बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
चाडपर्व

चाडपर्वलाई ४९ हजार मेट्रिक टन चिनी आयात गरिँदै

मङ्गलबार, २५ भदौ २०८१, २० : ३०
मङ्गलबार, २५ भदौ २०८१

काठमाडौँ । सरकारले अघिल्ला वर्षहरूमा जस्तै यो वर्ष पनि चाडपर्वलक्षित चिनी आयातका लागि सहुलियत दिएको छ । चिनी आयातमा ३० प्रतिशत भन्सार शुल्क लाग्दै आएको छ ।

यो वर्ष चिनीमा साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई भन्सार शुल्कमा ५० प्रतिशत छुट दिइने सोमबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । यी दुवै कम्पनीलाई भारत सरकारले दिइने चालु वर्षको कोटा बमोजिम १५ /१५ हजार मेट्रिक टन चिनी आयात गर्ने अनुमति दिइने निर्णय भएको छ ।

गत वर्ष भारतले दिइएको कोटा बमोजिमको २५ हजार मेट्रिक टन चिनी आयात गर्न सरकारले साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई १०/१० हजार मेट्रिक टनका दरले चिनी आयात गर्ने अनुमति दिएको थियो । यसका साथै गत वर्ष पनि आयातमा सहज बनाउन सरकारले ५० प्रतिशत भन्सार छुट गरेको थियो । 

तर चिनीको मूल्य महँगो भएको भन्दै गत वर्ष यी दुवै कम्पनीले चिनी आयात गरेनन् । जसले गर्दा गत वर्षको दसैँ तथा तिहारमा चिनीको अभाव चुलियो । त्यसपछि निजी कम्पनी डाबर नेपालले ६ हजार मेट्रिक टन चिनी आयात गरेको थियो । 

गत वर्षकै कोटाको १९ हजार मेट्रिक टन चिनी ल्याउन बाँकी छ । सोही कोटाको बाँकी परिमाण चिनी आयात गर्नका लागि सरकारले यस वर्ष ७ वटा निजी कम्पनीलाई अनुमति दिएको छ ।

जसमध्ये सबैभन्दा धेरै सूर्यविनायकको मयुरी ट्रेड लिङ्कलाई २ हजार ८ सय मेट्रिक टन आयात गर्ने अनुमति दिइएको छ । बाँकी ६ कम्पनी विराटनगरको प्रमाण टेडर्स, विराटनगरकै शिवाय इन्टरनेसनल, कालीमाटीको विशाल ट्रेड लिङ्क, विराटनगरको प्रमाण इन्टरनेसनल, बालाजुको सिजन इन्टरप्राइजेज र मित्रपार्कको शिव शंकर ट्रेड कन्सर्नले २ हजार ७ सात सय मेट्रिक टनका दरले चिनी ल्याउने अनुमति पाएका छन् ।

SUGAR (1)

 

यी सात वटै कम्पनी चिनी आयातका लागि प्रक्रियामा गइसकेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । उक्त कम्पनीले चिनी ल्याउनका लागि नेपालबाट गरिनुपर्ने सबै प्रक्रिया पुरा गरिसकेको वाणिज्य विभागका निर्देशक शेखर बाबु कार्कीले बताए । 

कोटाको चिनी ल्याउने अनुमति पाएका ७ कम्पनीले भारतीय बजारबाट प्रतिकिलो ४१  देखि ४२ भारतीय रुपैयाँमा चिनी आयात गर्ने प्रक्रिया अगाडि बढाएका छन् । नेपाली ६७.२ रुपैयाँ पर्ने उक्त मूल्यमा भन्सारमा ३० प्रतिशत महसुल लाग्ने छ । 

तर साल्ट ट्रेडिङ र खाद्य कम्पनीले ल्याउने चिनीमा १५ प्रतिशत मात्रै भन्सार महसुल लाग्ने छ । यसमा थप ढुवानी खर्च र उचित नाफा राखेर चिनीको मूल्य निर्धारण गरी बिक्री गरिन्छ । 

यसअनुसार बजारमा १०७ रुपैयाँ ५० पैसा पर्न आउने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्य बताउँछन् । 

‘भारतीय बजारमा गत वर्षभन्दा मूल्य बढेको छ । ५० प्रतिशत भन्सार छुटमा ल्याउँदा पनि ढुवानी खर्च जोडेर १०७ रुपैयाँ ५० पैसा पर्न जान्छ । यही मूल्यमै बिक्री गर्ने तयारी छ,’ आचार्यले भने ।

खुला बजारमा अहिले प्रतिकिलो चिनीको मूल्य १२० रुपैयाँ रहेको छ । 

sugar 2

  • ‘चिनी अभाव हुँदैन’ 

यो वर्ष सरकारले निजी र सरकारी कम्पनी गरेर ४४ हजार मेट्रिक टन चिनी आयात गर्ने तयारी गरेको छ । उक्त चिनी चाडपर्व अगाडि ल्याइसक्ने तयारी भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । वाणिज्य सचिव मधुसूदन बुर्लाकोटीले चिनी आयातका लागि सरकारी र निजी दुवै कम्पनीहरूलाई अनुमति दिइएकाले चाडपर्वमा चिनी अभाव हुने समस्या नआउने बताए । दुवै कम्पनीले  दसैँ अगाडि नै चिनी आयात गरिसक्ने सचिव बुर्लाकोटीको भनाइ छ ।

‘दसैँ तिहार लगायतका कुनै पनि चाडपर्वमा चिनी अभाव हुँदैन,’ सचिव बुर्लाकोटीले भने, ‘अभाव हुन नदिन बजार अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन पनि दिइसकेका छौँ ।’ 

उनले ४२ जिल्लाका विभिन्न स्थानमा सहुलियत पसल राखेर खाद्यान्न तथा चिनी बिक्री गरिने तयारी थालिसकेको बताए । आगामी असोज ७ गतेदेखि सहुलियत पसल सञ्चालन हुने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना घिमिरे
कल्पना घिमिरे
लेखकबाट थप