्धिको रक्षा गर्न पार्टी एकताबद्ध भएर जानुपर्नेमा अध्यक्ष प्रचण्डले जोड दिनुभयो’, ती सदस्यले भने ।   

paramarsha madhesh

यस्तै नेतृत्व तहबाट नै गुटबन्दी भएको विषयमा मधेस प्रदेशका पूर्वइन्चार्ज तथा उपमहासचिव गिरिराजमणि पोखरेलेले जवाफ दिएका थिए । आफू प्रदेशको जिम्मेवारीमा नहुँदा पनि गुटबन्दी गरेको आरोप आएकोमा उनले गुनासो पोखेका थिए ।

‘गिरिराजमणि पोखरेलको यो वा त्यो गुट भनेर भनिएको छ, त्यस्तो केही होइन । पार्टी बनाउने कुरा नै हो । गुटगत क्रियाकलाप गरेको आरोप लागेको छ भने सबैले भने हुन्छ । ठोस प्रमाण छ भने बैठकमा राख्न आग्रह गर्छु । मेरो घर मधेसमै भएको, मधेस नै निर्वाचन क्षेत्र रहेको कारण यस्ता आरोप आउनु स्वाभाविक नै होला । तर अहिले जिम्मेवारीमा नरहँदा पनि गुटबन्दी गरेको आरोप सुन्ने गरेको छु । गुटबन्दी होइन, हामी सबै मिलेर पार्टी बनाउनुपर्छ’, पोखरेलको भनाइ उद्धृत गर्दै अर्का एक सदस्यले बताए ।

बैठकमा उपहासचिव जनार्दन शर्माले पार्टी विभाजन गर्न लागिएको आरोपको खण्डन गर्दै आफूले नेतृत्वलाई असहयोग गर्न नभई पार्टीलाई विधि, पद्धतिमा लगेर थप  बलियो बनाउन छुट्टै प्रस्ताव पेस गरेको बताएका थिए । साथै पार्टी फुटको चर्चा निराधार भएको उनको भनाइ थियो ।

बैठक समापन गर्दै इन्चार्ज पोखरेलले आफूले मधेसको समस्या समाधान गर्न प्रयत्न गरिराखेको बताएका थिए । पार्टीले जिएको जिम्मेवारी पुरा गर्न मधेसमा आएकाले कुनै गुट वा उपगुट भन्दा पनि क्रान्तिकारी पार्टी कसरी बनाउन सकिन्छ भन्ने विषयमा ध्यान दिएको उनले भनाइ राखेका थिए । त्यही अनुसार काम हुनेमा प्रतिबद्धता जनाएका थिए ।

पार्टीका उपमहासचिव एवं पूर्वइन्चार्ज मात्रिका यादव बिरामीका कारण बैठकमा सहभागी भएनन् । खासगरी पोखरेल र यादवबिचको टकरावका कारण संगठन निर्माण ध्वस्त भएको आरोप लाग्दै आएको छ । 

नेतैपिच्छे गुट र उपगुटका कारण २०७९ को निर्वाचनमा माओवादीले मधेसमा ठुलो धक्का खाएको थियो । संगठन निर्माणमा देखिएको समस्या समाधान गरी प्रभावकारी संगठन निर्माणका लागि गत वर्ष फागुनमा बसेको पार्टीको स्थायी समिति बैठकले मधेसको इन्चार्जमा सचिव लीलामणि पोखरेललाई नै निरन्तरता दिएको थियो । गिरिराजमणिलाई सुदूरपश्चिमको जिम्मेवारी दिएको थियो । मात्रिकालाई भारत प्रदेशको जिम्मेवारी दिएको थियो ।

बैठक समापन गर्दै इन्चार्ज पोखरेलले आफूले मधेसको समस्या समाधान गर्न प्रयत्न गरिराखेको बताएका थिए । पार्टीले जिएको जिम्मेवारी पुरा गर्न मधेसमा आएकाले कुनै गुट वा उपगुट भन्दा पनि क्रान्तिकारी पार्टी कसरी बनाउन सकिन्छ भन्ने विषयमा ध्यान दिएको उनले भनाइ राखेका थिए । त्यही अनुसार काम हुनेमा प्रतिबद्धता जनाएका थिए ।

परामर्श समिति बैठकमा सहभागी भएका स्थायी समिति सदस्य प्रह्लाद बुढाथोकीले पार्टी निर्माण तथा विचार संश्लेषणको विषयमा गम्भीर बहस र छलफल भएको दाबी गरे । उनले दसैँलगत्तै केन्द्रीय समिति बैठक बसेर सबैको भावना समेट्ने गरी राजनीतिक दस्ताबेज तयार पार्ने अध्यक्ष प्रचण्डले प्रतिबद्धता व्यक्त गरेको उनले दाबी गरे । अर्का स्थायी समिति सदस्य विश्वनाथ साहले पनि पार्टीभित्र आन्तरिक बहस राम्रो भएको जिकिर गरे । मधेस लगायत सबै प्रदेशमा देखिएका वैचारिक, सैद्धान्तिक तथा सांगठनिक समस्या समाधान गर्न पार्टीले ठोस योजना ल्याउने गरी केन्द्रीय समितिले योजना बनाउने साहको भनाइ थियो ।

अर्की स्थायी समिति सदस्य उर्मिला अर्यालले पनि पार्टी निर्माण र विचारको विकाससम्बन्धमा पार्टीभित्र राम्रो बहस भएको दाबी गरिन् ।    

बैठकमा पदाधिकारीबाट अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू अग्नि सापकोटा र पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवहरू गिरिराजमणि, हरिबोल गजुरेल, जनार्दन शर्मा र शक्तिबहादुर बस्नेतले सम्बोधन  गरेका थिए । दुई दिनसम्म ४८ जना सहभागीले आ–आफ्ना धारणा राखेका थिए । पार्टी केन्द्रीय समितिको बैठकको तयारी स्वरूप माओवादी केन्द्रले विभिन्न प्रदेशमा परामर्श बैठक आयोजना गर्दै आएको छ । मधेस प्रदेशसँगै भूगोलका सातवटै प्रदेशको बैठक सम्पन्न भएको छ । अब सल्लाहकार समिति, ज्येष्ठ कम्युनिस्ट मञ्च र प्रवास प्रदेशको बैठक सकेर केन्द्रीय समिति बैठकको तयारीमा लाग्ने माओवादीको योजना छ । केन्द्रीय समिति बैठकपछि संगठन सुदृढीकरण र जनपरिचालनका कार्यक्रम तय गर्ने तयारी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप