कमला ह्यारिसलाई गायिका टेलर स्विफ्टको समर्थन
वाशिङटन डीसी । अमेरिकामा यतिबेला आगामी राष्ट्रपतिको निर्वाचनको तयारी तीव्र रुपमा चलिरहेको छ । डेमोक्रेटिक पार्टीबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प चुनावी दौडमा होमिएका छन् ।
यो चुनावमा अमेरिकी गायिका टेलर स्वीफ्टले कसलाई समर्थन गर्लिन् भन्नेबारे लामो समयदेखि अड्कलबाजी चलिरहेको थियो । अब भने यसमा पूर्ण बिराम लागेको छ । गायिकाले कमला ह्यारिसलाई समर्थन गरेकी छिन् । बुधबार रात एबीसी न्यूजको राष्ट्रपति बहस हेरेपछि गायिकाले आफ्नो समर्थन सार्वजनिक गरेकी हुन् ।
बहसको निक्र्यौल सुनेपछि उनले इन्ष्टाग्राममा पोष्ट गर्दै ह्यारिसलाई समर्थन गरेको बताएकी थिइन् । यसअघि गायिकाले ट्रम्पलाई समर्थन गरेको भन्दै एआईले बनाएको तस्बिर निकै भाइरल भएका थिए ।
ट्रम्पले पनि आफ्नो साइटमा सो तस्बिर शेयर गरेका थिए । राष्ट्रपतिको पहिलो खुला बहसमा ट्रम्पसँग लज्जास्पद हार पछि जुलाईमा वर्तमान राष्ट्रपति जो बाइडेनले आफ्नो उमेदवारी फिर्ता लिँदै ह्यारिसलाई समर्थन गरेका थिए ।
त्यतिबेला देखि नै जनमत सर्वेक्षणहरूमा ट्रम्पमाथि ह्यारिस हाबी बन्दै आएकी थिइन् । अगष्टको शुरुमा पार्टीको राष्ट्रिय महाधिवेशनले ह्यारिसलाई राष्ट्रपतिको उम्मेदवार मनोनित गर्यो ।
सोही महिना ह्यारिसले मिनिसोटाका गभर्नर टिम वाल्जलाई आफ्नो उपराष्ट्रपति घोषित गरेकी थिइन् । आफ्नो पोष्टमा स्विफ्टले ह्यारिसको वाल्ज चयनबारे पनि लेखेकी छिन् ।
ह्यारिसले अधिकारका लागि लड्नेमा आफू विश्वस्त रहेको र आफूहरूलाई पनि जित्नका लागि योद्धा चाहिएको विश्वास आफूले गरेको पनि उनले पोष्टमा लेखेकी छिन् । एलजीबीटी प्लसको अधिकार, आईभीएफ र आफ्नो शरीरलाई लिएर महिलाको अधिकारबारे अडान राख्ने वाल्जलाई ह्यारिसले छानेको देखेर आफू निकै प्रभावित भएको पनि उनले बताइन् ।
सारा अनुसन्धान र खोजबिन गरेर आफ्नो विकल्प रोजेको पनि उनले भनेकी छिन् । सन् २०२० को राष्ट्रपतिको निर्वाचनमा स्वीफ्टले बाइडेन र ह्यारिसलाई समर्थन गरेकी थिइन् । यसपटक पनि उनले ह्यारिसलाई नै समर्थन गर्छिन् भन्ने अड्कल धेरैले गरेको भएपनि लामो समय उनी मौन बस्दा के हो के हो भन्ने धेरैलाई लागेको थियो ।