पर्यटन बोर्डको सीइओ नियुक्ति विवादमा सर्वोच्चले जारी गर्यो कारण देखाऊ आदेश
बुधबार, २६ भदौ २०८१, १६ : ५५
काठमाडौँ । सर्वोच्च अदालतले नेपाल पर्यटन बोर्डको सीइओ नियुक्ति विवादमा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश कुमार चुडालको एकल इजलासले अन्तरिम आदेश नहुने तर कार्यकारी प्रमुख नियुक्ति सम्बन्धी विषयमा लिखित जवाफसहित उपस्थित हुन सरकारका र विपक्षीहरूको नाममा आदेश जारी गरेको हो ।
बोर्डको सीईओमा दीपकराज जोशी नियुक्ति भएका थिए । जोशीको नियुक्ति बरियताक्रम मिचेर गरिएको र आफू पहिलो नम्बरमा हुँदा हुँदै पन्छाएको दाबी गर्दै डा.धनञ्जय रेग्मीले रिट दायर गरेका थिए ।
उक्त रिटको पहिलो सुनुवाइ गर्दै सर्वोच्चले सरकारसँग यसको कारण माग गरेको हो । यो विवादमा अब अर्को सुनुवाइपछि अन्तरिम आदेश जारी हुने वा नहुनेबारे निर्णय हुनेछ । सर्वोच्चले हाललाई अन्तरिम आदेश जारी नगरेका कारण जोशीले काम गर्न भने पाउनेछन् ।