बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

लोक दोहोरीदेखि नृत्य प्रतियोगितासम्म : वर्षमा ७१ कार्यक्रम गर्दै राष्ट्रिय नाचघर

चाडपर्व विशेष सांस्कृतिक कार्यक्रम थाल्यौँ : महाप्रबन्धक किरणबाबु पुन
बुधबार, २६ भदौ २०८१, १२ : ४३
बुधबार, २६ भदौ २०८१

काठमाडौंँ । लोकदोहोरी प्रतियोगिता, नृत्य प्रतियोगिता, गायन प्रतियोगिता, नाटक सम्मेलन, देउसी–भैलो, साकेलादेखि ल्होसारसम्म गरेर चालु आर्थिक वर्षमा राष्ट्रिय नाचघर (सांस्कृतिक संस्थान)ले विभिन्न ७१ कार्यक्रम गर्ने भएको छ ।

विगतका वर्षमा नाटक महोत्सव, सांस्कृतिक प्रदर्शन लगायत केही कार्यक्रममा आफूलाई सीमित राख्दै आएको संस्थानले यो वर्षभरि नै कार्यक्रम गर्ने भएको हो ।

संस्थानले यो वर्ष गर्ने कार्यक्रममा नेपालमा मनाइने प्रायः सबै महत्त्वपूर्ण चाडपर्व लक्षित कार्यक्रम बनाएको छ । सबै पक्षलाई समेटेर यसरी कार्यक्रम गर्न लागेको संस्थानको इतिहासमै पहिलो पटक हो ।

सांस्कृतिक संस्थान समग्र नेपालीको कला, संस्कृतिको संरक्षण, सम्बर्द्धनको उद्देश्यसहित २०१६ सालमा अवधारणा निर्माण गरी २०१८ सालमा स्थापित भएको हो । संस्थानको स्थापनाको उद्देश्य स्थापित गर्न सबै पक्षलाई समेटेर यस वर्ष थुप्रै कार्यक्रम गर्न लागेको सांस्कृतिक संस्थानका महाप्रबन्धक किरणबाबु पुनले बताए ।

‘गीत–सङ्गीत, कला, नाटकदेखि जन्म, मृत्युसम्मका विभिन्न क्रियाकलाप संस्कृति भित्र पर्छन् । नेपाल सरकारले कोडिङ गरेका र नेपाल सरकारलाई पनि थाहा नभएका केही चाडपर्व छन्, जुन लोप हुन लागेका छन्’, पुनले भने, ‘यस्ता विषयमा समेत यो वर्ष कार्यक्रम बनाएका छौँ ।’

माघे संक्रान्ति, गौरा पर्व, ल्होसार, घुमेपर्व लगायतमा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना हुने पुनको भनाइ छ । ‘संस्कृतिको संरक्षण, सम्बर्द्धन गर्ने उद्देश्य अनुसार सांस्कृतिक संस्थान स्थापना भएकाले सोही उद्देश्य अनुसार लैजानुपर्छ’, उनले भने, ‘संस्कृतिलाई पुस्तान्तरणका गर्न उत्पादनसँग जोड्न सक्नुपर्छ ।’

kiranbabu pun

उत्पादनमा सांस्कृतिक, कला र सिप प्रशिक्षण पर्ने पुनले खुलाए । ‘हामी दीर्घकालीन सोचका साथ अगाडि बढेका छौँ । हाम्रा अमूर्त संस्कृतिलाई विश्व सांस्कृतिक सम्पदामा सूचीकृत गर्न पहल हुनेछ । पर्यटक नेपाल भित्र्याउने ठुलो माध्यम भनेको अमूर्त सांस्कृतिक सम्पदामात्र हो’, उनले भने ।

अमूर्त सांस्कृतिक सम्पदा भनेको पशुपति, लुम्बिनी, सगरमाथा लगायत भएको उनले प्रस्ट पारे ।

के–के छन् कार्यक्रम ?

संस्थानले विगतका वर्षमा वर्षभरि आइपर्ने कार्यक्रम गर्दथ्यो र वर्षको अन्त्यमा बोर्ड मिटिङमा समीक्षा गर्दै आएको थियो ।

चालु आर्थिक वर्षदेखि संस्थानले वर्षभरि गर्ने कार्यक्रमको योजना पहिल्यै बनाएर सञ्चालक समितिबाट पास गराएको छ ।

यो वर्ष संस्थानले आयोजना गर्ने कार्यक्रममा शुभारम्भ सांस्कृतिक साँझ, मनमनमा संस्कृति, सम्झनामा दिग्गज श्रष्टा, संस्कृति सम्बन्धी गोष्ठी, सम्झनामा नारायण गोपाल छन् ।

यस्तै, जागरण तथा प्रगतिशील सांस्कृतिक कार्यक्रम, गणतनत्र दिवस उत्सव, संविधान दिवस कार्यक्रम, वसन्त शास्त्रीय सङ्गीत उत्सव, नारी दिवसमा कार्यक्रम गर्ने योजना पनि संस्थानको छ ।

मुना मदन, एक चिहान, घरको माया, श्रीस्वस्थानी तथा अन्य नाटक मञ्चन गर्नुका साथै लोक तथा शास्त्रीय सङ्गीत सङ्गम कार्यक्रम, सुगम सङ्गीत सांस्कृतिक कार्यक्रम, गाईजात्रा विशेष प्रहसन, विश्व सङ्गीत दिवस, श्रम सांस्कृतिक कार्यक्रम, फागुपूर्णिमा होली कार्यक्रम, विविध सांस्कृतिक कार्यक्रम, लोक संस्कृति प्रदर्शनी उत्सव, सांस्कृतिक तथा साहित्यिक कार्यक्रम पनि संस्थानले आयोजना गर्ने भएको छ ।

456670945_813127964329706_5819065230529013984_n

त्यसैगरि गायन प्रतियोगिता, वादन प्रतियोगिता, नृत्य प्रतियोगिता, नाटक सम्मेलन, आदिवासी जनजाति सांस्कृतिक प्रदर्शन, भोषभुषा प्रदर्शनी कार्यक्रम,  सांस्कृतिक आदानप्रदान कार्यक्रम, देउसीभैलो कार्यक्रम, लोक दोहोरी प्रतियोगिता, धार्मिक सांस्कृतिक उत्सव, उपत्यका लोक संस्कृति उत्सव, तिज विशेष कार्यक्रम पनि संस्थानले आयोजना गर्ने कार्यक्रमको सूचीमा छन् ।

अहिलेसम्म कति भयो कार्यक्रम ?

संस्थाले वर्षभरि गर्ने योजना बनाएको विभिन्न सांस्कृतिक कार्यक्रममध्ये ४ वटा कार्यक्रम आयोजना भइसकेका छन् । जसमा साउने  संक्रान्ति उत्सव, दीक्षान्त समारोह उत्सव, गाईजात्रा प्रहसन र तीन विशेष कार्यक्रम हुन् ।

यीमध्ये लामो समय चलेको कार्यक्रम गाईजात्रा प्रहसन हो । गाईजात्राको अवसर पारेर भदौ २ गतेदेखि १० गतेसम्म ‘गाईजात्रा महोत्सव २०८१’ नामबाट यो कार्यक्रम आयोजना भएको थियो ।

कार्यक्रममा सिताराम कट्टेल ‘धुर्मुस’, कुञ्जना घिमिरे, सुरेन्द्र केसी, शिवशंकर रिजाल, पल्पसा डंगोल, दिनेश काफ्ले, सन्तोष खनाल, सुयसा खनाल, हिमेश पन्तलगायत दर्जनौँ कलाकारले राजनीतिक, सामाजिक, आर्थिक लगायतका क्षेत्रमा देखिएका विकृतिप्रति ब्यङ्ग्य प्रहार गर्दै दर्शक हँसाएका थिए ।

तिज विशेष सांस्कृतिक कार्यक्रम अन्तर्गत संस्थानले तिज गीत प्रतियोगिता समेत आयोजना गरेको पुनले जानकारी दिए ।

कस्ता छन् संस्थानको उद्देश्य

१) नेपाल सरकारका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका महत्त्वपूर्ण कार्यक्रम, सभा, समारोह, पर्व एवं अन्य विशेष अवसरमा राष्ट्रको पहिचान तथा अस्तित्व झल्किने लोक सांस्कृतिक कार्यक्रम उत्पादन तथा प्रदर्शन गर्ने ।

२) सांस्कृतिक जागरण गराइ स्वस्थ मनोरञ्जन दिने ।

३) नेपालको मौलिक लोक संस्कृतिलाई विश्वमाझ चिनाउने ।

४) देशभरका लोक संस्कृतिकर्मी एवं कलाकारलाई चलायमान बनाउने ।

५) नयाँ प्रतिभाको खोजी गरी गायन, वाद्यवादन, नृत्य तथा अभिनय लगायतका विभिन्न विधामा प्रशिक्षण ।

६) लोक संस्कृतिको खोज, अनुसन्धान, संरक्षण, प्रबर्द्धन एवं दस्तावेजीकरण गर्ने ।

७) नेपाली लोक कला र लोक संस्कृतिको जगेर्ना गर्दै लोक परम्पराको विकास एवं विस्तार ।

८) नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना भएको मुलुकसँग सांस्कृतिक आदानप्रदान गर्ने ।

९) नेपालको लोकगीत, लोकवाद्य, लोकनृत्य र लोकनाटकको विकास गर्न प्रस्तुतिका माध्यमद्वारा बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक राष्ट्र नेपाल र नेपालीहरूका बिचमा समानता, समावेशीता, धार्मिक सहिष्णुता तथा भ्रातृत्वको भावनाको विकास गर्ने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप