सोमबार, १५ पुस २०८१
ताजा लोकप्रिय

शिक्षक छनोटमा लफडा : उत्तर पुस्तिका च्यात्नेमाथि कारबाही गर्न आनाकानी

बुधबार, २६ भदौ २०८१, १० : ५२
बुधबार, २६ भदौ २०८१

बुटवल । बर्दियाको मधुवन नगरपालिका–२, गंगापटुवामा रहेको सहिद आधारभूत विद्यालयमा परीक्षा चलिरहेको समयमा एक परीक्षार्थीले अन्य परीक्षार्थीको समेत उत्तर पुस्तिका च्यातेको विषयमा कारबाही गर्न सम्बन्धित निकायले आनाकानी गरेको छ ।

विद्यालयको शिक्षण सिकाइ कार्य (निमावि तह)का लागि लिएको परीक्षामा परीक्षार्थी सीता लामिछानेले उत्तर पुस्तिका च्यातेकी थिइन् । तर उनलाई कारबाही गर्न सरोकारवाला निकायले आनाकानी गरेको स्थानीयको आरोप  छ ।

विद्यालयले शिक्षण सिकाइका लागि गत असार २८ गते शिक्षक छनोट सम्बन्धी विज्ञापन गरेको थियो । विद्यालयले शिक्षण सिकाइ अनुदान कोटाका कार्यक्रम अन्तर्गत निमावि तहको शिक्षक माग गरिएकोमा सीता लामिछाने, सती चौधरी र दिनेश चौधरीले दरखास्त दिएका थिए ।

परीक्षामा सहभागी सीताले तहगत पाठ्यक्रमभन्दा बाहिरबाट प्रश्न आएको भन्दै परीक्षामा सहभागी सबैको उत्तर पुस्तिका च्यातेपछि परीक्षा स्थगित भएको हो ।

मधुवन नगरपालिका–२ का अध्यक्ष आशाराम चौधरीले उत्तर पुस्तिका च्यात्नेमाथि कारबाही गर्न नगर शिक्षा समितिलाई पत्राचार गरेको रातोपाटीलाई बताए । उनले भने, ‘परीक्षामा उत्तर पुस्तिका च्यात्नेमाथि कारबाही गर्न विद्यालय व्यवस्थापन समितिले पत्राचार गरेको छ । त्यसपछि के कारबाही भयो भन्ने थाहा भएन ।’

नगरपालिका शिक्षा शाखा प्रमुख नारायण खनालले पाठ्यक्रम अनुसार विषय विज्ञहरूले प्रश्न तयार पारेको भन्दै उत्तर पुस्तिका च्यात्ने परीक्षार्थीबाहेक अन्य परीक्षार्थीहरूका लागि फेरि परीक्षा सञ्चालन गरिने बताए । उनले परीक्षाको मिति भने विद्यालय व्यवस्थापन समितिले तय गर्ने खुलाए ।

उत्तर पुस्तिका च्यात्ने सीता लामिछाने नेपाली कांग्रेसको बर्दिया जिल्ला सचिव जग्गा प्रसाद पाण्डेकी बुहारी हुन् । राजनीतिक पहुँचकै कारण उनीमाथि कारबाही प्रक्रिया अगाडि बढाउन आनाकानी गरिएको स्थानीयको भनाइ छ ।

जिल्ला शिक्षा समन्वय इकाई बर्दियाका प्रमुख सूर्य बहादुर खत्रीले परीक्षाको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको भन्दै आफूहरूलाई बोधार्थ पत्र आएको रातोपाटीलाई बताए । उनले भने, ‘अब अख्तियारले छानबिन गरेर जे निर्देशन दिन्छ, त्यही अनुसार चल्नुपर्छ ।’

परीक्षार्थीले अमर्यादित काम गरेमा २ वर्षसम्म शिक्षाको परीक्षामा सहभागी हुन नपाउने व्यवस्था रहेको खुलाउँदै उनले प्रक्रिया अनुसार कारबाहीको सिफारिस आएमा सोही अनुसार अघि बढ्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप