चेस ओलम्पियाड खेल्ने नेपाली टोलीलाई हंगेरीले भिसा दिएन
काठमाडौँ । लामो तयारी गरेर पनि नेपाली खेलाडीले विश्व बुद्धिचाल महासंघ (फिडे) को आयोजनामा सेप्टेम्बर ११ देखि २४ तारिखसम्म हंगेरीको बुढापेष्टमा सञ्चालन हुने ४५औँ चेस ओलम्पियाडमा सहभागिता जनाउन नपाउने भएका छन् ।
अन्तिम समयमा आएर हंगेरीले भिसा (प्रवेशाज्ञा) दिन अस्वीकार गरेपछि नेपाली खेलाडीको चेस ओलम्पियाड खेल्ने सपना चकनाचुर भएको हो । आफूहरूले अन्तिम समयसम्म प्रयास गरे पनि भिसा पाउन नसकेको नेपाल बुद्धिचाल महासंघले जनाएको छ ।
नेपालमा हंगेरीको राजदूतावास नभएका कारण नेपाल बुद्धिचाल महासंघले भारतको दिल्लीस्थित हंगेरी दूतावासमार्फत भिसाको प्रक्रिया अगाडि बढाएको थियो । यसका लागि नेपाल बुद्धिचाल महासंघका अध्यक्ष र कोषाध्यक्षले समन्वय गरेका थिए ।
तर, दिल्लीस्थित हंगेरीको दूतावासले नेपालस्थित जर्मन दूतावासमार्फत भिसा प्रक्रिया अगाडि बढाउन सुझाव दिएको थियो । त्यसपछि सोही अनुरूप बुद्धिचाल महासंघले प्रक्रिया अगाडि बढाएको थियो । नेपालस्थित जर्मन दूतावासले नेपाली बुद्धिचाल टोलीलाई सेप्टेम्बर ४ तारिखका लागि अन्तर्वार्ताको समय दिएको थियो ।
बुद्धिचाल महासंघका अनुसार, जर्मन दूतावासले सेप्टेम्बर ५ तारिखमा नेपाली खेल टोलीको भिसा अस्वीकृत गरेको थियो । त्यसपछि बुद्धिचाल महासंघले यसको जानकारी तत्काल प्रतियोगिताको आयोजकलाई गराएको थियो ।
चेस ओलम्पियाड आयोजकको पहलमा त्यसपछि पुनः नेपाल बुद्धिचाल महासंघले पुनः भिसा प्रक्रिया अगाडि बढाएको थियो । तर, प्रतियोगिताको मिति नजिकिएकाले यस पटक बुद्धिचाल महासंघले दिल्लीस्थित हंगेरी दूतावासमार्फत प्रक्रिया अगाडि बढाएको थियो ।
दिल्लीस्थित हंगेरीको दूतावासले नेपाली बुद्धिचाल टोलीलाई कार्यालय समयभित्र दिल्ली पुग्न खबर गरेको थियो । त्यसपछि नेपाली खेल टोली हतारमा दिल्ली प्रस्थान गरेको थियो । तर, दिल्ली पुगेपछि हंगेरीको दूतावसाले बुधबार दिउँसो ३ः०० बजे एकाएक नेपाली खेल टोलीलाई भिसाका लागि आवेदन नगर्न सुझाव दिँदै भिसा दिन असमर्थ रहेको जानकारी गराएको महासंघ स्रोतले जनाएको छ ।
नेपाल बुद्धिचाल महासंघले ४५औँ चेस ओलम्पियाडमा सहभागी हुन हेड अफ डेलिगेट हेराकाजी महर्जन (महासंघका अध्यक्ष), फिडे डेलिगेट महासचिव धरमबहमदुर लामा, पुरुष टिम क्याप्टेन तारा बहादुर रानाभाट (कोषाध्यक्ष) र महिला टिम क्याप्टेन राजु ताम्राकार (सदस्य) लाई पठाउने निर्णय गरेको थियो ।
नेपाल बुद्धिचाल महासंघले २४औँ राष्ट्रिय प्रतियोगितामा पहिलो हुने राजन सुवेदी, दोस्रो हुने सीएम शुश्रुत दहाल र तेस्रो हुने एफएम क्षितिज भण्डारीलाई चेस ओलम्पियाडका लागि छनोट गरेको थियो । उनीहरूसँगै पूर्वनेपाल च्याम्पियन सीएम रुपेश जैसवाल र २२८१ उच्च रेटेड विवेक थिङ गरी पाँच जना पुरुष खेलाडी हंगेरी पठाउने निर्णय गरेको थियो ।
अब अस्ट्रेलियावाट हंगेरी पुगेका एकमात्र नेपाली खेलाडी विवेक थिङले मात्र चेस ओलम्पियाडमा नेपालको प्रतिनिधित्व गर्ने महासंघले जनाएको छ । उनले चेस ओलम्पियाडमा र्यापिड र ओपनमा सहभागिता जनाउने छन् ।
यसैगरी, महिलातर्फ राष्ट्रिय च्याम्पियन सिन्दिरा जोशी, कृतिसरा अधिकारी, पूजा भण्डारी, शान्ति धिमाल र पूर्वच्याम्पियन सुजना लोहनीले चेस ओलम्पियाडमा भाग लिने कार्यक्रम थियो । पूर्वच्याम्पियन डब्लूएफएम सुजना लोहनीले व्यक्तिगत कारणले सहभागी नहुने जनाएपछि त्यो ठाउँमा रिया श्रेष्ठले खेल्ने अवसर पाएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीले बोलाएको बैठकमा बाबुराम नजाने, सामाजिक सञ्जालबाटै दिए सुझाव
-
मधेस प्रदेशमा डेंगु सङ्क्रमण न्यून, के भन्छन् विज्ञ ?
-
आजको राशिफल : कस्तो रहला आज तपाईंको दिन ?
-
टेलिकमको टावर निर्माण अन्तिम चरणमा, फोन गर्न घन्टौँ हिँडेर डाँडोमा जानुपर्ने बाध्यता हट्दै
-
प्रधानमन्त्रीले आज चीन भ्रमणका विषयमा छलफल गर्दै
-
देशमा पश्चिमी वायुको सामान्य प्रभाव, कस्तो रहला आज दिनभरको मौसम ?