शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

अभिनेत्री शिल्पाको गुनासो– हलसँग साह्रै चित्त दुखेको छ

बुधबार, २६ भदौ २०८१, ११ : ११
बुधबार, २६ भदौ २०८१

काठमाडौँ । अभिनेत्री शिल्पा मास्केको फिल्मी करिअर एकनास छैन । उनी कहिले फिल्ममा मुख्य भूमिकामा देखिन्छिन् भने कहिले सहायक । मुख्य र सहयोगी गरेर करिब एक दर्जन फिल्ममा अभिनय गरिसकेकी शिल्पाले केही अगाडि प्रदर्शित फिल्म ‘परस्त्री’बाट राम्रै चर्चा बटुलिन् ।

अहिले उनी फिल्म ‘देवी’को कारण चर्चामा छिन् । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मको मुख्य अभिनेत्री र सह–निर्मातासमेत गरी दोहोरो जिम्मेवारीमा छिन् उनी । अभिनयभन्दा फिल्म निर्माण निकै कठिन रहेको उनको अनुभव छ ।

गत वर्ष नाटक ‘ट्रान्जिट’बाट रङ्गमञ्चमा समेत आफूलाई उभ्याएकी शिल्पाले निर्माण गरेको ‘देवी’लाई हलले राम्रो शो भने दिएन । यसमा उनको गुनासो छ । फिल्म राम्रो हुँदाहुँदै पनि हलले उचित शो नदिएको उनले बताइन् ।

अभिनेत्री शिल्पा मास्केसँग फिल्म र निर्माणको विषयमा रातोपाटीका लागि कुवेर गिरीले कुराकानी गरेका छन् । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश-

तपाईंको निर्माण रहेको फिल्म ‘देवी’को प्रदर्शन कस्तो भइरहेको छ ?

फिल्म हेरेकाहरूले राम्रो प्रतिक्रिया दिएका छन् । प्रदर्शनको चौथो दिन सोमबारसम्म फिल्मले दर्शक पनि राम्रो पाएको छ । राम्रो भएरमात्र फिल्म चल्ने होइन रहेछ । फिल्मले हलबाट उचित शो पनि पाउनुपर्छ । हामीले हलबाट उचित शो पाउन सकेनौँ ।

‘देवी’ले किन पाउन सकेन त राम्रो शो ?

यो कुरो मैले पनि बुझ्न सकिनँ । एकै समय रिलिज भएका दुई फिल्मलाई उस्तैउस्तै शो दिनुपर्ने हलको धर्म हो । यसमा भेदभाव भयो । हामीलाई राम्रो समयको शो दिइएको छैन । त्यसैले हलसम्म पुगेर दर्शक फर्किरहेका छन् । हामीलाई अहिलेसम्म एउटा पनि बेलुकाको शो दिइएको छैन । त्यसका लागि पहल भइरहेको छ ।

हामीलाई अधिकांश बिहानी शो दिइएको छ । बिहानी शो हेर्न धेरैजसो दर्शक जाँदैनन् । शो राम्रो नपाएकोमा मेरो गुनासो हो । केही हलले त शो नै हटाइसकेका छन् । यो कुराले चित्त दुखेको छ ।

फिल्मले कस्तो विषयबस्तु उठाएको छ ?

महिला हिंसा, बलात्कारको विषयमाथि बनेको फिल्म हो ‘देवी’ । हामीले फिल्मी मसला पनि प्रयोग गरेका छौँ । फिल्मको कथाबस्तु फिक्सन हो । हामीले यसमा देखाएको बलात्कारको विषय रियल घटना पनि हो । पीडितको नाम गोप्य राखेका छौँ । फिल्मले ३÷४ वटा बलात्कारको विषय उठाएको छ । फिल्मको अन्त्यमा हामीले समाजलाई प्रश्नसमेत गरेका छौँ । समाजमा देखिएका बलात्कारका घटना, कानुन, राजनीति र विकृतिका विषय उठान गरेकैले  पनि फिल्मले शो समय राम्रो नपाएको हो भन्ने लाग्छ ।

किन यो फिल्ममा लगानी गर्न मन लाग्यो ?

फिल्मको कथा र स्क्रिप्ट धेरै मनपरेको थियो । फिल्मको स्क्रिप्ट लिएर धेरैजना निर्माताकहाँ पुगे पनि उनीहरू लगानी गर्न इच्छुक देखिएनन् । कोही तयार नभएपछि म आफैँ निर्माणमा जोडिएकी हुँ । व्यावसायिक उद्देश्यले भन्दा पनि सामाजिक दायित्वका लागि यो फिल्म निर्माण गरेको हो ।

फिल्ममा तपाईंको भूमिका कस्तो छ ?

फिल्ममा म क्राइम रिपोर्टर (पत्रकार)को भूमिकामा छु । मेरो रिपोर्टिङमार्फत बलात्कारका ठुलाठुला (भीआईपी)का घटना सार्वजनिक हुन्छन्, जो फरार रहेका हुन्छन् । फिल्ममा बलात्कारीको पनि अन्जान व्यक्तिबाट हत्या भइरहेको हुन्छ । त्यो ठिक हो कि होइन ? सिस्टमले के भन्छ भन्ने मेरो चरित्रले प्रस्ट्याउँछ । फिल्म क्राइम थ्रिलर जनरामा बनेको हो ।

क्राइम पत्रकारको भूमिका किन मनपर्‍यो ?

कलाकारलाई हरेक नयाँ फिल्ममा फरकफरक भूमिका गर्न मन लाग्छ । हामी अक्सर फिल्ममा रोमान्टिक, कमेडी, ड्रामा गरिरहेका हुन्छौँ । केही फरक पनि गर्नुपर्‍यो भनेर यो भूमिका रोजेकी हुँ ।

क्राइम पत्रकारिता कस्तो लाग्यो ?

यो त एकदमै जोखिम पो रहेछ । फिल्मको भूमिकाका लागि मैले केही रिसर्च पनि गरेको थिएँ । पत्रकारसँग घुलमिल पहिलेदेखि नै हुँदै आएको हो । एउटा महिला भएर बलात्कार जस्तो विषयमा खोजतलास गरेर समाचार लेख्नु जोखिम रहेछ । कतिपय समय इमोसनल पनि भइनेरहेछ । क्राइम रिपोर्टिङ गर्दा आफू धेरै बलियो हुनुपर्ने रहेछ । पीडितहरूसँग नजिक हुनुपर्ने रहेछ । विभिन्न जोखिमको सामना गर्नुपर्ने रहेछ ।

अभिनय अगाडि क्राइम पत्रकारलाई हेर्ने दृष्टिकोण तपाईं आफैँले अभिनय गरेपछि केही फेरियो कि उस्तै रह्यो ?

धेरै फरक भयो नि । पहिलेभन्दा अझै सम्मान गर्छु । हामी सधैँ मिडियाको वरिपरि हुने भए पनि पत्रकारिताको दुःख थाहा थिएन । हामी सधैँ मनोरञ्जन पत्रकारको वरिपरि रहने व्यक्ति हौँ । यसमा पनि दुःख रहेछ । योभन्दा दुःख क्राइम पत्रकारको देखेँ । क्राइम पत्रकारले समाचार बनाउनु भएन भने त्यस्ता घटना कहिल्यै बाहिर नआउने पो रहेछ ।

अबको दिनमा कस्तो भूमिकामा अभिनय गर्न मन छ ?

मलाई जहिले पनि फिल्ममा फरक र जोखिमपूर्ण चरित्र निर्वाह गर्न मन लाग्छ । यो भन्दैमा म अन्य चरित्र नगर्ने भन्ने होइन । आफूलाई चित्त बुझ्दो चरित्र आयो भने जुनसूकै भूमिका पनि गर्छु । त्यसमा नेगेटिभ र पोजेटिभ भनेर हेर्दिनँ ।

फिल्म निर्माणमा रहर पुग्यो कि फेरि गर्ने विचार छ ?

निर्माण कसरी गर्ने, कसरी रिलिज गर्ने, प्रचारप्रसार के गर्ने भनेर यो फिल्मबाट धेरै कुरा सिक्न पाएँ । फिल्म निर्माण थालनीदेखि रिलिजसम्म अनेक तिकडम गर्नुपर्ने रहेछ । यो फिल्मबाट मैले निर्माणका धेरै कुरा सिकेँ, जुन आगामी फिल्ममा काम लाग्छ ।

फिल्म चलिरहेको छैन, के देख्नु भयो कारण ?

एकै समय नेपाली, हिन्दी र अंग्रेजी गरेर धेरै फिल्म लाग्छ । त्यसले मानिसलाई फिल्म रोज्ने विकल्प पनि भयो । नेपाली फिल्मका दर्शकलाई धेरै फिल्मले निराश बनाएको छ । त्यसैले उहाँहरूलाई हलमा फर्काउन कठिन बन्दै गएको छ । पहिलेदेखि नै नेपालमा क्राइम, थ्रिलर र हरर जनराको फिल्ममा दर्शक कम हुँदै आएका छन् ।

केही अगाडि रङ्गमञ्चमा पनि काम सुरु गर्नुभयो । अबका दिनमा के हुन्छ ?

रङ्गमञ्च कलाकारले आफूलाई निखार्ने मञ्च हो । त्यो अवसर म किन छोड्थेँ र ! आगामी दिनमा रङ्गमञ्चमा पनि देखिनेछु । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप