बागमती अर्थ समितिमा हेटौँडा कपडा उद्योग सञ्चालनको विषयमा बहस
हेटौँडा । बागमती प्रदेशसभा अन्तर्गतको संसदीय समितिको बैठकमा हेटौँडा कपडा उद्योग सञ्चालनको विषयमा बहस चलेको छ । प्रदेशसभा अन्तर्गतको अर्थ तथा विकास समितिको मंगलबार बसेको बैठकमा जीर्ण अवस्थामा रहेको हेटौँडा कपडा उद्योग सञ्चालनको विषयले प्राथमिकता पाएको हो ।
बैठकमा कपडा उद्योगको विषय कार्यसूचीमा थिएन । प्रदेश नीति तथा योजना आयोगले तयार गरेको दोस्रो आवधिक योजना (२०८१–२०८५) को प्रमुख कार्यक्रम र पहिलो आवधिक योजना (२०७५–२०८०) को समीक्षाको विषय बैठकको कार्यसूची रहेको थियो । समितिका सभापति नुरज बज्राचार्यले साही कार्ययोजना अनुसार नीति आयोगका सचिवको समेत भूमिकामा रहेका आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कृष्ण प्रसाद मैनालीलाई प्रस्तुतीकरणको समय दिए ।
सचिव मैनालीको प्रस्तुति सकिएसँगै सांसदहरूलाई सो विषयमा धारणा राख्ने र छलफल गर्ने समय निर्धारण समितिका सभापति बज्राचार्यले गरे । तर बैठकमा छैटौँ नम्बरमा धारणा राख्दै माओवादी केन्द्रकी सांसद अमृता नेपालले धारणा राख्दै हेटौँडा कपडा उद्योगको विषय उठान गरेकी थिइन् । उनले बागमती प्रदेशले आफ्नै उत्पादनको रूपमा कुनै क्षेत्रलाई तोकेर लगानी बढाउनुपर्ने धारणा राख्दै नागरिकलाई आर्थिक उपार्जनमा जोड्न र आर्थिक समृद्धिमा अघि बढ्नुपर्ने बताइन् । बागमती प्रदेशको खास उत्पादनको विकासमा अग्रसर भएर लगानी गर्ने वातावरणमा छलफल अघि बढाउनु पर्ने उनको भनाइ थियो ।
सोही क्रममा उनले युवा पलायन रोक्न र स्वरोजगार बनाउने योजनाको रूपमा उद्योग कलकारखाना सञ्चालनतर्फ जोड दिनुपर्ने बताइन् । कृषि क्षेत्रका विभिन्न समस्याका कारण कृषकहरू नै पेसाबाट पलायन भइरहेको उनको भनाइ थियो । रोजगारीको अवसर सृजना गर्ने विषयमा उद्योग सञ्चालनको विषय महत्त्वपूर्ण हुने उनले बताइन् । सरकारले हेटौँडामा रहेको कपडा उद्योगको अवस्था पनि अन्योलमा रहेको सांसद नेपालले बताइन् ।
‘कहिले बाँदर त कहिले मल, बिउ नपाउने कारणले कृषि कर्म पनि गर्न छाडिसकियो । रोजगारीको अवसर सृजना गर्न सकिएको छैन । युवा पलाइन रोक्न सेको छैन । भएको हेटौँडा कपडा उद्योग पनि कता पुगे कता,’ उनले भनिन्, ‘रोजगारीको अवसर सृजना गर्ने हो भने युवा लक्षित कार्यक्रम बनाउनुपर्छ । उद्योग कलकारखानाको विकास गर्ने, प्रदेशको स्रोत साधनमा युवालाई देशमा नै राख्ने वातावरण निर्माणका विषय नीति योजनामा ल्याउनुपर्छ ।’
सांसदहरूको प्रश्नका विषयमा सचिव मैनालीले जवाफ दिने क्रममा पुनः हेटौँडा कपडा उद्योगको प्रसङ्ग निकाले । उनले हेटौँडा कपडा उद्योग सञ्चालन गर्नसक्ने अवस्था नरहेको टिप्पणी गरे । प्रविधिको विकाससँगै कपडा उद्योग सञ्चालनको नयाँ टेक्नोलोजी सस्तो पर्न जाने भएकाले हेटौँडा कपडा उद्योगको प्रविधि पुनः सञ्चलनको सम्भावना नरहेको उनले बताए । अहिलेको परिप्रेक्ष्यमा सरकारले कारखाना उद्योग चलाउन नहुने सचिव मैनालीको भनाइ थियो ।
‘उद्योग निकै पुरानो भइसक्यो । त्यति बेलाको मिल, मेसिन र साधनहरू अहिले जीर्ण अवस्थामा छन् । २० औँ वर्ष नचलेको उद्योग र संयन्त्र फेरि चलाउँछु भनेर हुँदैन । व्यक्तिगत रूपमा मेरो धारणा भनेको कपडा उद्योगमा भएको मेसिन मर्मत गरेर चलाउन सम्भव नै छैन । नयाँ प्रविधि कहाँ आइसक्यो । मर्मत गर्नुको सट्टा नयाँ मेसिन ल्याएर चलाउनु सस्तो पर्न जाने देखिन्छ । त्यसलाई चलाउन हामी लाग्नु हुँदैन । प्रदेश सरकारले ५० करोड रुपैयाँ लगानी गरेर दुग्ध पाउडर प्लान्ट बनायो । पूर्वाधार बनाउन कुनै समस्या छैन । तर, चल्न सकेको छैन,’ उनले भने ।
त्यसलगत्तै समितिका सभापति बज्राचार्यसँग समय माग गरे धारणा राख्दै कांग्रेस सांसद रामकृष्ण चित्रकारले कपडा उद्योग सञ्चालन गर्नुपर्ने धारणा राखे । उनले आफू सचिव मैनालीको भनाइमा सहमत नभएको भन्दै हेटौँडा कपडा उद्योग सञ्चालन हुन सक्ने अवस्थामा रहेको बताए । उनले बाबुराम भट्टराई अर्थ मन्त्री रहेका बखत उद्योग पुनः सञ्चालन भई परीक्षण उत्पादन समेत सफल गरेको बताए ।
करिब ८ करोड रुपैयाँ खर्च गरेर सो उद्योग पुनः सञ्चालन गरिएको उनको भनाइ थियो । सोही अवस्थाका कारण संघ सरकारले समन्वय गरेर उद्योग सञ्चालनको वातावरण तयार गर्नुपर्ने उनको भनाई छ । उद्योग अहिले पनि सञ्चालन हुने अवस्थामा रहेको र त्यसलाई सञ्चालनको लागि प्रदेश सरकारले ठोस योजना निर्माण गर्नुपर्ने बताए ।
उद्योग सञ्चालन पश्चात् आर्थिक रूपमा समृद्धिमा महत्त्वपूर्ण उपलब्धि हासिल हुने उनले बताए । रोजगारीको अवसर सृजनामा पनि महत्त्वपूर्ण उपलब्धि प्राप्त गर्न उद्योग सञ्चालन गर्नुपर्नेमा उनको जोड थियो । सांसद चित्रकार तत्कालीन समेत प्रदेशको उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रीको जिम्मेवारीमा रहँदा २ पटक हेटौँडा कपडा उद्योगको अनुगमन तथा सञ्चालनको लागि संघीय सरकारसँग पहल समेत गरेका थिए ।
सांसद चित्रकारले धारणा राखे लगत्तै माओवादी केन्द्रका सांसद देवेन्द्र श्रेष्ठले बन्द कपडा उद्योग सञ्चालनमा लाग्नु उचित नहुने बताए । उनले कपडा उद्योगको प्रविधि सञ्चालनको अवस्थामा नरहेको र सञ्चालन भएको खण्डमा उत्पादन लागत महँगो पर्ने बताए ।
अहिले कपडा उद्योगको तानको मेसिन प्रति सेकेन्डका दरले सञ्चालन हुने र हेटौँडा कपडा उद्योगको मेसिन प्रतिमिनेटमा चल्ने उनको भनाई छ । कपडा उद्योगबाट उत्पादित कपडाको गज समेत सानो हुने र अहिलेको प्रविधिले ठुला गजका कपडाहरू उत्पादन गर्ने सांसद श्रेष्ठले बताए । उद्योगले उत्पादन गरेको कपडाले समेत बजारमा प्रतिस्पर्धा गर्न नसक्ने उनको भनाई छ । प्रदेश सरकारले प्रतिस्पर्धा नभएका क्षेत्रमा लगानी गरेर उत्पादन र बजारीकणमा अघि बढ्नुपर्ने उनले बताए ।
एमाले सांसद मधुसूदन पौडेलले सरकारी संरचनालाई बेवारिसे राख्न नहुने र लगानीको प्रतिफल आउने गरी कपडा उद्योग सञ्चालन गर्नुपर्ने बताए । उनले हाल हेटौँडा कपडा उद्योग सञ्चालनको रहेको भए प्रविधि पुरानो भयो भनेर बन्द गरिन्थ्यो वा प्रविधि परिवर्तनमा अग्रसर भइन्थ्यो भन्दै प्रश्न पनि गरे ।
सरकारी उद्योगको मर्मत तथा प्रविधि परिवर्तन गरेर सञ्चालन गर्नुपर्ने र नागरिकहरूलाई रोजगारी तथा आर्थिक उपार्जनमा जोड्नुपर्ने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेमा बाढी पहिरोले करिब १३ हजार रुख क्षति
-
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको घर अगाडि शंकास्पद वस्तु, सेनाको डिस्पोजल टोली घटनास्थलमा
-
विधानसभा निर्वाचन : महाराष्ट्रमा भाजपाले खाता खोल्यो
-
नवलपरासी जिल्ला प्रहरी कार्यालयभित्र पुस्तकालय
-
प्रधानमन्त्री ओलीका बुबा अस्पताल भर्ना
-
यी हुन् सबैभन्दा बढी आयात भएका १० वस्तु