पूर्वमुख्यमन्त्रीको आमरण अनसन दोस्रो दिन पनि जारी
विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले मङ्गलवारदेखि सुरु गरेको आमरण अनसन दोस्रो दिन आज पनि जारी छ । विराटनगर–७ स्थित देवकोटा चोकमा उनी अनसनमा बसिरहेका छन् ।
मङ्गलवार ४ बजेदेखि उनले प्रदेशसभाको गेट नजिकै अनसन सुरु गरेका थिए । तर, उनलाई प्रहरीले निषेधित क्षेत्रमा अनसन बसेको भन्दै राति करिब ८ बजे बल प्रयोग गरेर नियन्त्रणमा लिएको थियो ।
प्रहरीले अनसनस्थलबाट उठाएर उनलाई बुढीगंगा–२ टंकिसिनुवारीमा रहेको कार्कीको घरमै पुर्याइदिएको थियो । तर, कार्की पुनः देवकोटा चोकमा आएर अनशन बसेका हुन् । अनशनस्थलमा कार्कीसहित केहि समर्थकहरू पनि छन् । कार्कीको अनशनलाई रोक्न मोरङ प्रशासनले मङ्गलवार विभिन्न स्थानमा निषेधाज्ञा लगाएको छ ।
कार्कीको अनशनमा नेपाली कांग्रेसका डा.शेखर कोइराला पक्षधर नेता तथा कार्यकर्ताले साथ दिएका छन् । कोइराला पक्षका प्रदेशसभा सांसदसहित विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले पनि अनशनमा ऐक्यबद्धता जनाएका छन् ।
आफू मुख्यमन्त्री भएको बेला सुरु गरेका जनउत्तरदायी कार्यक्रमहरू अहिलेको सरकारले कटौती गरेको भन्दै कार्कीले विभिन्न ९ बुँदे माग राखेर अनशन सुरु गरेका हुन् । विशिष्टीकृत सेवासहित १० वर्षमुनिका बालबालिकाकाको निःशुल्क उपचार कार्यक्रमलाई नियमित गर्नुपर्ने, बजेटमा २५ लाखभन्दा तलका आयोजना नराख्ने नीति लिनुपर्ने, शैलजा आचार्य हृदयरोग उपचार केन्द्र सञ्चालन गर्नुपर्ने, महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता उपलब्ध गराउनुपर्ने, घिउ तथा धुलो दूधको निर्यातमा प्रोत्साहन रकम वितरण कार्यक्रम यथावत् राख्नुपर्ने कार्कीको माग छ ।
यस्तै, सुनसरी–मोरङ केसलिया करिडोरको विकास कार्यक्रममा पर्याप्त बजेट दिनुपर्ने, कृषि र प्राविधिक शिक्षाका विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने, डाक्टर, इन्जिनियरलगायत विभिन्न विधाका विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने र जनावरमैत्री जङ्गल निर्माण गर्नुपर्ने उनको माग छ । माग सम्बोधन नभएसम्म अनशन जारी रहने कार्कीले बताउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई
-
बिहीबारदेखि सभापति कप फुटबल
-
सामाजिक सञ्जालबाट यौन दुर्व्यवहार गर्ने इन्ड्राइभ राइडर पक्राउ
-
बैतडीमा आगलागीबाट सात लाख बढीको क्षति